क्यानडासँगको व्यापार वार्ता समाप्त भएको राष्ट्रपति ट्रम्पको घोषणा


प्रकाशित मिति : १४ असार २०८२, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता तत्काल अन्त्य गर्ने घोषणा गरेका छन्।

क्यानडाले ठूलो प्रविधि कम्पनीहरूलाई लक्षित गर्दै लागू गर्न लागेको कर नीतिको प्रतिक्रियास्वरूप ट्रम्पले यो कदम चालेका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत यो घोषणा गरेका हुन् । दुबै देशहरूले जुलाईको मध्यसम्म व्यापार सम्झौता गर्न वार्ता गरिरहेका थिए।

यसअघि वर्षको सुरुमा ट्रम्पले व्यापार युद्ध सुरु गरेपछि दुबै मुलुकले एकअर्काको सामानमा शुल्क लगाएका थिए । ट्रम्पले ‘आर्थिक शक्ति’ प्रयोग गरेर क्यानडालाई ५१ औ राज्य बनाउन धम्कीसमेत दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गरेको घोषणा गरेका उनले अर्को साताभित्र सीमा पार गर्ने सामानहरूमा नयाँ ट्यारिफको घोषणा गर्ने चेतावनी दिएका छन ।

क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले जटिल वार्तालाई नागरिकहरूको हितमा अगाडि बढाउने बताएका छन । क्यानडाको ३ प्रतिशत डिजिटल सेवा करले अमेरिकासँगको सम्बन्धमा विवाद ल्याएको हो ।

यो कर गत वर्ष लागू गरिएको थियो । अमेरिकी प्रविधि कम्पनीहरू (जस्तै अमेजन, एप्पल र गुगल) ले यसबाट वार्षिक २ बिलियन डलरभन्दा बढी गुमाउने अनुमान गरिएको छ।

क्यानडाली अधिकारीहरूले यस विषयलाई अमेरिका सँगको व्यापार वार्ताको एक भागको रूपमा हल हुने अपेक्षा गरेका थिए।

राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री कर्नीबीचको पछिल्लो सम्बन्धले वार्तामा सकारात्मक संकेत दिएको थियो। तर ट्रम्पको यो नयाँ घोषणाले सम्झौतामा प्रश्न उठाएको छ।

विश्लेषकहरूले भने ट्रम्पले वार्तालाई दबावमा राख्न सामाजिक सञ्जालमार्फत धम्की दिने रणनीति पहिले पनि प्रयोग गर्दै आएका छन्।

अमेरिका क्यानडाको सबैभन्दा ठूलो व्यापार साझेदार हो । अमेरिकाले गत वर्ष ४०० बिलियन डलरभन्दा बढी मूल्यका क्यानडाली सामान किनेको थियो ।

तर यसै वर्ष ट्रम्पले सीमा पार लागुऔषधको बहानामा २५ प्रतिशत ट्यारिफ लगाएका थिए। यसले अटो पार्ट्सदेखि स्टील र एल्युमिनियमसम्मको आपूर्ति श्रृंखलामा असर गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com