कोलम्बियामा प्रहरी अधिकृत सहित ७ मारिए, गोली लागेर ५० भन्दा बढी घाइते


प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

कोलम्बियाको दक्षिण पश्चिमी क्षेत्रमा भएको बम र गोली आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कोलम्बियाको दक्षिण पश्चिमी क्षेत्रमा भएका बम र गोली आक्रमणहरूको श्रृंखलामा कम्तीमा ७ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये दुई जना प्रहरी अधिकृत रहेको बताइएको छ । यी आक्रमणहरू कोलम्बियाको तेस्रो ठूलो सहर काली र वरपरका विभिन्न शहरहरूमा लक्षित गरिएका थिए।

आक्रमणमा कार बम, मोटरसाइकल बम, राइफल फायर र एक ड्रोनको प्रयोग भएको आशंका गरिएको छ । कोलम्बियाको रक्षा मन्त्रालयका अनुसार कुल १९ वटा आक्रमण भएका छन् ।

प्रहरी चौकी, नगरपालिकाका भवनहरू र सर्वसाधारणहरू समेत आक्रमणको निशाना बनेका छन् । जसले देशमा थप सुरक्षा संकट उत्पन्न गराएको छ।

प्रहरी स्रोतले मृत्यु संख्या ७ रहेको जनाएको छ । घाइतेहरूको संख्या २८ देखि ५० भन्दा बढी रहेको बताइएको छ।

हिंसालाई सैन्य र प्रहरीद्वारा चलाइएको ठूला अभियानपछि अवैध सशस्त्र समूहहरूको ‘हताश प्रतिक्रिया’ भनेर सरकारले भनेको छ । ती अभियानहरूले तिनीहरूको ‘अवैध संरचना र अर्थतन्त्र तहसनहस’ पारेको मन्त्रालयको भनाइ छ।

यी आक्रमणहरू केही दिनअघि मात्रै राजधानी बोगोटामा राष्ट्रपतीय उम्मेदवार मिगुएल उरिबे टुर्बेमाथि भएको हत्या प्रयासपछिको घटना हुन्।

उक्त आक्रमणको समयमा १५ वर्षीय किशोरलाई घटनास्थलबाट गिरफ्तार गरिएको थियो । अदालतले उनलाई हिरासतमा राख्न आदेश दिएको छ।

कोलम्बियामा पुनः सशस्त्र समूहहरूको गतिविधि र राजनीतिक हिंसामा वृद्धि भएका छन । यो सँगै सुरक्षा अवस्था झनै जटिल बन्दै गएको देखिन्छ । सरकारले सुरक्षा बलद्वारा सञ्चालन गरिएका कडाइका कारबाही जारी रहने जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com