प्यालेष्टाइनको समर्थन र इजरायली सेनाविरुद्ध नारापछि ब्रिटिश गायकको अमेरिकाको भिसा रद्द
प्रकाशित मिति : असार १७, २०८२ मंगलबार
फोटो: इथान विल्किन्सन
गाजाका बासिन्दाहरूको समर्थन र इजरायली सेनाको मृत्युको कामना गर्ने भीडको नेतृत्व गरेको भन्दै अमेरिकी विदेश मन्त्रालयले चर्चित ब्रिटिश गायक जोडीको भिसा रद्द गरेको छ । जुन २८ मा ग्लास्टनबरी महोत्सवमा इजयारली सेना मूर्दाबादको नारा लगाएपछि ट्रम्प प्रशासनले बब भिलानको अमेरिकी भिसा रद्द गरेको हो ।
यो जोडी पहिले नै ब्रिटिश प्रधानमन्त्री केयर स्टारमर, ग्लास्टनबरी आयोजक र बीबीसीबाट आलोचित भएको थियो । बीबीसीले इजरायली सेनाविरुद्ध लक्षित गीतको प्रत्यक्ष प्रसारण गरेकोमा माफी मागेको छ। ब्रिटिश प्रहरीले उनीहरूको टिप्पणी आपराधिक कार्य भए नभएको अनुसन्धान गरिरहेको छ ।
ग्लास्टनबरीमा मृत्युको नारामा भीडको नेतृत्व गर्ने लगायतका उनीहरूको घृणित गतिविधिको कारणले गर्दा बब भिलान र उनको उही नामको समूहको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयका उपसचिव क्रिस्टोफर ल्यान्डाउले एक विज्ञप्तिमा बताएका छन् । सामाजिक सञ्जालमा शेयर गरिएका भिडियोहरू अनुसार र्यापरले शनिबार ग्लास्टनबरी महोत्सवको भीडमा स्वतन्त्र प्यालेस्टाइन र इजरायली सेनाको मृत्युको नारा लगाउँदै नेतृत्व गरेका थिए।
अमेरिकी विदेश विभागले उनीहरूलाई घृणा फैलाएको आरोप लगाउँदै उनीहरुको गतिविधिको निन्दा समेत गरेको छ । बब भिलान लामो समयदेखि प्यालेस्टाइनका समर्थक रहेका छन् । े उनले विशेष गरी गाजा र वेस्ट बैंकमा इजरायली सेनाको निरन्तर आक्रमणको सन्दर्भमा प्यालेस्टाइनको समर्थन गर्दै आएका छन् ।
स्टेजमा बब भिलानले भीडसमक्ष कहिलेकाहीं आफ्नो सन्देश हिंसाको साथ पुर्याउनुपर्ने बताएका थिए । उनले केही मानिसहरूले बोल्ने भाषा हिंसा भएकाले आफूहरुले पनि आफ्नो सन्देश हिंसाको साथ दिनुपर्ने बताएका थिए ।
बब भिलन अक्टोबर र नोभेम्बरमा अमेरिकाको भ्रमण गर्ने तय भएको थियो । अब उनको भिसा रद्द गरिएकाले ती मितिमा कार्यक्रम हुने निश्चित छैन । हिंसा र घृणाको महिमा गर्ने विदेशीहरूलाई अमेरिकामा स्वागतयोग्य आगन्तुकहरू नमानिने अमेरिकी विदेश मन्त्रालयको भनाई छ । बब भिलानलाई युनाइटेड ट्यालेन्ट एजेन्सीले पनि हटाएको छ।






