कतारमा भन्दा नेपालमै फूलखेतीबाट आम्दानी धेरै भएपछि लोकेन्द्र दंग


प्रकाशित मिति : फाल्गुन २०, २०८१ मंगलबार

दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रिका फुल ढकमक्क फुलेका छन् ।

उहाँ बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त हुनुहुन्छ । उहाँले भन्नुभयो“आजभोलि फूल चार सय किलो र माला सात सय ६५ देखि सात सय ९० सम्ममा बिक्री गर्दै आएका छु । ”

चाडपर्वमा मात्रै नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गर्नुभएका उहाँ यही व्यवसायमा सन्तुष्ट हुनुहुन्छ ।

आम्दानीको पाटो पनि राम्रो भएको छ, उहाँको फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उहाँ वैदेशिक रोजगारमा हुनुहुन्थ्यो ।

“विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं”, उहाँले भन्नुभयो, “ बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ ।

अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ ।” रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थाल्नुभएको हो ।

उहाँले विगत १२ वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । उहाँले गएको तिहारको समयमा डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गर्नुभएको थियाभने हाल दुई कठ्ठामा सयपत्रीका फूल उत्पादन गरिहनुभएको छ ।

अहिले घोराही, तुलसीपुर, लमहीलगायत ठाउँबाट फूलमालाको माग आइरहेको बताउनुहुन्छ । “जिल्लामा चाडपवको समयमा मात्र फूलखेती गर्ने किसान धेरै भएकाले बेमौसमी समयमा मागअनुसारको फूलमाला पुर्याउनै सकिरहेको छैन”, उहाँले भन्नुभयो ।

“यो समयमा फूल चिसोका कारण मर्ने भएकाले धेरै जोगाउन समस्या भएको हुँदा बढी क्षेत्रफलमा फूलखेती गर्न सकिँदैन, फागुन पहिलो हप्ताबाट बिक्री गर्न सुरु गरेको फूल जेठसम्म रहने छ ।” विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगायतका कार्यमा फूलमाला बिक्री भइरहेको उहाँ बताउनुहुन्छ ।

घोराही–१४, झिङ्गौरामा यही फागुन २ देखि १८ गतेसम्म सञ्चालन भएको छैटौँ कृषि, पर्यटन तथा व्यापार महोत्सवमा किसान मगरले फूल, माला तथा विभिन्न फूलका बिरुवा बिक्री गरेर एक लाख ५० हजार बढी आम्दानी गरेको बताउनुहुन्छ ।

साथै उहाँले विवाहको माला पनि तयार पारेर बिक्री गर्दै आउनुभएको छ । उक्त माला एक हजारमा बिक्री गर्ने गनुभएको छ । किसान मगरले माला बनाउनका लागि विजलीको फूल पनि उत्पादन गर्नुभएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com