जेलेन्स्कीसँगको टेलिफोन वार्तापछि ट्रम्पले भने – ‘हामी सही ट्र्याकमा छौँ’
प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार
(250301) — BEIJING, March 1, 2025 (Xinhua) — U.S. President Donald Trump (2nd L) welcomes Ukrainian President Volodymyr Zelensky (2nd R) at the White House in Washington, D.C., the United States, on Feb. 28, 2025. A press conference at the White House scheduled for Friday where U.S. President Donald Trump and Ukrainian President Volodymyr Zelensky planned to sign the U.S.-Ukraine minerals deal was canceled, following a tense shouting match between the two inside the Oval Office earlier in the day. (Xinhua/Hu Yousong)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच बुधबार एक घण्टासम्म टेलिफोन वार्ता भएको छ। उक्त वार्तामा रुससँग युद्ध विरामको सम्भावनाबारे छलफल भएको बताइएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग राम्रो टेलिफोन वार्ता सम्पन्न गरेको बताए । उनले मंगलबार भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तालाई मान्दै रुस र युक्रेनका आवश्यकताहरूलाई मिलाउनका लागि छलफल गरिएको जानकारी दिए । उनले आफूहरू सही दिशामा अघि बढिरहेको समेत जिकिर गरे ।
ट्रम्पले लेखेका छन्, “युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग राम्रो टेलिफोन वार्ता सम्पन्न गरेँ। हिजो राष्ट्रपति पुटिनसँग भएको वार्तालाई आधार मान्दै रुस र युक्रेनका आवश्यकताहरूलाई मिलाउनका लागि छलफल गरियो। हामी सही दिशामा अघि बढिरहेका छौँ।”
यसअघि मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण ३० दिनका लागि रोक्ने सहमति जनाएका थिए। यद्यपि, अग्र मोर्चा वा नागरिक क्षेत्रमा युद्ध विरामको व्यवस्था गरिएको छैन, जुन ट्रम्प प्रशासनले चाहेको थियो।
ट्रम्पका विशेष दूत स्टिभ विटकोफले पूर्ण युद्ध विराम केही साताभित्र सम्भव हुने बताएका छन् । उनले भने, “युरोपेली नेताहरूको आशङ्काका बाबजुद पूर्ण युद्ध विराम केही साताभित्र सम्भव हुन सक्छ।”
उनले ट्रम्प र पुटिनबीच आधिकारिक बैठक हुने सम्भावना रहेको पनि बताए । अमेरिकी विदेश मन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले आइतबार साउदी अरेबिया फर्कने योजना बनाएका छन् । मंगलबार भएको सम्झौताको विवरणमा छलफल गर्न साउदी अरेबिया फर्कने योजना छ।
युक्रेनी पक्षले वार्ताका लागि साउदी अरेबिया जाने वा नगर्नेबारे कुनै आधिकारिक जानकारी दिएको छैन।
यसैबीच, पुटिनले सद्भावनाको सङ्केत स्वरूप १७५ जना युक्रेनी युद्ध बन्दीहरू र २३ जना गम्भीर घाइते सैनिकहरूलाई फिर्ता गर्ने सहमति जनाएका छन्।
ट्रम्पसँगको वार्तापछि राष्ट्रपति जेलेन्स्कीले एक्समा एक पोस्ट गर्दै भने, “सबैभन्दा ठुलो युद्ध बन्दी आदानप्रदान सम्पन्न भएको छ।” उनले युक्रेनी झन्डा ओढेका सैनिकहरूको तस्बिर समेत साझा गरे, जसमा उनीहरूलाई रुसी कैदबाट मुक्त भएर स्वदेश फर्किरहेको देख्न सकिन्थ्यो।
जेलेन्स्कीले थपे, “हामी सबै साझेदारहरू, विशेष गरी संयुक्त अरब इमिरेट्सलाई आजको आदानप्रदान सम्भव बनाउन सहयोग पुर्याएकोमा धन्यवाद दिन्छौँ।”








