होसियार ! सामाजिक सञ्जालले यसरी निम्त्याउँदैछ खतरा, मानसिक रोगदेखि साइबर अपराधसम्म
प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार

आजभोलि हरेकको हात–हातमा स्मार्ट फोन छ । स्मार्ट फोनमा उपलब्ध छन्, फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जाल । सूचना प्रविधिको बढ्दो विकास क्रमसँगै सामाजिक सञ्जाल मानिसको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । सामाजिक सञ्जालहरूले संसारलाई हरेकको हात–हातमा ल्याइदिएको छ । तर, सामाजिक सञ्जालहरूको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । वालकदेखि वृद्धवृद्धासम्मै सामाजिक सञ्जाल र इन्टरनेट लतले गम्भीर रूपमा प्रभावित बनाइरहेको छ ।
पछिल्लो समय विशेष गरी बालबालिकाहरू मोबाइल तथा इन्टरनेटको लतमा परेको मनमोहन मेडिकल कलेजका विभागीय प्रमुख तथा नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डे बताउँछन् । उनी मोबाइल तथा इन्टरनेटको लतले बालबालिकाहरूमा विभिन्न मानसिक रोगहरू देखिएको बताउँछन् । मोबाइल तथा इन्टरनेटको लतमा परेका परेका बालबालिका तथा व्यक्तिहरूमा छटपटी बढ्ने गरेको डा. पाण्डे बताउँछन् । “कति मान्छेलाई मोबाइल एक छिन पनि चलाउन नपाउँदा छटपट/छटपट जस्तो हुन्छ । त्यो मोबाइल तथा इन्टरनेटको लत लागेको हो । यो एक गम्भीर समस्या हो ।”, डा. पाण्डे भन्छन् ।
मोबाइल तथा इन्टरनेटको लतका कारण मानिसहरूमा अनिन्द्रा बढ्ने, रुचि कमी हुने, एन्जाइटी, एक्लोपनको महसुस, डिप्रेसन तथा आत्महत्याको प्रयास लगायतका लक्षणहरू देखिने गरेको उनी बताउँछन् । “मोबाइलको लतले रात भरी नसुत्ने वा राती एक÷दुई बजेर सुतेर बिहान १०/११ बजे उठ्ने गर्दा यसले अनिन्द्राको समस्या बढेको छ ।”, उनी भन्छन्, “मोबाइलको लतले रुचि कमी हुने, एन्जाइटी, एक्लोपनको महसुस, डिप्रेसन लगायतका लक्षणहरू देखिन्छन् ।”
मोबाइल तथा इन्टरनेटको लत लागेका बालबालिकाहरू स्कुल जान नमान्ने, थकान महसुस गर्ने, दिएको गृहकार्य गर्न नसक्ने तथा मोबाइल देखाएर खाना खुवाउँदा तौल बढ्ने गरेको उनी बताउँछन् । मोबाइलको लत लागेकाहरू छिटो रिसाउने, परिवारसँग घुलमिल हुन नखोज्ने, निर्णय लिन नसक्ने तथा सामाजिक सञ्जालको देखासिकी गर्दा गम्भीर मानसिक समस्या निम्तने जोखिम बढेको डा. पाण्डे बताउँछन् । सानातिना कुराहरूका लागि पनि इन्टरनेटको प्रयोग गर्दा व्यक्तिको बौद्धिक क्षमता कमजोर बनेको उनको भनाइ छ । डा. पाण्डे बालबालिका तथा युवाहरूलाई मोबाइल तथा इन्टरनेटको लतबाट छुटाउन खेलकुद, सीप सिकाइ तथा सामाजिक कार्यमा जोड्नुपर्ने सुझाव दिन्छन् ।
सामाजिक सञ्जालले बढाएको साइबर अपराध
सामाजिक सञ्जालले मानिसमा मानसिक समस्या मात्रै नभएर अपराधलाई बढवा गराइदिएको छ । सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगले आपराधिक क्रियाकलापको ट्रेन्ड समेत फेरिएको छ । सामाजिक सञ्जालको प्रयोगबाट चरित्रहत्या, ठगी, धम्की, मानव बेचबिखन, तस्करी, फिरौती तथा साइबर बुलिङका घटनाहरू बढ्दै गइरहेको प्रहरीको भनाइ छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार सामाजिक सञ्जालको कारणको साइबर क्राइमका घट्नाहरु दिनहुँ बढिरहेका छन् ।
साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश प्रसाद साह सामाजिक सञ्जालमा जति प्रयोग कर्ता थपिँदै गएका छन्, त्यति नै साइबर अपराधको जोखिम बढेको बताउँछन् । पछिल्लो समय युवा–युवतीहरू नै बढी साइबर अपराधमा जोडिने गरेको उनी बताउँछन् । “सामाजिक सञ्जालमा जति प्रयोग कर्ता थपिँदै गएका छन्, त्यति नै साइबर अपराधको जोखिम बढेको छ । पछिल्लो समय युवा–युवतीहरू नै बढी साइबर अपराधमा जोडिने गरेको पाइएको छ ।”, उनी भन्छन् ।
विद्यालय शिक्षामा सामाजिक सञ्जाल र साइबर अपराधसम्बन्धी पाठ्यक्रममा समावेश नहुँदा कोही जानिजानी वा कोही अपराध हो भन्ने थाहा नपाएरै साइबर अपराधमा मुछिने गरेको डिएसपी साह बताउँछन् । उनले भने, “हाम्रो विद्यालय शिक्षामा सामाजिक सञ्जाल र साइबर अपराधसम्बन्धी पाठ्यक्रम समावेश छैन, जसले गर्दा कोही जानिजानी वा कोही यसो गरे अपराध हुन्छ भन्ने थाहा नपाएरै साइबर अपराधमा मुछिने गरेका छन् ।”
प्रहरीको साइवर ब्युरोको अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०८१ को माघ ७ गतेसम्म ४९ हजार सात सय १७ वटा निवेदन प्राप्त भएका भएका छन् । जसमध्ये हालसम्म पाँच सय ३३ वटा उजुरी दर्ता भएका छन् । उजुरी दिनेहरूमा महिला सबैभन्दा बढी २३ हजार ५७, पुरुष २२ हजार ९०६, बालिका एक हजार १९३, बालक ५२९ र अन्य एक हजार ९३४ रहेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा तीन सय ५७ वटा उजुरी परेका थिए । उजुरी दिनेहरूमा महिला सबैभन्दा बढी १९४, पुरुष १५३ र बालिका १० जना थिए । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा दुई हजार तीन सय एक उजुरी परेकोमा ५० वटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा तीन हजार ९०६ उजुरी परेकोमा ७६ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ६ सय ८६ उजुरी दर्ता हुँदा एक सय ३२ वटा मुद्दा दर्ता भएका थिए ।
त्यसै गरी, आर्थिक वर्ष २०७९/०८० मा ९ हजार १३ उजुरी पर्दा एक सय २७ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार ७३० उजुरी पर्दा एक सय तीन वटा मुद्दा भएका थिए । चालु आर्थिक वर्ष २०८१/०८२ मा हालसम्म ९ हजार ७२५ वटा उजुरी परेका छन् भने ४५ वटा मुद्दा दर्ता भएका छन् ।
साइबर अपराधको जोखिमबाट कसरी सुरक्षित रहने ?
सूचना प्रविधिको विकाससँगै साइबर अपराधको जोखिम पनि बढ्दै गएको छ । ह्याकरहरूले विभिन्न तरिकाबाट व्यक्तिगत तथा वित्तीय जानकारी चोरी गर्ने, सामाजिक सञ्जालमार्फत ब्ल्याक मेल गर्ने तथा अनलाइन ठगी गर्ने क्रम बढ्दै गएका छन् ।
अनलाइन सुरक्षाका लागि सचेतना र सावधानी अत्यन्त आवश्यक रहेको साइबर सुरक्षा विज्ञ यास्मिन भट्टराई बताउँछिन् । साइबर सुरक्षा विज्ञ भट्टराई कुनै अफर, जागिर, पुरस्कार वा उपहारको प्रलोभनमा परी जथाभाबी लिङ्कहरू क्लिक गर्न नहुने बताउँछिन् । उनी आफ्ना सामाजिक सञ्जाल तथा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूको पासवर्ड बलियो राख्ने, फ्री वाई फाइ प्रयोग नगर्न सुझाव दिन्छिन् ।
साइबर बुलिङबाट जोगिन सामाजिक सञ्जालमा नचिनेको मान्छेहरूलाई साथी नबनाउने, नचिनेको व्यक्तिसँग कुरा नगर्ने, सामाजिक सञ्जालमा राखिएका पोस्टहरूलाई प्राइभेटमा राख्ने लगायतको उनको सुझाव छ । साइबर अपराधबाट जोगिन सचेतनाको आवश्यक रहेको उनी बताउँछिन् ।