अमेरिकासँग खनिज सम्झौता गर्न तयार छन् युक्रेनी राष्ट्रपति जेलेन्स्की


प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौता गर्न आफू अझै इच्छुक रहेको बताएका छन् ।

आइतबार लन्डनमा पत्रकारहरूसँग कुरा गर्दै उनले शान्ति सम्झौताका नाममा युक्रेनले रुसलाई कुनै पनि भूभाग नछोड्ने दोहोर्‍याए ।

राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई सहयोग रोक्ने सम्भावना न्यून रहेको जिकिर गरे । उनले भने, ‘सभ्य विश्वका नेताहरूका रूपमा अमेरिकी नेतृत्वले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न चाहँदैन।’ यस्तै, उनले कुनै पनि नतिजाका लागि आफू तयार रहेको सङ्केत गरे।

आइतबार युरोपेली नेताहरूको शिखर सम्मेलनपछि जेलेन्स्कीले अमेरिका पठाइने शान्ति योजनाको मस्यौदा तयार पार्ने विषयलाई महत्त्वपूर्ण घटनाक्रमको रूपमा चित्रित गरेका छन् । ब्रिटिस प्रधानमन्त्री कीर स्टार्मरको नेतृत्वमा भएको बैठकमा युरोपेली नेताहरूले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषयमा अमेरिका समक्ष प्रस्ताव लैजाने सहमति गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार लन्डन पुगेका जेलेन्स्कीलाई ब्रिटिस प्रधानमन्त्री स्टार्मरले न्यानो स्वागत गरेका थिए। ‘१० डाउनिङ स्ट्रिट’मा जम्मा भएका समर्थकहरूले उनलाई उत्साहपूर्वक स्वागत गरेका थिए।

युक्रेन तीन वर्षदेखि रुससँग युद्धरत छ। यस्तो अवस्थामा अमेरिका र युरोपेली नेताहरूको समर्थन जारी रहनु कीभका लागि महत्त्वपूर्ण मानिएको छ । शान्ति सम्झौताका लागि अबको रणनीति कस्तो हुनेछ भन्ने विषयमा युक्रेन र युरोपेली मुलुक वासिङ्टनको प्रतिक्रियाको प्रतीक्षामा छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com