हमासले अमेरिकी प्रस्ताव अस्वीकार गरेपछि इजरायलद्वारा गाजामा सहायता सामग्रीको प्रवेशमा रोक
प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार
इजरायली सरकारले गाज़ामा प्रदान गरिने कुनै पनि मानवीय सहायता सामग्रीको प्रवेश रोक्ने निर्णय गरेको छ।
इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार हमासले गाज़ा युद्धविराम सम्झौताको पहिलो चरणलाई लम्ब्याउने अमेरिकी प्रस्ताव अस्वीकार गरेपछि यो निर्णय लिइएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टीव विटकोफद्वारा तयार पारिएको प्रस्तावअनुसार रमजान र यहूदी पासओभर पर्वका लागि युद्धविरामलाई छ हप्तासम्म विस्तार गर्ने योजना थियो।
इजरायली सरकारले केही घण्टा अघि मात्र उक्त प्रस्तावको समर्थन गरेको थियो। तर, हमासले वार्तालाई पूर्ण रूपमा सम्पन्न गर्दै दोस्रो चरण लागू गर्नु नै अघि बढ्ने एक मात्र उपाय भएको तर्क गरेको छ।
इसराइल र हमासबीच १९ जनवरीमा लागू भएको गाज़ा युद्धविराम सम्झौताको पहिलो चरण शनिबार सकिएको छ।
७ अक्टोबर २०२३ मा हमासले इसराइलमा आक्रमण गर्दा झण्डै १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएको थियो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इसराइली हवाई र स्थलगत आक्रमणका कारण करिब १५ महिनामा गाज़ामा कम्तीमा ४८,३६५ जनाको मृत्यु भएको छ।








