पोर्चुगलमा आप्रवासी नीतिमा कडाईपछि पीआर खोज्ने नेपालीको नजर स्पेनतिर


प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार

flag on pole beside building during day

पोर्चुगल सरकारले आगामी युरोपेली चुनाव अघि आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउने नयाँ योजना घोषणा गरेको छ ।

आप्रवासीहरूले लामो समयदेखि रेसिडेन्सी र अन्य कागजातहरू प्राप्त गर्न गम्भीर ढिलाइ भएको गुनासो गरेका बेला नयाँ योजना ल्याइएको हो । धेरै वर्षदेखि पोर्चुगलमा विभिन्न रूपमा छिर्ने गरेका आप्रवासीहरूले एक वर्षसम्म सामाजिक सुरक्षा कर तिरेपछि आवास अनुमति प्राप्त गर्न निवेदन दिन सक्थे।

गत जुन ३ सोमबार पोर्चुगलको मन्त्रिपरिषद्ले विदेशी पर्यटकहरूलाई वैधानिकीकरण गर्न अनुमति दिने आप्रवासी कानून ५९/२०१७ को धारा ८८, र ८९ लाई खारेज प्रस्तावलाई राष्ट्रपतिले स्वीकृत गरी आधिकारिक राजपत्रमा प्रकाशित गरेको छ । र आगामी महिनाहरूमा “संसदमा (सामान्य) कानूनको संशोधन” हुनेछ।

नवनिर्वाचित प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले नयाँ योजनामा रोजगार सम्झौता गरेर आउनेहरूका लागि भने बाटो खुल्ला रहेको जनाएका छन्, उनले भने ‘हामीलाई पोर्चुगलमा अझ राम्रो र समृद्ध समाज निर्माण गर्न मद्दत गर्न इच्छुक व्यक्तिहरू चाहिन्छ।’

यस्तै प्रधानमन्त्री मोन्टेनेग्रोले भने,  ‘हाल ४ लाख बढी नियमितीकरण प्रक्रियाहरू पेन्डिङ छन्, जुन समस्या सरकारले टास्क फोर्स बनाएर, भर्खरै स्थापित आप्रवासन र सीमा एजेन्सीको पुनर्संरचना र कर्मचारी वृद्धि गरेर समाधान गरिने छ ।’

यस अगाडि आवेदन दिएर बसेका ति सबै ४ लाख आप्रवासीहरूले अस्थायी आवास अनुमति प्राप्त गर्नेछन् तर त्यसपछि अवैध आप्रवासी योजना बारेमा भने प्रधानमन्त्री मोन्टेनेग्रोले केही बताएका छैनन् ।

विपक्षी दलहरूको विरोध

युरोपेली चुनाव अगाडि सरकारले ल्याएको नयाँ आप्रवासी योजनाको लगभग सबै विपक्षी दलहरूले आलोचना गरेका छन् । आप्रवासी विरोधी जनवादी चेगा पोर्चुगल पार्टी र उदारवादी पार्टी इनिसिएटिभा लिबरल  पार्टीले मात्र घोषणा गरिएका नयाँ योजनाहरूबाट खुसी देखिन्छ। ४४ पृष्ठ लामो नयाँ योजना घोषणाको विपक्षमा विरोध प्रर्दशन भएका छन् ।

तर पोर्चुगलको समाजवादी पार्टी (पीएस) का नेता पेड्रो नुनो सान्तोसले योजनालाई “अस्पष्ट” भनेका छन्। उनि भन्छन्भ, ‘विश्वमा अवैध आप्रवासीलाई सम्बोधन नगरि ल्याएको यो नयाँ योजना विरोधाभास रहेको छ। चेगा पार्टीका नेता आन्द्रे भेन्चुराले भने “सरकारका योजनाहरू पर्याप्त मात्रामा नपुगेको अयोग्यता र प्रभावहीनताका साथ राखिएकोले संसदबाट पारित हुने सम्भावना छैन।”

यस्तै ब्लोको डे एस्क्वेर्डा (बीई) पार्टीका नेता मारियाना मोर्टागुआले भन्छन्; नयाँ योजनाले थप अवैध आप्रवासी निम्त्याउँछ।

नजर स्पेनतिर

पोर्चुगल अधिकारीहरूका अनुसार आप्रवासन नयाँ योजना घोषणा भएपनि यहाँ आउने आप्रवासी रोकिएको छैन् ।  तर सेन्जेन भिसा नभएका पासपोर्ट लगायत डकुमेन्ट फ्याँकेर अवैधानिक रुपमा पोर्चुगल आउनेको संख्यामा भने कमी आएको छ । आवासीय अनुमति आवेदन दिने स्थानहरुमा भिड देखिन्छ ।

नयाँ सार्वजनिक योजनापछि पनि पोर्चुगलमा अवैधानिक आप्रवासीको संख्या निरन्तर बढ्ने बताई रहेको बेला प्रधानमन्त्री मोन्टेनेग्रोको भनाई अनुसार नयाँ योजनामा आवेदन दिने प्रक्रिया बन्द भएपनि अवैध आप्रवासीलाई सम्बोधन कार्यक्रम केही समयमा ल्याउने अपेक्षा गरिएको छ । जसमा अन्य युरोपियन देशहरुमा जस्तै अवैध आप्रवासीहरुलाई कानुनी अनुमति लिन २,३ वर्ष लाग्ने सक्नेछ ।

आवासीय अनुमति आवेदन लिन बन्द गर्ने सरकारको घोषणा लगतै नेपालबाट जर्मनी हुँदै लिस्बोनमा आएका राजेन्द्र लामा भन्छन्,  ‘यहाँ वकिलले ढुक्क हुन भनेको छ- ढिलो चाडो पेपर हुन्छ – म त यता आए, म सँगै भारतीय लगायत ४ जना विधार्थी साथीहरु आएका थिए,  उनीहरु अवैध बसेर २/३ वर्षमा रेसिन्डेन्सी लिन सकिने स्पेन, इटली, फ्रान्स, स्विडेन जस्ता सेन्जेन देशहरुमा लागे। पेपर बनाउन २/३ वर्ष लाग्छ भन्ने त थाहा थियो, स्पेन तिर पनि जानु छ एक पटक त्यो –  नगरपालिका रजिस्टर गरेर आउँछु ।’

यस्तै स्पेन लगायतका देशहरुमा अवैधानिक बसेका आप्रवासीले २/३ वर्षमा आवासीय अनुमति लिन सक्छन् । तसर्थ आप्रवासीले अबका दिनमा २/४ वर्ष लगाएर भएपनि कागज बनाउन सकिने देशहरुमा गन्तव्य बनाउने देखिन्छ। जस्तो स्पेनमा आर्राइगो फरमासियनको आधारमा हप्ता, महिनाको छोटो रेस्टुरेन्ट किचन, माछा-मासु काट्ने सिप, कृषि जस्ता तालिम लिएको आधारमा २ वर्ष भित्रमा कागज बनाउन सकिन्छ ।

यस्तै ३ वर्ष गैरकानूनी रुपमा बसेकाले १ वर्षको कामको करारका आधारमा आर्राइगो सोसियलबाट पनि कागज बनाउन सक्छन् । पोर्चुगलमा छोटो समयमा कागज बनाउन सकिन्थ्यो भने अन्य देशहरुमा २/३ वर्ष गैरकानूनी रुपमा बसेर पेपर बनाउदै आएको देखिन्छ । पोर्चुगल, स्पेन लगायतका देशहरुमा गैरकानूनी रुपमा बसेकाहरुलाई कुनै अपराध बाहेक पेपर नभएको आधारमा डिपोर्ट गरेको देखिदैन।

पोर्चुगलको आप्रवासी जनसंख्या पाँच वर्षमा दोब्बर भएको छ, धेरै मानिसहरू एसियाबाट खेतमा र रेस्टुरेन्टहरूमा काम गर्न आएका छन्। पोर्चुगलमा करिब ८००,००० आप्रवासी बस्छन्, जुन एक दशक अघिको तुलनामा झण्डै दोब्बर छ। करिब १४% करदाताहरू आप्रवासी हुन् । जसले २०२२ मा अर्थतन्त्रमा १.६ बिलियन यूरो भन्दा बढी योगदान पुर्‍याइरहेका छन्, जबकि सामाजिक लाभहरूमा लगभग २५७ मिलियन यूरो प्राप्त हुन्छ ।

भारत, पाकिस्तान, श्रीलंका, नेपाल र बंगलादेश जस्ता दक्षिण एसियाली देशहरूका आप्रवासीहरूका लागि पोर्चुगल ईयू देशमा छिटो छरितो स्थायी बसोबास पाईने अन्तिम आशा रहेको देखिन्छ। पोर्चुगल अधिकारीहरूका अनुसार ८६ हजार भन्दा बढी दक्षिण एसियाली नागरिकहरू २०१८ र २०२२ को बीचमा पुरानो मार्ग मार्फत वैध भएका थिए भने कुल आप्रवासी सन् २०१५ मा ३ लाख ८३ हजार ७ सय ५९ को संख्याका रहेकोमा सन् २०२३ सम्म १० लाख ४० हजार पुगेको छ ।

युरोपका २९ वटा शेन्जेन देशहरुमा एकबाट अर्को देशमा यात्रा गर्दा कुनै आन्तरिक सीमा जाँच गरिदैन । निर्वाध आवतजावत छ। तसर्थ एक देशबाट अर्को देशमा घुमफिर गर्ने, रोजगारीको खोजीमा सहज छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com