अमेरिकाले अन्तरिक्षलाई ‘न्यूक्लियर युद्धभूमि’ बनाउन खोजेको उत्तर कोरियाको आरोप


प्रकाशित मिति : जेष्ठ १३, २०८२ मंगलबार

अमेरिकाले निर्माण गर्ने घोषणा गरेको ‘गोल्डेन डोम’ मिसाइल रक्षा प्रणालीले अन्तरिक्षलाई ‘न्यूक्लियर युद्धभूमि’ बनाउने उत्तर कोरियाले चेतावनी दिएको छ ।

उत्तर कोरियाले अमेरिकाको योजनाबद्ध ‘गोल्डन डोम’ नामक भविष्यमुखी मिसाइल रक्षा प्रणालीको कडा आलोचना गरेको हो । उक्त योजना अन्तरिक्षलाई ‘संभावित आणविक युद्धको मैदान’बनाउने खतरामा रहेको उत्तर कोरियोको दावी रहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्त्यसम्ममा सार्वजनिक गर्ने तयारी गरेका उक्त मिसाइल रक्षा प्रणालीले अमेरिकी भूमिमा हुने नयाँ पुस्ताका हवाई खतराहरू सामना र निस्तेज पार्ने अपेक्षा गरेका छन ।

ब्यालिस्टिक र क्रुज मिसाइलहरूलाई पनि उक्त प्रतिरक्षा प्रणालीले निस्तेज पार्ने उनको दावी रहेको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले उक्त योजना ‘आत्मकेन्द्रीकता र अहंकारको चरम प्रदर्शनू भएको भन्दै आलोचना गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्योङयाङले अमेरिका ‘अन्तरिक्षलाई सैन्यकरण गर्न उद्यत भएको’आरोप लगाउँदै यस्तो योजनाले ‘वैश्विक आणविक तथा अन्तरिक्ष हतियार होडू सुरु गराउने चेतावनी दिएको छ। उत्तर कोरिया अमेरिका र दक्षिण कोरियाबीच हुने संयुक्त सैन्य अभ्यासहरूको पनि नियमित आलोचक रहँदै आएको छ।

उक्त रक्षा प्रणालीले आफ्नो आणविक क्षमतामा ठूलो असर पार्न सक्ने खतरा रहेको उत्तर कोरियाले देखिरहेको विश्लेषकहरूले बताएका छन्।

कोरियाली राष्ट्रिय एकीकरण संस्थाका वरिष्ठ विश्लेषक होङ मिनका अनुसार, “यदि अमेरिका आफ्नो नयाँ मिसाइल रक्षा प्रणाली सफलतापूर्वक निर्माण गर्छ भने, उत्तर कोरिया त्यसलाई छल्न वा प्रतिकार गर्न वैकल्पिक माध्यमहरू विकास गर्न बाध्य हुनेछ।”

सन् २०२२ मा उत्तर कोरियाले आफूलाई औपचारिक रूपमा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्दै कानून पारित गरेको थियो। त्यसयता उसले विभिन्न प्रकारका ब्यालिस्टिक तथा क्रुज मिसाइलहरूको परीक्षण गर्दै आएको छ।

चीनले पनि अमेरिकाको गोल्डन डोम योजनाको आलोचना गरेको छ। गत हप्ता चीनले उक्त योजना ूगंभीर रूपमा आपत्तिजनकू भएको भन्दै यसमा ‘आक्रामक उद्देश्य’ रहेको बताएको थियो।

धेरै विश्लेषकहरूले अमेरिकी रक्षा प्रणालीको अद्यावधिक आवश्यक रहेको मान्छन् । तर गोल्डन डोम परियोजना प्राविधिक र राजनीतिक चुनौतीहरूको सामना गर्ने सम्भावना रहेको बताइन्छ।

योजना अनुसार यसको प्रारम्भिक लागत २५ बिलियन अमेरिकी डलर तोकिएको छ। तर दीर्घकालीन रूपमा यो लागत २० गुणासम्म पुग्न सक्ने सरकारी अनुमान छ ।

अमेरिकी रक्षा बजेटको ठूलो हिस्सा यसले ओगट्न सक्ने चेतावनी पनि विश्लेषकहरूले दिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com