अमेरिका र युक्रेनद्वारा प्राकृतिक स्रोत सम्बन्धी सम्झौतामा हस्ताक्षर


प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार

फाइल तस्बिर

अमेरिका र युक्रेनबीचमा प्राकृतिक स्रोत सम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ । युक्रेनसँग बहुप्रतिक्षित प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको अमेरिकाले बताएको छ ।

यो सम्झौताले युक्रेनको युद्धपछिको पुनर्निर्माण प्रयासलाई मद्दत गर्ने अमेरिकी वित्त मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वशर्तको रूपमा यो सम्झौतालाई अघि सारेका थिए । युक्रेनले पूर्ण सुरक्षाको ग्यारेण्टी माग गरेको बेला अमेरिकाले यो प्रस्तावलाई पूर्व शर्तका रुपमा ल्याएको थियो ।

युक्रेन अझै पनि रुसको आक्रमणको विरुद्ध लडिरहेको छ । यो सम्झौताले ट्रम्प प्रशासन स्वतन्त्र, सार्वभौम र समृद्ध युक्रेनको पक्षमा आधारित शान्ति प्रक्रियामा प्रतिबद्ध छ भन्ने रुसलाई पनि सन्देश दिएको अमेरिकाले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्झौताअनुसार अमेरिकी युक्रेनी संयुक्त लगानी कोष स्थापना गरिनेछ । कोषले खनिजहरूको खोजी गर्नेछ र त्यसबाट आउने आम्दानी कसरी बाँडफाँट गरिने भन्ने कुरा उल्लेख गरिएको छ ।

बुधबार दिउँसो अमेरिकी वित्त मन्त्रालयले दिएको विवरण अनुसार, नवगठित कोष ले फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेदेखि अमेरिकाले दिएको महत्वपूर्ण आर्थिक र भौतिक समर्थनलाई मान्यता दिनेछ ।

वित्त मन्त्री स्कट बेसेन्टले भने, राष्ट्रपति ट्रम्पले गरेको परिकल्पना अनुसार नै अमेरिकी र युक्रेनी जनताबीचको यो साझेदारी भएको बताए । अव युक्रेनमा दीर्घकालीन शान्ति र समृद्धिको प्रतिबद्धता यस मार्फत नै पूर्ण हुने अमेरिकाले विश्वास लिएको छ ।

रुसको युद्ध मशीनलाई आर्थिक वा भौतिक रूपमा समर्थन गर्ने कुनै पनि व्यक्ति वा राष्ट्रलाई युक्रेनको पुनर्निर्माणबाट लाभ उठाउन नदिइने सम्झौतामा उल्लेख छ ।
यो सम्झौताले युक्रेनको विकास सम्भावनाहरू खोल्न मद्दत पुर्याउने वित्त मन्त्रीको दावी छ ।

युक्रेनकी उपप्रधानमन्त्री युलिया स्विरिडेन्को बुधबार वासिङ्टन पुगेकी थिइन् । उनको उपस्थितीपछि वार्तामा महत्वपूर्ण प्रगति भएको थियो। स्विरिडेन्कोले वासिङ्टनस्थित अमेरिकी वित्त मन्त्रालय भवन अगाडि उभिएर यो कोषले युक्रेनमा विश्वव्यापी लगानी ल्याउने उनले बताइन ।

अमेरिकी अधिकारीहरूले भने अनुसार युक्रेनले पहिले सहमति भइसकेका केही धाराहरू पुनः खोल्ने प्रयास गरेपछि वार्ता स्थगित भएको थियो । अमेरिकी स्रोतले बुधबार बिहानसम्म अमेरिकी र युक्रेनी टोलीले सहमतिका लागि कडा मेहनत गरेको बताएको छ ।

विवादका बुँदामा कोषको व्यवस्थापन, पारदर्शिता प्रणाली र सबै कोषको ट्रेसबिलिटी सुनिश्चित गर्ने विषय समावेश थिए । प्राविधिक कागजातहरू गत साता दुवै देशका प्रतिनिधिहरूद्वारा हस्ताक्षर गरिएको थियो।

युक्रेनसँग खनिजमा ठूलो सम्भावना

युक्रेनमा ग्रेफाइट, टाइटेनियम र लिथियमजस्ता महत्वपूर्ण दुर्लभ खनिजहरूको ठूलो भण्डार छ । जसको प्रयोग नवीकरणीय ऊर्जा, सैनिक उपकरण र औद्योगिक पूर्वाधारमा गरिन्छ ।

चीनसँगको बढ्दो व्यापार युद्धबीच ट्रम्प प्रशासनले यस्ता खनिज स्रोतहरूको पहुँचमा जोड दिएको हो। हाल विश्वका ९० प्रतिशत दुर्लभ खनिज चीनबाट प्राप्त हुन्छन्।

सम्झौताको मस्यौदामा अमेरिकालाई खनिजभन्दा पनि अन्य युक्रेनी उद्योगहरूमा पनि ठूलो पहुँच दिइएको देखिन्छ । सम्झौताले प्रत्यक्ष रूपमा अमेरिकाले युक्रेनलाई कुन खालको सुरक्षा समर्थन दिने भन्ने कुरा खुलाएको छैन ।

तर यसलाई अमेरिकाको युक्रेनको सुरक्षाको पक्षमा रहेको प्रत्यक्ष प्रमाण भनेर व्याख्या गरिएको छ।

यो सम्झौता ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको भेटपछिको केही दिनमै भएको हो । यो भेट रोममा पोप फ्रान्सिसको अन्तिम संस्कारका क्रममा भएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com