अमेरिकामा आजदेखि ट्याक्स फाइल गर्न सकिने, छिटो रिफण्ड लिने तरिका र जान्नैपर्ने परिवर्तनहरु
प्रकाशित मिति : माघ १४, २०८१ सोमबार
Photo by Karolina Grabowska on Pexels.com
अमेरिकामा जनवरी २७ देखि ट्याक्स फाइल गर्न सकिनेछ । आगामी अप्रिल १५ सम्म डेडलाइन तोकिएकोमा उक्त अवधिसम्म १४० मिलियन भन्दा बढी ट्याक्स फाइल हुने आईआरएसको अपेक्षा रहेको छ । आईआरएसले गत वर्षको प्रत्यक्ष फाइल कार्यक्रमको सुविधाहरू र उपलब्धता पनि विस्तार गरेको छ। यस वर्ष प्रत्यक्ष फाइल २५ राज्यहरूमा करदाताहरूलाई जनवरी २७ देखि उपलब्ध हुनेछ।
आईआरएसले अधिकांश रिफण्ड २१ दिन भन्दा कममा जारी हुने अपेक्षा गरेको छ । छिटो रिफण्ड लिनका लागि दुईवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो, फाइलिङको २१ दिन भित्र रिफण्ड प्राप्त गर्नको लागि आईआरएसले ट्याक्स रिटर्न इलेक्ट्रोनिक रूपमा फाइल गर्न सुझाव दिएको छ ।
दोश्रो, रकम डिपोजिटका लागि बैंक एकाउन्ट दिन सुझाव दिएको छ । कागजी रुपमा फाइल गरिएको र डिपोजिटका लागि बैंक एकाउन्ट दिइएको सन्दर्भमा अनलाइनबाट फाइल गरिएका र डिपोजिटका लागि बैंक एकाउन्ट दिइएको तुलनामा ढिलो रिफण्ड प्राप्त हुन्छ ।
त्यस्तै कागजी रुपमा फाइल गरिएका र रिफण्ड चेक हुलाकमार्फत मगाउनेहरुका सन्दर्भमा सबैभन्दा ढिलो हुन्छ । यद्यपि आईआरएसले केही रिफण्डमा अतिरिक्त समीक्षा आवश्यक हुन सक्ने र यदि प्रणालीहरूले कुनै त्रुटिहरू पहिचान गरेमा प्रशोधन गर्न लामो समय लाग्न सक्ने चेतावनी दिएको छ । यदि रिटर्नमा गल्तीहरू भएमा प्रणालीले चोरी वा धोखाधडीको शंका गर्दछ। आगामी ट्याक्स फाइल गर्दा केही नियमहरुमा महत्वपूर्ण परिवर्तन भएका छन्, त्यसबारे थाहा पाउँदा ट्याक्स फाइल गर्ने व्यक्तिलाई फाइदा नै हुन्छ ।

करको नयाँ दर
आईआरएसले सन् २०२४ का लागि सार्वजनिक गरेको करको दरमा आईआरएसले मुद्रास्फीति समायोजन प्रदान गरेको छ । सन् २०२४ को आम्दानीमा नयाँ करको दर लागु हुनेछ, जसको ट्याक्स फाइल २०२५ मा हुनेछ । कम आम्दानी हुनेहरुले कम प्रतिशत र बढी आम्दानी हुनेहरुले बढीप्रतिशत कर तिर्नुपर्ने गरी करको दर निर्धारण गरिएको हुन्छ । यस्ता करका दरहरु हरेक बर्ष परिवर्तन हुने गर्छन् ।
कर वर्ष २०२४ का लागि, उच्चतम कर दर ३७% कायम गरिएको छ। यो दर व्यक्तिगत अविवाहित करदाताहरूका लागि ६०९,३५० डलर भन्दा बढी आम्दानीमा लागू हुन्छ, भने संयुक्त रूपमा कर फाइल गर्ने विवाहित जोडीहरूका लागि यो सीमा ७३१,२०० डलर रहेको छ।
अन्य कर दरहरू निम्नानुसार छन्: ३५% दर २४३,७२५ डलर भन्दा बढी आम्दानी भएका व्यक्तिहरूका लागि लागू हुन्छ, भने संयुक्त रूपमा कर फाइल गर्ने विवाहित जोडीहरूको लागि यो सीमा ४८७,४५० डलर रहेको छ। ३२% दर १९१,९५० डलर भन्दा बढी आम्दानी भएका व्यक्तिहरूमा लागु हुनेछ, जसको लागि विवाहित जोडीहरूको संयुक्त सीमा ३८३,९०० डलर रहेको छ।
त्यसैगरी, २४% कर दर १००,५२५ डलर भन्दा बढी आम्दानी भएका व्यक्तिहरूमा लागु हुनेछ, भने विवाहित जोडीहरूको लागि यो सीमा २०१,०५० डलर रहेको छ। २२% दर ४७,१५० डलर भन्दा बढी आम्दानी भएका व्यक्तिहरूका लागि लागू हुनेछ, जसको संयुक्त सीमा ९४,३०० डलर रहेको छ। १२% कर दर ११,६०० डलर भन्दा बढी आम्दानी भएका व्यक्तिहरूमा लागू हुनेछ, भने विवाहित जोडीहरूको लागि यो सीमा २३,२०० डलर रहेको छ।
सबैभन्दा न्यूनतम कर दर १०% कायम गरिएको छ। यो दर अविवाहित व्यक्तिहरूको ११,६०० डलर वा सोभन्दा कम आम्दानीमा लागू हुन्छ, भने संयुक्त रूपमा कर फाइल गर्ने विवाहित जोडीहरूको लागि यो सीमा २३,२०० डलर रहेको छ।
अमेरिकामा करको दर सिमान्तकृत रुपमा हिसाब गरिन्छ । अर्थात् तपाईको आम्दानीको सुरुको डलरको तुलनामा पछिल्लो डलरको कर बढी तिर्नुपर्छ । योग्य ट्याक्स क्रेडिटहरु दावी गरेर तपाई करको कम दरभित्र पर्न सक्नुहुनेछ ।

आम्दानीको १४,६०० डलरसम्म घटाएर कम कर तिर्न सकिने
कर वर्ष २०२४ को लागि आईआरएसबाट महत्त्वपूर्ण मुद्रास्फीति समायोजन गरेको छ । यसपटक फाइल गरिने ट्याक्सका लागि स्टाण्डर्ड डिडक्सनको रकम बढाइएको छ । धेरै व्यक्तिले कर फाइल गर्दा आइटमाइज डिडक्सन गर्नुको साटो स्टाण्डर्ड डिडक्सन गरेर आफ्नो कर योग्य आय कम गर्छन् । २०२५ मा कर फाइल गरिने कर वर्ष २०२७ को लागि स्टाण्डर्ड डिडक्सन सबै करदाताहरुका लागि बढेको छ ।
संयुक्त रूपमा फाइल गर्ने विवाहित जोडीहरूले २९ हजार २ सय डलरसम्म स्टाण्डर्ड डिडक्सन अन्तरगत घटाएर कर योग्य आय कम गर्न सक्नेछन् । त्यस्तै एकल व्यक्तिले १४ हजार ६ सय डलरसम्म स्टाण्डर्ड डिडक्सन अन्तरगत घटाएर कर योग्य आय कम गर्न सक्नेछन् । घरमूलीको हकमा २१ हजार ९ सय डलरसम्म स्टाण्डर्ड डिडक्सन अन्तरगत घटाउन सकिनेछ ।
अर्नड इन्कम ट्याक्स क्रेडिट
अर्नड इन्कम ट्याक्स क्रेडिटले धेरै कम देखि मध्यम आय भएका कामदारहरू र परिवारहरूलाई उनीहरूले तिर्नुपर्ने करहरू घटाउन र केही अवस्थामा तिनीहरूको फिर्ती बढाउन मद्दत गर्छ। क्रेडिट निर्धारण गर्न आय र बच्चाहरू जस्ता धेरै कारकहरू प्रयोग गरिन्छ, तर बच्चा नभएका मानिसहरू अझै पनि योग्य हुन सक्छन्। अर्नड इन्कम ट्याक्स क्रेडिट मा यस वर्षको लागि मुद्रास्फीति समायोजन पनि हुनेछ, त्यसैले तपाईले अर्नड इन्मक ट्याक्स क्रेडिट अन्तरगतको रकम अलि बढी बनाउन सक्नुहुन्छ र अझै पनि रिफण्डको राम्रो रकम पाउन सक्नुहुनेछ ।
तीन वा सोभन्दा बढी योग्य बच्चाहरू भएका परिवारहरूका लागि अनुमति दिइएको अधिकतम क्रेडिट २०२३ मा ७,४३० बाट यस वर्ष ७,८३० पुग्नेछ। गत बर्ष ट्याक्स फाइल गर्नेहरुले १७ हजार ६ सय ४० भन्दा कम आम्दानी भएका एकलले अर्नड इन्कम ट्याक्स क्रेडिट अन्तरगत ६०० डलर क्रेडिट पाएकोमा यसपटक १८ हजार ५ सय ९१ भन्दा कम आम्दानी भएका एकलले ६ सय ३० डलर क्रेडिट पाउनेछन् ।

विदेशमा कमाएको रकममा करछुट
त्यस्तै ट्याक्स बर्ष २०२४ का लागि अन्य केही महत्वपूर्ण परिवर्तनहरु पनि गरिएका छन् । जस्तै २०२३ मा विदेशमा कमाएको १ लाख २० हजार डलरसम्मको रकममा कर तिर्न नपर्ने व्यस्था रहेकोमा करबर्ष २०२४ मा १ लाख २६ हजार ५ सय डलर सम्मको रकममा कर तिर्नुपर्नेछैन । अर्थात् यसपटक कर फाइल गर्नेले १ लाख २६ हजार ५ सय डलर सम्म विदेशमा गरेको आम्दानीमा अमेरिकामा कर छुट पाउनेछन् ।
१२ महिनाको अवधिमा कम्तीमा ३३० दिन बसेको व्यक्तिले विदेशमा कमाएको रकममा कर छुट प्राप्त गर्नेछन् । त्यसका लागि कुनै बर्षको १२ महिना हुन आवश्यक छैन, दुईबर्षको १२ महिनापनि हुनसक्छ । उदाहरणका लागि २०२३ को जुन महिनादेखि २०२४ को जुन महिनासम्म १२ महिनाको अवधिमा ३३० दिनभन्दा बढी अमेरिकाबाहिर बसेको भएतापनि यो रकम २०२३ र २०२४ को ट्याक्समा छुट पाउन सकिन्छ ।
यदि कुनै कारणवश अमेरिकामा १२ महिनाको अवधिमा ३४ दिनभन्दा बढी बस्नु परेको खण्डमा भने विदेशमा कमाएको आम्दानीको ट्याक्स तिर्न नपर्ने छुट गुम्न सक्छ । विदेशमा कमाएको आम्दानीमा छुट पाउनका लागि उक्त देशमा बैध रुपमा काम गर्ने अधिकारप्राप्त हुनुपर्छ ।
पूर्ण ट्याक्स बर्षलाई प्रतिनिधित्व गर्ने निर्वाध अवधिसम्म कुनै विदेशी मुलुकको वास्तविक निवासी रहेको अमेरिकी नागरिकले पनि विदेशमा गरेको आम्दानीमा कर छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै अमेरिकाको आयकर सम्बन्धि सन्धी सम्झौता भएको मुलुकको नागरिक अमेरिकाको बासिन्दा भएको खण्डमा पनि उसले विदेशमा कमाएको आम्दानीमा करछुट हुनसक्छ । तर त्यो व्यक्ति पूर्ण ट्याक्स बर्षलाई प्रतिनिधित्व गर्ने निर्वाध अवधिसम्म विदेशी मुलुकमा बसेको हुनुपर्छ ।
सन् २०१९ मा १ लाख ५ हजार ९ सय डलरसम्म र सन् २०२० मा १ लाख ७ हजार ६ सय डलरसम्म विदेशमा कमाएको आम्दानीमा छुटको प्रावधान रहेको थियो । त्यस्तै २०२१ मा १ लाख ८ हजार ७ सयको थ्रेसहोल्ड रहेकोमा २०२२ का लागि १ लाख १२ हजारसम्म विदेशमा कमाएको आम्दानीमा छुटको प्रावधान रहेको थियो ।
त्यस्तै उपहारहरूको लागि वार्षिक छुट गत वर्ष १७ हजार रहेकोमा यसपटक बढेर १८ हजार पुगेको छ ।






