अमेरिकाले चिनिया विद्युतीय गाडीमा कर बढायो , चीनले पनि अमेरिकी सामानमा कर बढाउन सक्ने संभावना


प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार

अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा १ सय प्रतिशत कर लगाएको छ । चिनियाँ सस्तो सामानले व्यवसायी मर्कामा परेको भन्दै अमेरिकाले कैयौँ सामानमा कर बढाएको बेलायती सञ्चारमाध्यम गार्जियनले जनाएको छ । नयाँ शुल्कअनुसार चीनबाट आयात भएका विद्युतीय गाडीमा १ सय प्रतिशत कर लाग्नेछ ।

चिनियाँ विद्युतीय कार अमेरिकामा लोकप्रिय हुँदा अमेरिकामा उत्पादित कारको बजार खस्किएपछि २५ प्रतिशतबाट बढाएर शतप्रतिशत कर लगाइएको खबरमा उल्लेख छ ।

यस्तै लिथियम ब्याट्रीमा साढे ७ प्रतिशतबाट बढाएर २५ प्रतिशत, सौर्य ऊर्जाका सामानमा २५ प्रतिशतबाट ५० प्रतिशत र विभिन्न चिप्समा २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत कर लाग्ने अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ । यस्तै स्टिल, आल्मुनियम र व्यक्तिगत सुरक्षा उपकरण पीपीईमा शून्यदेखि २५ प्रतिशतसम्म कर बढेको छ ।

चीनमा बनेका विद्युतीय कारसहितका अन्य सस्ता सामानले अमेरिकी ग्राहकको मन जित्दा एकातिर चीनियाँ सामान अमेरिकामा लोकप्रिय हुने र अर्कोतिर अरबौ डलर चीनमा पुग्ने भन्दै कर बढाइएको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

चीनले आफ्नो आन्तरिक अर्थतन्त्रको कमजोरीलाई परिपूर्ति गर्न निर्यात बढाउने विकल्प खोजिरहेको बेलामा अमेरिकाले कर बढाउँदा चीनलाई समस्या पर्न सक्ने देखिएको छ ।

तर चीनसँगको व्यापार लडाइँका कारण सस्तो र रोजाइका सामान प्रयोग गर्न नपाएको भन्दै केही अमेरिकी उपभोक्ताले विरोध गरिसकेका छन् ।

बढाइएको कर ९० दिनपछि लागू हुनेछ । यो बीचमा चीनले पनि जस्तालाई त्यस्तै भन्ने उखानजस्तै अमेरिकी सामानमा कर बढाउन सक्ने अनुमान रहेको खबरमा उल्लेख छ । एजेन्सीहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com