अमेरिकाले भन्यो : गाजाका विषयमा अरब समुदायको कुरा सुन्छौ
प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

Secretary of State Marco Rubio. (AP Photo/Evan Vucci)
अमेरिकाले गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न आतुर रहेको बताएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रस्तुत गर्ने वास्तवमै राम्रो योजना हुनेछ भन्ने आशा पनि व्यक्त गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको सम्पूर्ण जनसङ्ख्यालाई विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अरब समुदायबाट यसको व्यापक विरोध भएको थियो ।
विदेशमन्त्री रुवियोले इजिप्ट र जोर्डनसँग वासिङ्टनमा भएको वार्तापछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) का साथै इजरायलमा रहँदा उनीहरूका विचारबारे छलफल गर्ने बताएका छन ।
गाजाको सम्बन्धमा ट्रम्पको योजना मन नपरेको हो भने कस्तो योजना आवश्यक छ भनेर अरब समुदायले ल्याउनु पर्यो रुबियोले भनेका छन ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफू सत्तामा आएसँगै गाजाका छिमेकी इजिप्ट र जोर्डनले गाजामा २० लाखभन्दा बढी प्यालेस्टिनीलाई स्वीकार नगरे त्यसको परिणाम उनीहरूले नै भोग्नुपर्ने चेतावनी दिएका थिए ।
जोर्डनले २० लाखभन्दा बढी प्यालेस्टिनी शरणार्थीलाई आश्रय दिइसकेको छ । कूटनीतिज्ञहरूका अनुसार इजिप्टले केही हप्ताभित्र ट्रम्पलाई विकल्प प्रस्तुत गर्ने प्रयासको नेतृत्व गरिरहेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले वेस्ट बैङ्कमा आधारित प्यालेस्टिनी प्राधिकरणलाई कमजोर पार्न युद्ध मार्फत खोजिरहेका छन ।