नर्वेमा शाही दरबार विवादमा, युवराज्ञीका छोरामाथि बलात्कारको आरोप


प्रकाशित मिति : १४ असार २०८२, शनिबार

नर्वेमा युवराज्ञीका छोरामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ।

ओस्लो प्रहरी कार्यालयले नर्वेकी युवराज्ञीका जेठा छोरा मारियस बर्ग होइबीमाथि बलात्कार, यौन दुर्व्यवहार र शारीरिक आक्रमणसम्बन्धी गम्भीर अभियोगहरू सार्वजनिक गरेको हो।

महिनाँै लामो अनुसन्धानपछि प्रहरीले १० भन्दा बढी पीडितहरू रहेको पुष्टि गरेको छ। मारियस होइबी युवराज्ञी मेट्टे मारिटका छोरा र युवराज हआकनका सौतेलो छोरा हुन्।

उनी २०२४ मा बलात्कारको आरोपमा पटक–पटक पक्राउ परेपछि प्रहरी निगरानीमा थिए। शारीरिक हानि र सम्पत्ति क्षतिको मुद्दा समेत उनीमाथि थियो।

ओस्लो प्रहरीका वकिल आन्द्रेयास क्रुसेव्स्कीका अनुसार होइबीले प्रहरी अनुसन्धानमा सहकार्य गरेका छन्। अनुसन्धानमा प्रयोग भएका प्रमाणहरूमा सन्देशहरू, साक्षीहरूको बयान र प्रहरीले संकलन गरेको अन्य प्रमाणहरू समावेश छन्।

क्रुसेव्स्कीका अनुसार अभियोगहरूमा बलात्कार, यौन दुर्व्यवहार र शारीरिक आक्रमणका मुद्दाहरू रहेका छन्।

होइबीका कानुनी प्रतिनिधि पेतार सेकुलिकले यी आरोपहरूलाई निकै गम्भीरतापूर्वक लिएको बताएका छन्।

तर, विशेष गरी यौन दुर्व्यवहार र हिंसाका अधिकांश मुद्दाहरूमा आफूले कुनै गल्ती नगरेको उनले बताइरहेका छन्।

नर्वेको शाही दरबारले मुद्दा कानुनी प्रक्रियाअनुसार अगाडि बढिरहेकाले यसबारेमा कुनै प्रतिक्रिया नदिने बताएको छ। नर्वेमा शाही परिवार अत्यन्तै लोकप्रिय छ।

२८ वर्षीय होइबी पहिले युवराज दम्पती र उनीहरूका दुई सन्तान राजकुमारी इन्ग्रिड एलेक्सान्ड्रा र राजकुमार स्वेरे म्याग्नससँगै बस्ने गर्थे।

तर, अहिले भने छुट्टै घरमा बस्ने गरेका छन्। हाल होइबी स्वतन्त्र अवस्थामा छन्। उनलाई पक्राउ गरिएको छैन।

होइबीले कोकिनको लत रहेको स्वीकार गरेका छन्। युवराज्ञी मेट्टे मारिट सन् २००१ मा युवराज हआकनसँग विवाह गरेर चर्चामा आएकी थिइन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com