एक्सक्लुसिभः जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेदेखि २० दिनमा अमेरिकाबाट २२ नेपाली डिपोर्ट
प्रकाशित मिति : माघ २८, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछिको २० दिनमा अमेरिकाबाट २२ जना नेपाली देशनिकाला भएका नेपालको अध्यागमन विभागले खसोखासलाई जानकारी दिएको छ । २२ जनवरी २०२५ पछि अमेरिकाबाट नेपालमा डिपोर्ट भएर आउनेहरुको संख्यामा विगतको तुलनामा बृद्धि भएको नेपालको अध्यागमन विभागका अधिकारीको भनाई छ ।
२२ जनवरी देखि ३० जनवरीसम्म अमेरिकाबाट ८ जना नेपालीहरु देशनिकाला भएर नेपाल पुगेको र फेबु्रअरी १ देखि ९ सम्ममा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या १४ रहेको त्रिभुवन विमानस्थलमा रहेको नेपालको अध्यागमन कार्यालय जानकारी दिएको हो । देशनिकाला भएर आउने नेपालीहरुलाई आइसले नेपालको अध्यागमनमा बुझाउनका लागि पत्र दिने गरेको र उक्त पत्रका आधारमा आफूहरुले तथ्यांक राख्ने गरेको अध्यागमन कार्यालयका अधिकारीको भनाई छ ।

ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकाबाट देशनिकाला हुने नेपालीहरु या त जनवरी २० अघि नै देशनिकालाको प्रकृयामा रहने क्रममा ट्राभल डकुमेन्टहरु बनाइसकेका या त अद्यावधिक पासपोर्ट रहेका नेपालीहरु रहेका छन् । जनवरी २० पछि कुनै नेपालीलाई अमेरिकाबाट देशनिकालाका लागि ट्राभल डकुमेन्ट बनाउनका लागि आइसमार्फत कुनै अनुरोध नआएको वासिंटन डिसीमा रहेको नेपाली दूतावास श्रोतले खसोखासलाई जानकारी दिएको थियो ।
देशनिकालामा पर्ने कुनै नेपालीको पासपोर्ट नभएको खण्डमा वा पासपोर्टको म्याद सकिएको खण्डमा अमेरिकी अध्यागमन आइसले दूतावास समक्ष ट्राभल डकुमेन्टका लागि अनुरोध गर्दै आएको छ । अमेरिकाबाट देशनिकाला हुने आफ्ना नागरिक नेपालले सहज रुपमा नै स्वीकार गर्दै आएको छ ।
सोही अनुरुप वासिंटन डिसीमा रहेको नेपाली दूतावासले पनि आइसबाट अनुरोध आएको खण्डमा सहज रुपमा नै अमेरिकाबाट देशनिकाला हुने नेपाली नागरिकको ट्राभल डकुमेन्ट सहज रुपमा नै बनाइदिदै आएको छ । दूतावासले तोकिएको शुल्क लिएर नै ट्राभल डकुमेन्ट बनाइदिने गरेको र उक्त शुल्क आइसले तिर्ने गरेको जनाइएको छ ।
देशनिकालामा पर्ने नेपालीहरुको म्यादसहितको पासपोर्ट भएमा भने आइसले दूतावासमा कुनै जानकारी नदिई त्यस्ता व्यक्तिलाई देशनिकाला गर्ने गरेको छ । त्यस्ता नेपालीबारे आइसले नेपालको अध्यागमन विभागलाई भने देशनिकाला हुने आप्रवासीलाई प्रदान गरिने पत्रमार्फत जानकारी प्रदान गर्ने गरेको छ ।

खसोखासले जनवरी २० पछि देशनिकाला हुने नेपालीहरुको संख्याबारे आइससँग पनि विवरण मागेको छ । तर यो समाचार तयार पार्दासम्म कुनै विवरण प्राप्त भएको छैन । यद्यपी बाइडेन प्रशासनको ४ बर्षमा अमेरिकाबाट आइसमार्फत १३० जनालाई डिपोर्ट गरेको आइसले जनाएको छ । पक्राउ पछि आइसले विमानमार्फत देशनिकाला गरेका नेपालीहरु आर्थिक बर्ष २०२१ मा २३ जना, २०२२ मा २८ जना, २०२३ मा २२ जना र २०२४ मा ५७ जना गरी कुल १३० जना रहेका थिए ।
अघिल्लो ट्रम्पकालको ४ बर्षमा ३५० जना नेपालीहरुलाई आइसमार्फत देशनिकाला गरिएको थियो । आर्थिक बर्ष २०१९ मा आइसमार्फत देशनिकाला हुने नेपालीहरुको मासिक औषत सबैभन्दा बढी १४ रहेको थियो । तर यसपटक ट्रम्प कार्यकाल सुरु भइसकेको २० दिनमामात्र २२ नेपाली देशनिकाला भइसकेकाले यो अनुपात कायम रहेमा मासिक औषत २०१९ को तुलनामा दोब्बर हुने देखिएको छ । यही अनुपात कायम रहेमा ट्रम्पकालमा बार्षिक ३५० जनासम्म नेपालीहरु अमेरिकाबाट आइसमार्फत देशनिकालामा पर्नसक्छन् । तर आगामी दिनमा यही अनुपात कायम रहन्छ वा रहन्न अहिले नै भन्न सकिन्न ।