परमाणु क्षतिको तयारी कति ?


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

विश्वमा परमाणु हतियारबारे चर्चा परिचर्चा चलिरहेको छ । तर बेलायती सरकारले निर्माण गरेको ‘पिन्डार’ नामक भूमिगत बंकरबारे केही तथ्यहरूको खुलासा भएको छ । लन्डनको बीच भागमा रहेको ‘पिन्डार’ प्राचीन ग्रिक कविको नाममा राखिएको हो ।

३३५ बीसीमा ‘एलेक्जेन्डर दी ग्रेट’ ले नाइल नदीको किनारमा रहेको थेबेस सहरमा आक्रमण गरेका थिए । सहरका सबैजसो संरचना क्षतिग्रस्त भए पनि आक्रमणमा ‘पिन्डार हाउस’ भने केही भएन । यदि लन्डन सहर केही गरी परमाणु आक्रमणमा ध्वस्त भए भने पनि ‘पिन्डार’ सुरक्षित हुने विश्वास अधिकारीहरूको छ । तर भवन विशेष किसिमले बनाइएको बारे भने अधिकारीले केही बताएनन् । हालसम्म आधुनिक पिन्डारबारे निकै कम मात्र फोटा सार्वजनिक गरिएका छन् । ती फोटा पनि बेलायती रक्षा मन्त्रालयले ‘पिन्डार’ निर्माण भएको निश्चित गरेपछि सूचनाको हकको आग्रहअनुसार सार्वजनिक भएका थिए ।

उच्च सुरक्षासहितको पिन्डारका कारण सरकारको निरन्तरता भए पनि सर्वसाधारणको सुरक्षाको अवस्थाबारे भने सञ्चारमाध्यमले आलोचना गरेका छन् । अमेरिकाको न्युजर्सिस्थित स्टेभेन इन्स्टिच्युट अफ टेक्नोलजीका एलेक्स वेलरस्टिनले सरकारको निरन्तरताबारे भने, ‘मलाई कुनै अभिरुचि छैन, यो तिनीहरूको समस्याको विषय हो ।’

वेलरस्टिनले हालसालै नागरिक रक्षासम्बन्धी एक परियोजनामा संलग्न थिए । परियोजनाले सैनिक आक्रमण वा प्राकृतिक प्रकोपबाट सर्वसाधारणलाई सुरक्षित हुने तरिका सिकाउँछ ।

शीतयुद्धताका नागरिक सुरक्षाका विषयमा निकै चर्चा हुने गर्दथ्यो । ‘हामीले बम आक्रमण वा त्यसको प्रभावबारे कुरा गर्दैनौं, त्यो परिवर्तन हुन जरुरी भइसक्यो,’ वेलरस्टिनले भने ।

हाल विश्वमा करिब १५ हजार परमाणु हतियारहरू छन् । तीमध्ये धेरैजसो अमेरिका र रूससँग रहेका छन् । हालैका दिनमा अमेरिका र रूसबीच तनाब बढ्दो छ । हालै ती देशका राष्ट्रपतिहरूले उनीहरूबीचको सम्बन्ध इतिहासकै खराब अवस्थामा पुगेकोमा सहमत भएका थिए ।

वेलरस्टिनको एक परियोजना ‘न्युकम्याप’ (जुन गुगल म्यापको विस्तारित रूप) ले प्रयोगकर्तालाई विश्वको कुनै पनि स्थानको परमाणु हतियारको प्रभावबारे जानकारी दिन्छ ।

उत्तर कोरियाको परमाणु बमको बढ्दो त्रासदीबीच केही देश तथा समुदायले यसबारे तयारी सुरु गरिसकेका छन् । जापानका गाउँलेहरूले परमाणु हतियार आक्रमण भएको जानकारी दिने व्यवस्था विकसित गरेका छन् ।

अमेरिकाको हवाई राज्यमा परमाणु हतियार विस्फोट भएमा केके गर्ने भन्ने निर्देशिका सार्वजनिक गरेको छ । त्यसैगरी, उत्तर कोरियाले आक्रमण गर्ने चेतावनी दिएको अमेरिकी भूभाग गुआममा पनि परमाणु हतियारको विकिरणसँग कसरी बँच्ने वा क्षति न्यूनीकरण गर्न सर्वसाधारणलाई जानकारी दिइएको छ । सन् १९८० को दशकमा बेलायतले नागरिक लक्षित तयारी विविध कार्यक्रम चलाएको थियो । वेलायतमा हाल ‘विकिरण नियमन’ अन्तर्गत केही प्रयासहरू भने भएका छन् । पोर्टसमाउथ र साउथ्याम्टनमा परमाणु हतियारको सूचना दिन सक्ने संयन्त्र विकसित गरिएको छ । अन्तर्राष्ट्रिय रेडक्रसले परमाणु हतियार तथा अन्य प्रकोपबारे तुरुन्त आवश्यक सहयोग गर्ने जनाएको छ ।

‘प्रभावित स्थानमा आक्रमणको केही क्षणपछि भने केही गर्न सकिने अवस्था छैन ।’ रेडक्रसका अधिकारी भन्छन्, ‘यदि वास्तवमा युद्ध नै भयो भने सीमा बन्द गर्ने, उडानहरू बन्द गर्ने र मानवीय सहयोगका लागि आग्रह गर्नुको विकल्प हुन्न ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com