एक्स की सीईओ लिन्डा याकारिनोले दिइन् राजीनामा
प्रकाशित मिति : असार २५, २०८२ बुधबार
एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल कम्पनी एक्स (पहिले ट्विटर) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा याकारिनोले आफ्नो पदबाट राजीनामा दिएकी छिन्।
उनको राजीनामा मस्कको एआई कम्पनीको च्याटबोट ‘ग्रोक’ ले यहूदी विरोधी अभिव्यक्ति प्रवाह गरेपछि आएको हो, यद्यपि यी दुई घटनाबीच प्रत्यक्ष सम्बन्ध भने स्पष्ट छैन।
मस्कले एक्स कम्पनीलाई आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआई मा विलय गरेपछि याकारिनो पदबाट बाहिरिएकी हुन्। यो विलयसँगै याकारिनोको भूमिकाबारे प्रश्न उठ्न थालेका थिए।
एक्समा पोस्ट गर्दै याकारिनोले एलन मस्कप्रति आभार व्यक्त गरेकी छिन्। उनले लेखेकी छिन्, “म एलन मस्कप्रति अत्यन्त आभारी छु, जसले मलाई अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने, कम्पनीलाई पुनर्स्थापना गर्ने र एक्सलाई ‘एभ्रीथिङ एप’ बनाउने जिम्मेवारी सुम्पिए।”
उनले थप लेखिन्, “अब, जब एक्स नयाँ अध्यायमा प्रवेश गर्दैछ, म टाढाबाट तपाईंहरूलाई हौस्याउनेछु, विश्व परिवर्तन गर्न तपाईंहरूलाई शुभकामना।” मस्कले उनको पोस्टमा छोटो जवाफ फर्काउँदै, “योगदानका लागि तिमीलाई धन्यवाद” भनेका छन्।
एनबीसी युनिभर्सलकी पूर्व मार्केटिङ कार्यकारी याकारिनो सन् २०२३ को जुनमा मस्कबाट पदभार लिएर सीईओ बनेकी थिइन्। उनलाई विज्ञापनदाताहरूबीच मस्कका विवादास्पद अभिव्यक्ति र नीतिका कारण बिग्रिएको सम्बन्ध सुधार्नका लागि ल्याइएको थियो।
तर उनको कार्यकाल लगातार आलोचना र विवादले भरिएको रह्यो। एक्समा यहूदी विरोधी, घृणात्मक, र झुटा सामग्री फैलिएको आरोप लाग्यो, जसले गर्दा केही विज्ञापनदाताले आफ्ना विज्ञापन हटाएका थिए। याकारिनोको ग्रोक वा अन्य एआई परियोजनाहरूमा कति नियन्त्रण थियो भन्ने स्पष्ट छैन।
उनको कार्यकालभर मस्कको प्रभाव र हस्तक्षेप धेरै देखिएको थियो, जसले याकारिनोको शक्ति सीमित बनाएको आशंका गरिएको छ। मस्क आफूलाई प्राविधिक प्रमुख बताउँछन् तर उनका विवादास्पद अभिव्यक्ति र नीति परिवर्तनले याकारिनोलाई पछाडि पार्ने गरेको देखिन्थ्यो।
टेस्लाका उच्च तहका केही अधिकारीहरूको हालसालैको राजीनामा र मस्कको राजनीतिक गतिविधिमा संलग्नताले उनका सबै कम्पनीहरूको नेतृत्व क्षमता र प्रतिबद्धतासम्बन्धी प्रश्नहरू उठिरहेका छन्।






