पेन्टागन र वाशिङ्टन डीसीका स्थानीय हवाई यातायात नियन्त्रकहरूबीचको आपतकालीन हटलाइन निस्क्रिय रहेको खुलासा
प्रकाशित मिति : बैशाख ३१, २०८२ बुधबार

अमेरिकी रक्षामन्त्रालय पेन्टागन र वाशिङ्टन डीसीका स्थानीय हवाई यातायात नियन्त्रकहरूबीचको आपतकालीन हटलाइन सन् २०२२ देखि नै निस्क्रिय रहेको खुलासा भएको छ ।
यो तथ्यलाई फेडरल एभिएसन प्रशासन का अधिकारीले बुधबारको अमेरिकी सिनेट सुनुवाईको क्रममा बाहिर ल्याएका हुन ।
अधिकारीहरूका अनुसार, उनीहरूले यो समस्या हालै मात्र थाहा पाएका हुन् । रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा दुईवटा विमानहरूलाई अवतरण गर्न नदिइकन फर्काउनु परेपछि उनीहरुले यो समस्या पत्ता लगाएका थिए ।
अमेरिकी सेनाको हेलिकप्टर त्यहाँ नजिक उडिरहेका बेला ति विमान फर्काउनु परेको हो । त्यही क्षेत्रमा रहेको सेनाको उड्डयन इकाइले आफ्नो तालिम उडानहरू पुन सुरु गर्ने घोषणा गरेपछि यो बिवरण सार्वजनिक भएको हो ।
यी उडानहरू यस वर्ष जनवरीमा भएको एउटा दुर्घटनापछि स्थगित गरिएका थिए। उक्त दुर्घटनामा सैनिक हेलिकप्टर र व्यावसायिक यात्रु विमान आपसमा ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो।
एफएए का उपप्रमुख फ्र्याङ्कलिन म्याकिन्टोशले सिनेट समितिलाई जानकारी दिँदै उक्त हटलाइन रक्षा मन्त्रालयद्वारा सञ्चालित थियो र एफएए लाई त्यो नचलिरहेको भन्नेबारे जानकारी नभएको बताए ।
उनको भनाइअनुसार उक्त हटलाइन मार्च २०२२ सम्म सामान्य रूपमा काम गरिरहेको विश्वास गरिएको छ। पेन्टागनबाट कुनै पनि उडान पुनः सुरु गर्नु अघि उक्त हटलाइन मर्मत गरिनुपर्छ म्याकिन्टोशले भनेका छन ।
हालैको अवरुद्ध अवतरण घटनापछि अधिकारीहरूले क्षेत्रभित्रका सबै सैन्य उडानहरू एफएए को स्वीकृति बिना गर्न नपाइने व्यवस्था गर्न आवश्यक रहेको बारेमा विचार गरिरहेको बताएका छन ।
तर त्यसअघि नै १२ औं एभिएसन ब्याटालियनका कमान्डरले ५ मे मा आफ्नो युनिटका उडानहरू पुनः स्थगित गर्ने घोषणा गरेका छन । उनले वाशिङ्टन डीसीमा उच्च स्तरका पेन्टागन अधिकारीहरूलाई आवागमन गराउने गरेका छन ।
२९ जनवरीमा भएको हवाई दुर्घटनाले वाशिङ्टनको भीडभाडपूर्ण आकाशमा समन्वयको अभाव सम्बन्धी चिन्ताहरूलाई थप गम्भीर रूपमा उठाएको थियो।
फोर्ट बेलभोइर भर्जिनियाबाट तालिमका लागि उडेको ब्ल्याकहक हेलिकप्टर र अमेरिकी एयरलाइन्सद्वारा सञ्चालित विमान एकआपसमा ठोक्किँदा ६४ यात्रु र हेलिकप्टरका ३ जना चालक दलका सदस्यको मृत्यु भएको थियो।