“नेपाली अध्यागमनमा उडान अघि यात्रुको सूचना आदानप्रदान गर्ने प्रणाली लागु गर्ने तयारीमा छौं”


प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

नेपालको अध्यागमनले यात्रुहरू विमानमा चढ्नु अगाडि नै उनीहरूको सूचना आदानप्रदान गर्ने एपीआईएस प्रणाली लागू गर्ने तयारी गरिरहेको छ। एपीआईएसले सबै यात्रुहरू र चालक दलका सदस्यहरूको जानकारी आगमन पूर्व र प्रस्थान अघि अधिकारीहरूलाई प्रदान गरेर सीमा सुरक्षा बढाउँछ।

एपीआईएस प्रणाली के हो? अहिले कुन चरणमा रहेको छ? यसबारे अध्यागमन विभाग, सूचना प्रविधि शाखाका निर्देशक अनुप न्यौपानेसँगको कुराकानी।

एड्भान्स प्यासेन्जर इन्फर्मेसन सिस्टम (एपीआईएस) प्रणाली भनेको के हो? यसले कसरी काम गर्छ?

अध्यागमन प्रशासनको मुख्य जिम्मेवारी अन्तर्राष्ट्रिय यात्रुहरूको आगमन र प्रस्थानलाई व्यवस्थापन गर्नु हो। तर, त्यो जिम्मेवारीसँग यात्रुको सुरक्षा र सीमा क्षेत्रको सुरक्षा पनि जोडिएको हुन्छ। यही सुरक्षासँग जोडिएको प्रणाली हो ‘एड्भान्स प्यासेन्जर इन्फर्मेसन सिस्टम (एपीआईएस)।’ यात्रुहरू बोर्डिङ हुनु पूर्व नै उनीहरूको सूचना सम्बन्धित सीमा नियन्त्रण निकाय (बोर्डर कन्ट्रोल अथोरिटी) समक्ष आइपुग्छ, जसको आधारमा सुरक्षाको जोखिम के हुन सक्छ भन्ने सम्भावनाको पहिचान गर्न सकिन्छ।
जोखिमको सम्भावना देखिएका यात्रुहरूलाई कसरी नियन्त्रण गर्ने वा जोखिम न्यूनिकरण गर्न सकिन्छ भन्ने कुराको तयारी गर्न सकिन्छ। यो सूचना प्रविधिसँग सम्बन्धित एक महत्वपूर्ण प्रणाली हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो प्रणाली कहाँ-कहाँ लागू भएको छ? के नेपालमा ढिलो भएको हो?

वास्तवमा, ढिलो भन्दा पनि हामी तयारीको चरणमा छौं। हामी ‘रेडी’ भइरहेका छौं। अध्यागमन प्रक्रियालाई व्यवस्थित तथा व्यवस्थापन गर्ने आधारभूत प्रणाली ‘नेपाली पोर्ट’ हाल सञ्चालनमा रहेको छ। यसलाई परिपक्व बनाउन आवश्यक सुविधाहरू समयसमयमा थप्दै लगिएका छौं।

अध्यागमनको दैनिक कार्य सञ्चालनका लागि आवश्यक प्रणाली नै परिपक्व भइसकेको अवस्थामा मात्र एड्भान्स प्रणाली (एपीआईएस) लागू गर्न सकिन्छ। किनभने, एपीआईएस प्रणाली हाम्रो आधारभूत प्रणालीसँग एकीकृत (इन्टिग्रेट) भएर काम गर्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा ‘नेपाली पोर्ट’ एक परिपक्व चरणमा पुगेको छ, त्यसैले एपीआईएस प्रणाली लागू गर्ने तयारी भइरहेको छ।

यो प्रणाली लागू गर्नु अन्तर्राष्ट्रिय मापदण्ड पनि हो। किनभने, अन्तर्राष्ट्रिय यात्रुसँग सम्बन्धित मापदण्डहरूमध्ये एपीआईएस पनि एक हो।

अध्यागमन विभाग, सूचना प्रविधि शाखाका निर्देशक अनुप न्यौपाने

यो प्रणाली लागू गर्दा कत्तिको चुनौती छ?

प्राविधिक रूपमा यो प्रणाली लागू गर्न कुनै ठूलो चुनौती छैन। तर, कार्यान्वयनको सुरुवाती चरणमा केही चुनौती आउन सक्छ। एकपटक प्रणाली लागू भइसकेपछि नियमित रूपमा सञ्चालन र मर्मत सम्भार (मेन्टेनेन्स) गर्दै लैजान सकिन्छ। अभ्यास गर्दै जाँदा कार्यान्वयन सहज हुँदै जान्छ। त्यसैले, यो प्रणाली सञ्चालनमा ल्याउन ठूला चुनौतीहरू देखिन्न।

अपराधी नियन्त्रणमा यो प्रणालीको भूमिका कस्तो हुन्छ?

अन्तर्राष्ट्रिय आवागमनको क्रममा कस्ता व्यक्ति आवतजावत गर्छन् भन्ने सम्बन्धमा हरेक राष्ट्रसँग आफ्नै गुप्तचर (इन्टेलिजेन्स) जानकारी हुन्छ। नेपालमा पनि यो प्रणाली रहेको छ। तर, नेपालमा आउने विदेशी तथा नेपालबाट जाने यात्रुहरूको विस्तृत सूचना केवल हाम्रो इन्टेलिजेन्स प्रणालीबाट मात्र पर्याप्त नहुन सक्छ। यस्तो अवस्थामा अन्य अन्तर्राष्ट्रिय निकायहरूसँग सूचना आदानप्रदान गर्न आवश्यक हुन्छ।

एपीआईएस प्रणालीमार्फत यात्रुको सुरक्षा जोखिम पहिचान गर्न सकिन्छ। यदि कुनै यात्रु असुरक्षित देखिएमा, उडान पूर्व नै नियन्त्रण गर्न सकिन्छ। यदि उनीहरू उडान भइसकेका छन् भने अध्यागमन विन्दुमा नियन्त्रणमा लिन सकिन्छ। यदि कोही व्यक्ति आपराधिक पृष्ठभूमिको छ भने, उसलाई नेपालबाट बाहिर जान नदिने वा नेपाल प्रवेश गर्न नदिने निर्णय गर्न सकिन्छ।

यात्रु विवरणको स्रोत के हो?

एपीआईएस अध्यागमन वा सीमा नियन्त्रण निकायले सञ्चालन गर्ने प्रणाली होइन। यो सेवा प्रवाहकर्ताहरू (सर्भिस प्रोभाइडर) द्वारा सञ्चालित हुन्छ। उदाहरणका लागि, यात्रुले टिकट बुकिङ एयरलाइन्समार्फत गर्छन्। यात्रुहरूले चेक-इन गर्दा एयरलाइन्स आफ्नो प्रणालीमा यात्रुको विवरण प्रविष्ट गर्छन्।

उक्त विवरण उडान अघि सम्बन्धित देशको सीमा नियन्त्रण निकायलाई पठाइन्छ। प्राप्त विवरण अध्यागमन, इन्टरपोल तथा वाचलिस्टसँग तुलना गरिन्छ, जसका आधारमा यात्रुहरूको पहिचान र सम्भावित जोखिम विश्लेषण गर्न सकिन्छ।

ओभरस्टे (भीसा अवधि नाघ्ने) यात्रुहरूमाथि नियन्त्रण कस्तो छ?

अहिले पनि, कुनै यात्रुको भीसा अवधि सकिएमा अध्यागमन विन्दुमा पासपोर्ट स्क्यान गर्दा प्रणालीले अलर्ट देखाउने गर्छ। हाम्रो ‘नेपाली पोर्ट’ प्रणालीमार्फत यात्रुको पासपोर्ट, भिसा तथा इन्टरपोल सूची जाँच गरिन्छ। यदि कुनै यात्रुको भिसा अवधि सकिएको देखिएमा, उनीहरूलाई रोक्न सकिन्छ।

एपीआईएस लागू भएपछि यो प्रक्रिया अझ प्रभावकारी हुनेछ, किनभने यात्रुहरू उडान गर्नुअघि नै उनीहरूको विस्तृत विवरण अध्यागमन अधिकारीहरूसँग उपलब्ध हुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com