अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गर्ने पाकिस्तानको निर्णय
प्रकाशित मिति : असार ७, २०८२ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गर्ने निर्णय लिएको जनाएको छ। पाकिस्तानले यो सिफारिस भारत र पाकिस्तानबीच भएको हालैको चारदिने सशस्त्र झडपलाई रोक्न ट्रम्पले खेलेको कूटनीतिक भूमिकालाई आधार मानेर गरेको हो।
पाकिस्तानी विदेश मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले इस्लामाबाद र नयाँ दिल्ली दुबैसँग सक्रिय कूटनीतिक संवाद गर्दै गम्भीर रूपमा चर्किएको परिस्थितिलाई नियन्त्रण गर्न सफल भूमिका निर्वाह गर्नुभयो। यो हस्तक्षेप उहाँको साँचो शान्तिकर्ता भएको प्रमाण हो।”
मे महिनामा भारत र पाकिस्तानबीच सीमामा चार दिनसम्म तीव्र युद्ध चलेको थियो । उक्त तनाव आणविक युद्धसम्म पुग्न सक्ने जोखिमपूर्ण स्थितिमा रहेको बेला अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविराम घोषणा गरेका थिए।
उनले पछि सार्वजनिक रूपमा भनेका थिए, “मैले आणविक युद्ध रोकेको छु, लाखौं मानिसको ज्यान बचाएको छु, तर मलाई कुनै श्रेय दिइएको छैन।”
यता पाकिस्तानले ट्रम्पको हस्तक्षेपलाई निर्णायक मानेको छ भने भारतले भने यो युद्धविराम दुई देशका सेनाबीचको आपसी सहमति अनुसार भएको दाबी गर्दै आएको छ। भारतको परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, “यो दुईपक्षीय विषय हो, कुनै बाह्य पक्षको मध्यस्थता स्वीकार्य छैन।”
पाकिस्तानी विश्लेषकहरूका अनुसार नोबेल शान्ति पुरस्कारको सिफारिस ट्रम्पलाई इरानमाथि संभावित आक्रमणको विचारबाट विमुख गराउने कूटनीतिक प्रयास पनि हो। पाकिस्तानले इजरायलद्वारा हालै इरानमाथि गरिएको हवाई आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र क्षेत्रीय शान्तिका लागि खतरा भन्दै कडा आलोचना गरेको छ।
पाकिस्तानी संसदको रक्षा समितिका पूर्वअध्यक्ष मुशाहिद हुसेनले भने, “ट्रम्प पाकिस्तानका लागि राम्रो छन्। यदि यसले उहाँको अहंकार सन्तुष्ट हुन्छ भने हुने देऊ। युरोपेली नेताहरू पनि उहाँलाई प्रसन्न पार्न यस्तै गरेका छन्।”
तर, पाकिस्तानभित्रै ट्रम्पको नोबेल सिफारिसलाई लिएर मत विभाजित देखिएको छ। गाजामा इजरायलले चलाएको युद्ध र इरानमाथिको आक्रमणमा ट्रम्पको समर्थनलाई लिएर धेरैले आक्रोश व्यक्त गरेका छन्।
प्रख्यात पाकिस्तानी पत्रकार तलत हुसेनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखे, “गाजामा इजरायलको ‘शुगर ड्याडी’ र इरानमाथिको आक्रमणको चियरलिडर नोबेल पुरस्कारको योग्य होइन। के भयो भने, केही महिनापछि फेरि उहाँ मोदीको गालामा चुम्बन गर्न थाल्नु भयो भने ?”
ट्रम्पले कश्मीर विवादमा पनि आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन्। यद्यपि भारतले सधैं यो विषयमा कुनै पनि बाह्य मध्यस्थता अस्वीकार गर्दै आएको छ। हालै भएको फोन संवादमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट रूपमा भनेका थिए, “भारतले पाकिस्तानसँगको विवादमा कुनै मध्यस्थता स्वीकार गर्दैन र कहिल्यै गर्नेछैन।”
यो सबै घटनाक्रम त्यही हप्ता भएको हो, जुन हप्ता पाकिस्तानका सेनापति फील्ड मार्शल असीम मुनिर वाशिंगटन पुगेका थिए र ट्रम्पसँग लन्च मिटिङ गरेका थिए। उल्लेखनीय कुरा के छ भने, पाकिस्तानमा नागरिक सरकार रहेको बेला पहिलो पटक कुनै सेनापति ह्वाइट हाउसमा आमन्त्रित भएका थिए।
ट्रम्पको मध्यस्थता प्रस्तावले अमेरिकी विदेश नीतिलाई समेत चुनौती दिएको विश्लेषण गरिएको छ। अमेरिकी नीतिले लामो समयदेखि भारतलाई चीनको सन्तुलनको रूपमा समर्थन गर्दै आएको थियो। अब ट्रम्पको पाकिस्तानतर्फ झुकावले भारत-अमेरिका सम्बन्धमा असर पार्न सक्ने देखिन्छ।
राष्ट्रपति ट्रम्पले गत शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो पहिलो कार्यकालमा इजरायल–अरब अब्राहम सम्झौता, उत्तर कोरियासँग वार्ता, भारत–पाकिस्तानबीचको शान्ति प्रयासलगायत धेरै विवाद समाधान गरेको दाबी गर्दै भनेका थिए, “म जे गरे पनि मलाई नोबेल शान्ति पुरस्कार दिइने छैन।”
अब पाकिस्तानको यो सिफारिस नोबेल समितिमा औपचारिक रूपमा पेश हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट छैन। तर, यसले दक्षिण एशियाली कूटनीतिमा नयाँ बहस भने सुरु गराएको छ।








