अमेरिकाका भीए अस्पतालहरूमा विवादास्पद नियम लागू: डेमोक्र्याट समर्थक र अविवाहित पूर्वसैनिकको उपचार अस्वीकार गर्न सक्ने


प्रकाशित मिति : २ असार २०८२, सोमबार

अमेरिकाभरिका डिपार्टमेन्ट अफ भेट्रान्स अफेयर्स (भीए) अन्तर्गतका अस्पतालहरूमा चिकित्सकहरूले अविवाहित र डेमोक्र्याट समर्थक पूर्वसैनिकहरूको उपचार गर्न अस्वीकार गर्न पाउने भएका छन्। डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि यी नयाँ तथा विवादास्पद नियमहरू भीए अस्पतालहरूमा लागू गरिएका हुन्।

प्राप्त दस्तावेजअनुसार, यी नियमहरू मनोवैज्ञानिक, दन्तचिकित्सक, नर्स, सामाजिक कार्यकर्ता लगायत अन्य चिकित्सकीय पेसामा कार्यरत कर्मचारीहरूमा पनि लागू हुनेछन्। यी नियमहरू केही भीए अस्पतालहरूमा पहिले नै लागू भइसकेका छन्।

नयाँ निर्देशिका अनुसार, चिकित्सकहरूले अझै पनि जाति, धर्म, रङ्ग वा लिङ्गका आधारमा पूर्वसैनिकलाई उपचारबाट इन्कार गर्न पाउँदैनन्। तर राजनीतिक विचार, वैवाहिक स्थिति, युनियन गतिविधि, वा यौनिक झुकाव जस्ता सङ्घीय कानुनले स्पष्ट रूपमा प्रतिबन्धित नगरेका आधारमा भने उपचार इन्कार गर्न छुट दिइएको छ।

अघिल्ला नियमहरूमा “राजनीति, वैवाहिक स्थिति, राष्ट्रिय उत्पत्ति” जस्ता आधारहरूमा पनि भेदभाव निषेध गरिएको थियो, तर नयाँ निर्देशिकाबाट ती शब्दहरू हटाइएको छ।

यी परिवर्तनहरू ट्रम्पको जनवरी ३० को कार्यकारी आदेशअनुसार गरिएको जनाइएको छ। सो आदेश अनुसार लैङ्गिक पहिचानसम्बन्धी सरकारका अधिकांश संरक्षणहरू हटाइएको छ।

पूर्व भीए स्वास्थ्य प्रमुख डा. केनेथ काइजरले भने, “यी परिवर्तनहरूले कुनै पनि कानुनी रूपमा संरक्षित नभएको आधारमा भेदभाव गर्न ढोका खोलिदिन्छ।” अब चिकित्सकहरूले राजनीतिक विचार, यौनजन्य हिंसाका आरोप, वा व्यक्तिगत व्यवहार (जस्तै: लागुऔषध प्रयोग) का आधारमा पनि उपचार नगर्न सक्ने अवस्था आउन सक्ने उनी बताउँछन्।

न्यूयोर्क विश्वविद्यालयका नैतिकता विशेषज्ञ डा. आर्थर क्याप्लानले यो कदमलाई “अत्यन्तै खतरनाक र अनैतिक” भने। “हामी चिकित्सा पेसामा भन्छौँ – तपाईं आफ्नो राजनीति घरमै छोडेर बिरामीको उपचार गर्नुहोस्,” उनले भने।

९० लाखभन्दा बढी अमेरिकी पूर्वसैनिकहरूलाई सेवा दिने भीए अस्पताल प्रणालीमा भएका यस्ता परिवर्तनहरूले विशेषतः महिला, एलजीबीटीक्यू र ग्रामीण क्षेत्रमा बसोबास गर्ने पूर्वसैनिकहरूलाई बढी असर पार्ने विज्ञहरूको भनाइ छ।

विभिन्न भीए अस्पतालमा कार्यरत कर्मचारीहरूका अनुसार, यी नियमहरू चिकित्सकहरूसँग परामर्श नगरी जबर्जस्ती लागू गरिएको हो।

विज्ञहरूका अनुसार, ट्रम्प प्रशासनले विज्ञानविरुद्धका निर्णयहरू, बजेट कटौती र राजनीतिक हस्तक्षेप गर्दै आएको छ। केही दिनअघि मात्र स्वास्थ्य मन्त्री रोबर्ट एफ. केनेडी जूनियरले खोप सल्लाह दिने सम्पूर्ण समिति बर्खास्त गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com