७ हजार कर्मचारी हटाउँदै अमेरिकी सामाजिक सुरक्षा प्रशासन, क्षेत्रीय कार्यालयहरू पनि घटाइने


प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार

अमेरिकी सरकारको सामाजिक सुरक्षा प्रशासन (एसएसए) ले ७ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो निर्णय ट्रम्प प्रशासनको सङ्घीय कार्यबल घटाउने योजनाको एक हिस्सा रहेको बताइएको छ।

सामाजिक सुरक्षा प्रशासनले हरेक महिना ७३ मिलियन अवकाशप्राप्त र अपाङ्ग नागरिकलाई लाभ प्रदान गर्छ । एसएसएले आफ्नो कार्यबल १२ प्रतिशतले घटाउने तयारीका साथै आफ्नो कार्य बललाई ५७ हजारबाट ५० हजारमा झार्ने लक्ष्य राखेको छ। साथै, प्रशासनले आफ्ना १० क्षेत्रीय कार्यालयमध्ये ६ वटालाई बन्द गर्ने निर्णय पनि गरेको छ।

सामाजिक सुरक्षा प्रशासनको वक्तव्यमा भनिएको छ, “हामी आफ्नो ठुलो कार्यबल र सङ्गठनात्मक संरचनालाई सानो बनाउन केन्द्रित हुनेछौँ । जसमा त्यस्ता विभागहरू समेटिने छैनन्, जसले प्रत्यक्ष रूपमा महत्त्वपूर्ण सेवाहरू प्रदान गर्दैनन्।”

सामाजिक सुरक्षा प्रशासनलाई वृद्ध अमेरिकी नागरिकहरूका लागि महत्त्वपूर्ण लाभ प्रदान गर्ने निकाय मानिन्छ। विगतमा अमेरिकी राजनीतिज्ञहरूले सामाजिक सुरक्षा प्रशासनमा कटौती नगर्ने परम्परा कायम राख्दै आएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः निर्वाचनका लागि अभियान चलाउँदै गर्दा सरकारी खर्च कटौती गर्ने योजना ल्याउने तर सामाजिक सुरक्षालाई नछुने प्रतिज्ञा गरेका थिए।

यस घोषणापछि सामाजिक सुरक्षा प्रशासनका २४ वरिष्ठ कर्मचारीहरूले शुक्रबार राजीनामा दिएका छन्।

ट्रम्प प्रशासन र एलन मस्कको सरकारी दक्षता विभाग (डीओजीइ) ले हालसम्म सङ्घीय सरकारका २ दशमलव मिलियन नागरिक कर्मचारीमध्ये एक लाख भन्दा बढीलाई हटाइसकेका छन्। राष्ट्रपति ट्रम्प र मस्कले सङ्घीय सरकारलाई अपव्ययी र अत्यधिक ठुलो रहेको बताउँदै आएका छन्।

यस विषयमा ह्वाइट हाउस र सरकारी दक्षता विभागले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com