नेदरल्याण्डका दम्पतीको ‘नेपाल प्रेम’


प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार

एड क्रामर र आन्नी क्रामर नेपाललाई ‘दोस्रो घर’ ठान्छन् । नेदरल्याण्डका यी दम्पत्ति सन् १९७७ जुलाईमा पहिलो पटक नेपाल आएका थिए । तीन साना छोराछोरीसहित उनीहरूले यहाँ आठ वर्ष बिताए । सन् १९८५ मा स्वदेश फर्किए । “नेपाल छोड्न मनले त मानिरहेको थिएन, तर परिवारप्रतिको उत्तरदायित्वले हामी आफ्नै देश फर्कियौँ”, ७७ वर्षीया आन्नीले भन्नुभयो, “नेपाल हाम्रो दोस्रो घर हो, यहाँको सत्कार र मानिसको असल आनीबानी धेरै मनपर्छ ।” नेपालमा हरेकपटक आउँदा नयाँ अनुभव र ऊर्जा प्राप्त हुने गरेको उहाँले सुनाउनुभयो ।

उनासी वर्षका एड र आन्नी नेपाल आउँदा छोरी इङ्ग मार्गरिट सात महिनाकी थिइन् । छोरा मारत्येन चार वर्ष र एरिक तीन वर्षका थिए । अहिले क्रामर दम्पत्तिका सात नातिनातिना भइसकेका छन् । छोराछोरीका सबै परिवार नेदरल्याण्डमै बस्छन् । नेपालमा आठ वर्ष बस्दा उनीहरू यहाँको भाषा, संस्कृति र रहनसहनसँग घुलमिल भइसकेका थिए । “ठूलो छोरा मारत्येन हामीभन्दा पनि राम्रो नेपाली बोल्न सक्छ”, आन्नीले भन्नुभयो, “नेपालमा बस्दा छिमेकी बालबालिकासँग रमाउन र खेल्न खुब मन पराउँथे ।” समय मिलेसम्म अहिले पनि नेपाल आउँदा छोराछोरीलाई लिएर आउने गरेको उहाँको भनाइ छ ।

सिभिल इञ्जिनीयर एड क्रामर युनाइटेड मिसनमार्फत बुटवलको तिनहुँ नदीमा विद्युत् आयोजना निर्माण क्रममा पहिलोपटक नेपाल आउनुभएको थियो । पेसाले शिक्षक रहनुभएकी श्रीमती आन्नी र छोराछोरीलाई उहाँले साथमै ल्याउनुभयो । बुटवलमा केही समय बिताएर क्रामर परिवार स्न १९७८ को फेब्रुअरीमा बागलुङ आए । बागलुङको पहिलो साना जलविद्युत् केन्द्र, काठेखोलामा एडले काम गर्नुभयो । विसं २०३९ मा बागलुङ नगरपालिका–३ मा निर्माण गरिएको एक सय ७५ किलोवाटको उक्त आयोजना अहिले भने रूग्ण अवस्थामा छ ।

उक्त आयोजना निर्माण क्रममा क्रामर दम्पती बालबच्चासहित दुई वर्ष तीन महिना बागलुङमा बसेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बागलुङमा पहिलो पटक बिजुली बल्दाको साक्षी उनीहरू थिए । त्यो बेला यातायात, विद्युत्लगायतका सुविधा बागलुङमा थिएनन् । कास्कीको नागडाँडाबाट हिँडेर तीन दिनमा बागलुङ आइपुगेको एडले सुनाउनुभयो । “भाषा सिकाउने तीन जना, भरिया तीन जनासहित हामी हिँडेरै बागलुङ आएका थियौँ”, उहाँले भन्नुभयो, “पहिलो दिन पर्वतको एउटा गाउँमा र दोस्रो दिन मालढुङ्गा भन्ने स्थानमा बास बस्यौँ ।” बागलुङ आइसकेपछि उनीहरू स्थानीय भीमसेन श्रेष्ठको घरमा बसे । छिमेकी रामकृष्ण भारी, विष्णुनारायण भारीलगायतले उनीहरूको बसाइँमा मद्दत गरे ।

“त्यो बेला बिजुली थिएन, टेलिफोन थिएन, पानी लिन बाहिर जानुपथ्र्यो, दाउरामा खाना पकाउनुपथ्र्यो, धेरै गाह्रो थियो”, एडले भन्नुभयो, “सानो छोराछोरी भएकाले हामीलाई भान्छामा छिमेकी गाउँ तित्याङको बुकेनीका नगेन्द्र र शकुन्तलाले धेरै सहयोग गर्नुभयो ।” केही दिनअघि बागलुङ आएका बखत क्रामर दम्पत्तिले बुकेनी पुगेर नगेन्द्रलाई भेटे र ४५ वर्षअघिका ती क्षणलाई सम्झे । जतिबेला नगेन्द्र मात्र १३ वर्षको हुनुहुन्थ्यो । एड ३४ र आन्नी ३२ वर्षको हुनुहुन्थ्यो । एउटै क्याम्पस पढेका एड र आन्नीको प्रेम विवाह भएको थियो ।

साना जलविद्युत् केन्द्रमा इञ्जिनीयरका रूपमा एडसँगै बुटवलदेखि आएका अन्य प्राविधिक र स्थानीयवासी खटिएका थिए । त्योबेला बागलुङलगायत देशका विभिन्न जलविद्युत् आयोजना निर्माण गरेका हिमो हाइड्रो इन्जिनीयरिङ प्रालिमामा एड महाप्रबन्धकसमेत भएर काम गर्नुभएको थियो । उहाँले स्याङ्जाको आँधीखोला, तातोपानी, डोटीलगायत ठाउँमा जलविद्युत् आयोजनामा काम गर्नुभयो । सन् १९८५ मा नेदरल्याण्ड फर्केका क्रामर दम्पती १० वर्षपछि सन् १९९५ मा पुनः नेपाल आएका थिए । त्यसयता उनीहरूको नेपाल आउनेजाने क्रम चलि नै रह्यो । पानी व्यवस्थापन विज्ञसमेत रहनुभएका एड सन् २०१२ मा पुनः नेपाल आएर पाल्पाको मिसन अस्पतालमा फोहर पानी सफा गर्ने परियोजनामा काम गर्न थाल्नुभयो । “मिसन अस्पतालको ठूलो खानेपानी ट्याङ्कीको डिजाइन मैले नै गरेको हुँ, फोहर पानी सफा गराउने परियोजना अहिले पनि सञ्चालित छ, यसकै सिलसिलामा अहिले नेपाल आएका हौँ”, उहाँले भन्नुभयो ।

दुई महिनाअघि नेपाल आएका उनीहरू अर्को साता नेदरल्याण्ड फर्कदैँछन् । नेपाल रहँदा चार दिन बागलुङमा बिताएको एड्ले बताउनुभयो । यसपालि एडले आफूसँगै ४५ वर्षअघि बागलुङ रहँदा खिचेका तस्बिर पनि साथै लिएर आउनुभएको थियो । त्योबेलाको बागलुङको समाज, संस्कृति, रहनसहन र जीवनशैली झल्काउने २९ थान तस्बिर नेपाल पत्रकार महासङ्घ, बागलुङलाई हस्तान्तरण गर्नुभयो । अहिले पनि फोटोग्राफीमा उत्तिकै रूचि राख्ने एडले बागलुङका पुराना तस्बिरको प्रदर्शनी राख्ने इच्छा रहेको सुनाउनुभयो ।

महासङ्घ, बागलुङका सचिव नारायण रिजालले प्रतिलिपि अधिकारको सुनिश्चिततासहित एडले खिचेका तस्बिर महासङ्घले सुरक्षित तबरले सङ्ग्रह गर्ने बताउनुभयो । क्रामर दम्पती बागलुङ आएका बेला पहिले आफू बसेको घर र गाउँटोल पुगे । चिनेजानका व्यक्तिगसँग भेटघाट गरे । “सन् २०१२ पछि हरेक वर्षजसो नेपाल आइरहेका छौँ, नेपाल आउँदा बागलुङ आउन पनि छुटाउँदैनौँ”, आन्नीले भन्नुभयो, “यहाँ आउँदा ज्यादै रमाइलो लाग्छ, अहिले त बागलुङ पनि धेरै परिवर्तन भइसकेको छ ।” बुटवल, पोखरा, काठमाडौँ, पाल्पालगायतका ठाउँ पुगेर आफूहरू नेदरल्याण्ड फर्कन लागेको उहाँले बताउनुभयो । “हामी फेरि छिट्टै नेपाल आउनेछौँ, नेपालको धेरै माया लाग्छ”, आन्नीले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com