इँटाभट्टामा हुर्किएकी गोमाले ल्याइन् ४ जीपीए, डाक्टर बन्ने चाहना


प्रकाशित मिति : असार १६, २०८२ सोमबार

लक्ष्मी गारु / रासस

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेलाबाट भर्खर फर्किएकी थिइन्।

चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिएकी उनलाई नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो। उनले हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थालिन्।

नतिजा आउँदा उनको खुसीको सीमा रहेन। उनी सर्वोत्कृष्ट अङ्क ४ जीपीएसहित उत्तीर्ण भइन्। सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जीपीए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन्। चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीसमेत उनी बनिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोमाको थातथलो रामेछापको खनियाँपानी हो। उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियाँपानीबाट भक्तपुर आएकी हुन्। परिवारको आर्थिक कमजोर अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियाँपानी छाडेर भक्तपुरको सुडाल आएको गोमाका बुबा मीनबहादुर श्रेष्ठले बताए।

“त्यो बेला गोमा चार वर्षकी थिइन्,” मीनबहादुरले भने, “रामेछापको खनियाँपानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइकै लागि हो।” भक्तपुर आएर इँटाभट्टामा काम सुरु गरेका मीनबहादुरले गोमालाई नजिकैको महेन्द्रग्राम माध्यमिक विद्यालयमा भर्ना गरिदिए।

“खनियाँपानीको लेकबाट बेँसीसम्मको विद्यालय पुग्न एक घण्टा ओरालो लाग्नुपथ्र्यो। यसैले ज्याला मजदुरी गरेर, इँटा पारेर, भारी बोकेर भए पनि पढाउँला भनी भक्तपुर सरेका हौँ। भक्तपुरमा कामको सिलसिलामा इँटाभट्टामा काम गरेँ, इँटा पारेँ, छोरीलाई इँटा भट्टासँगैको विद्यालयमा भर्ना गरिदिएँ।” दिउँसो विद्यालय जाने गोमा साँझ-बिहान भने इँटाभट्टाको खलामा खेल्दै हुर्कन थालिन्। उमेरसँगै गोमाले बुबाआमाको काममा सघाउन थालिन्।

दिउँसो विद्यालय जाने, साँझ-बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उनको दैनिकी बन्दै गयो। त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग रुटिनमा दैनिकी बिताइन्। कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गरिन्।

“बुबाआमाले पनि अबको एक वर्ष पढाइमा ध्यान दिन र विद्यालयले पनि पढाइमा जोड दिन गोमालाई सुझाव आयो। त्यसैले मैले आफ्नो दैनिकीलाई केही परिमार्जन गरेर पढाइमा ध्यान दिन थालेँ। यसैको परिणाम आज मैले एसईईमा राम्रो नतिजा पाएँ,” उनले भनिन्।

गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको बताइन्। तर त्यसका लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उनको भनाइ छ।

“विज्ञान सङ्कायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एमबीबीएस पढ्ने लक्ष्य छ। एक असल डाक्टर बनेर मेरो जन्मदाता, देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्नु नै मेरो मुख्य लक्ष्य हो। यसका लागि कडा मेहनत चाहिन्छ भन्ने ज्ञान छ। सोही अनुसार तयारी गर्छु,” उनले भनिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com