आलोचनालाई खण्डन गर्दै अमेरिकी विदेशमन्त्री रुबियोले भने – ट्रम्प ‘शान्ति निर्माता’


प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेन युद्ध अन्त्य गर्ने रणनीतिप्रति उठेको आलोचनालाई खण्डन गर्दै ट्रम्पलाई “शान्ति निर्माता”को संज्ञा दिएका छन्।

रुबियोले एबीसी न्युजको कार्यक्रम “दिस वीक”मा होस्ट जर्ज स्टेफानोपोलोससँग कुराकानी गर्दै भने, “राष्ट्रपति ट्रम्पलाई केवल उनी ट्रम्प भएकै कारण आलोचना गरिँदैछ। के हामीले कम्तीमा एउटा समाधान खोज्ने प्रयास गर्न नपर्ने ? यस्तो उपाय जसले दुवै पक्षलाई स्वीकार्य हुने गरी युद्ध अन्त्य गर्न सकोस् !”

रुबियोले ट्रम्पमाथि लागेको आरोप अस्वीकार गर्दै भने, “प्रशासनले केवल रुससँग सम्पर्क गरेर सोधेको हो, तपाईँहरू शान्ति वार्ताका लागि तयार हुनुहुन्छ ? ।”

उनले ट्रम्पको प्रयासलाई अन्य नेताहरूको तुलनामा भिन्न ढङ्गले हेर्नु अनुचित भएको बताए।

शुक्रबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच तनावपूर्ण बैठकपछि विदेश मन्त्री रुबियोको यो भनाई आएको हो ।

बैठकमा ट्रम्पले युक्रेनसँग आफ्नै बलबुतामा रुससँग लड्ने तागत छैन भन्दै कूटनीतिक वार्तामार्फत शान्ति स्थापना नै उत्तम उपाय भएको बताएका थिए। उक्त बैठक चर्को विवादबिच टुङ्गिएको थियो।

यसैबीच, ट्रम्पले शुक्रबार जेलेन्स्कीले अमेरिकालाई अपमान गरेको आरोप लगाउँदै उनी अझै शान्ति सम्झौताका लागि तयार नदेखिएको बताएका थिए ।

राष्ट्रपति ट्रम्पको शान्ति प्रयासको समर्थन र आलोचना निरन्तर जारी रहँदा युक्रेन युद्धको भविष्यबारे विश्वभर चासो बढिरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com