ममता हत्या अभियोगमा नरेशविरुद्धको मुद्दाको सुनुवाइ २०२५ सेप्टेम्बरमा, १६ दिन चल्ने अपेक्षा
प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार
गत जुलाईदेखि बेपत्ता भर्जिनियाको मानसास पार्ककी नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा हिराशतमा रहेका पति नरेश भट्टविरुद्धको मुद्दाको अन्तिम सुनुवाई अब सन् २०२५ को सेप्टेम्बरमा हुने भएको छ । यो मुद्दाको सुनुवाई डिसेम्बर ९ मा हुने तय भएतापनि बुधबार प्रिन्स विलियम काउन्टीका न्यायाधीशले यो मुद्दाको सुनुवाई पछि सारेको फैसला सुनाएका हुन् । यस हप्ता ग्रयाण्ड जूरीले उनी विरुद्ध थप गम्भीर अभियोगहरु लगाएपछि मुद्दाको सुनुवाई पछि सारिएको हो ।
यसअगाडि नरेश भट्टविरुद्ध शव लुकाएको अभियोगमात्र लगाइएको भएतापनि जुरीले यसै साता उनी विरुद्ध पहिलो डिग्री हत्याको अभियोग लगाएको छ । भट्टलाई अपराधिक हत्या र शवलाई शारीरिक रूपमा छेडखानी गरेको अभियोग लगाइएको अदालतका कागजातहरूमा उल्लेख गरिएको छ । उक्त अभियोग बुधबार अदालतमा पढेर सुनाइएको थियो । प्रहरीले गत महिना घरभित्र प्राप्त रगत ममताकै भएको डीएनए प्रमाणले पुष्टी गरेको बताएपछि भट्टविरुद्ध हत्या अभियोग लगाइएको हो ।
अब न्यायाधीशले उनीमाथि लगाइएका तीनवटै अभियोगलाई एउटै मुद्दामा समावेश गर्ने निर्णय गरेका छन् । जसले गर्दा कारबाही पछाडि धकेलिएको छ भने वकिलहरूलाई उनीहरूको मुद्दा तयार गर्न थप समय प्राप्त भएको छ । भट्टलाई अब मार्चमा अदालतमा हाजिर गराइने अदालतको अनलाइन रेकर्डमा उल्लेख छ । सन् २०२५ को सेप्टेम्बरको लागि निर्धारित सुनुवाई १६ दिनसम्म चल्ने अपेक्षा गरिएको छ ।

भर्जिनियामा फर्स्ट डिग्री हत्यामा दोषी ठहर भएमा गम्भीर आपराधिक दण्डको सामना गर्नुपर्छ । फर्स्ट डिग्री हत्या भर्जिनियाको कमनवेल्थमा दोश्रो श्रेणीको सबैभन्दा ठूलो अपराध हो। जसमा दोषी ठहर भएमा आजीवन जेल सजाय र १ लाख डलरसम्म जरिवाना हुनसक्छ ।
३७ वर्षीय नरेश भट्टलाई प्रिन्स विलियम काउन्टी जेलमा अगस्त २२ देखि विना धरौटी राखिएको छ । नरेश भट्टले आफ्नो मुद्दाको सुनुवाई जतिसक्दो चाँडो सकाउने प्रयास गरिरहेका छन् ।
प्रहरीले ममता काफ्ले भट्टको शव वा हत्या गरेको हतियार अझै फेला पार्न सकेको छैन । तर अदालतको कागजात अनुसार नरेश भट्टले ममताको हत्या गरी शव लुकाएको विश्वास गरिएको छ । जघन्य हत्याको लागि प्रत्यक्ष अभियोगमा नरेश भट्टलाई जुलाई २९ र अगस्ट २ बीच ममता काफ्ले भट्टको हत्या जानीजानी र योजनावद्ध तरिकाले गरेको आरोप लगाइएको छ।
अघिल्लो अदालतको सुनुवाइको क्रममा अभियोजकहरूले सेलफोन डाटा, भिडियो क्यामेरा, उनको टेस्लाबाट निकालिएको जीपीएस डाटा र लाइसेन्स प्लेट रिडरहरूबाट सङ्कलन गरिएका प्रमाणहरू प्रस्तुत गरे का थिए । जसमा नरेश भट्टले ठूला रद्दीका टोकरीका झोलाहरूमा भएका वस्तुहरू फ्याक्न फोहोर फ्याक्ने स्थानमा यात्रा गरेका थिए।





