चीनसँग जोडिएका नयाँ नाका खोल्न चिनियाँ पक्ष सकारात्मक


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

नेपाल र चीनबीच अरनिको राजमार्ग सुचारु गर्ने र केरुङलगायतका नाकाको स्तरोन्नति गर्ने सहमति भएको छ ।

साताब्यापी चीन भ्रमणमा बेइजिङ पुगेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर र चिनिया विदेशमन्त्री वाङ यीबीचको भेटवार्तामा सहमति भएको हो । दुई देशका उच्च अधिकारीसहित चिनियां विदेशमन्त्रालयमा बिहीबार भएको भेटमा नेपाल चीनसम्बन्धका विभिन्न पक्षहरुमाथी छलफल भएको थियो । दुवै देशका परराष्ट्रमन्त्रीबीच नेपाल चीनसम्बन्धलाई अझ नयाँ उचाईमा पुर्‍याउने विषयमा समेत समझदारी भएको छ ।

परराष्ट्रमन्त्री महराले भेटमा नेपाल एक चीन नीतिको पक्षमा सधै उभिएको भन्दै चीनको छिमेकी मुलुकसंग राख्ने नीतिको समेत प्रशंसा गरेका थिए । भेटपछि बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा दुवै देशका विदेशमन्त्रीको भेटमा भुकम्पपछि बन्द रहेको अरनीको हाईवे सुचारु गर्ने र केरुङसहित अन्य नाकाहरुको स्तरोन्नती गर्न दुबै पक्ष सहमत भएको उल्लेख गरिएको छ । साथै नयाँ नाकाहरुलाई खोल्ने विषयमा समेत दुवै पक्षबीच समझदारी बनेको छ । उपप्रधानमन्त्री महरासंगको छलफलमा उर्जा क्षेत्रमा सहकार्य गर्न दुवै देशका अधिकारी सम्मिलित संयन्त्र बनाउने सहमति पनि भएको छ ।

दुवै देशका अधिकारीबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा दुवै देशका साझा चासोलाई ध्यानमा राखेर सहकार्य गर्ने सहमति पनि बनेको छ । नेपालमा चिनियाँ पर्यटकहरु भित्राउन चीनले सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको छ । परराष्ट्रमन्त्री तहमा भएको भेटमा नेपाल चीन क्रस बोर्डर रेलवे (केरुङ–काठमाडौ–पोखरा–लुम्बिनी) लाइनको फिजिविलीटी अध्ययन गर्ने विषयमा समेत छलफल भएको छ । नेपालको चीनसंग बढिरहेको ब्यापार घाटा कम गर्ने उपायका बारेमा पनि परराष्ट्रमन्त्री महराले चिनिया पक्षको ध्यानआकर्षण गराएका छन् ।

साथै टा्रन्जिट ट्रान्सपोर्ट प्रोटोकल ड्राफ्टका बारेमा पनि दुवै देशका अधिकारीहरुले आ–आफ्नो धारणा राखेका छन् । दुवै देशका परराष्ट्रमन्त्रालयका अधिकारीको छलफलपछि ड्राफ्टलाई अन्तिम रुप दिने सहमति भएको छ । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत मे १७ मा चीन भ्रमणमा जाँदा भएका सम्झौता र चिनिया उपप्रधानमन्त्री वाङ याङको गत महिना भएको नेपाल भ्रमणमा भएका सम्झौतालाई अघि बढाउने विषयमा समेत बैठकमा छलफल भएको छ । दुवै देशका अधिकारीहरु सम्मेलित बैठकमा एक पेटी एक मार्ग, क्रस बोर्डर इकनोमिक जोन, लगानी प्रवद्र्धन र आर्थिक सहकार्य र स्याप्रुवेसी रसुवागढी हाईवेको स्तरोन्नती गर्ने विषयमा पनि छलफल भएको छ ।

परराष्ट्रमन्त्री महराले चीन–नेपालबीचको रेलवे कनेक्टिभिटीको परियोजना राष्ट्रिय गौरवको परियोजना भएको भन्दै यसमा सबै राजनीतिक दलको समर्थन रहेको जानकारी पनि चिनिया पक्षलाई गराएका छन् । महराले आफु सबै दलको समर्थन लिएर चीन भ्रमणमा आएको पनि बैठकमा बताएका थिए । दुवै देशका अधिकारीहरु दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुर्‍याउन नियमित रुपमा उच्चस्तरीय भ्रमण गर्ने र परामर्श संयन्त्र बनाउने विषयमा समेत सहमत भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com