१७ वर्षदेखि न्याय खोजीरहेकी देवीको ‘देवी’


प्रकाशित मिति : बैशाख ११, २०८१ मंगलबार

नेपाल दश वर्ष सम्म चलेको सशस्त्र द्वन्द्व अन्त्यका लागि नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच शान्ति सम्झौता भएको १७ वर्ष पुरा भइसक्दा पनि बलात्कार तथा यौन हिंसामा परेका पीडितहरुले अहिले सम्म पनि न्यायको अनुभूती गर्न पाएका छैनन् । राज्यले स्पष्ट कानून नबाइदिँदा द्वन्द्वमा बलात्कारमा परेका महिलाहरु अहिलेपनि खुल्न पाएका छैनन् । कसैले यी मुद्दा अगाडि बढाउन खोजे पनि समाज र परिवारको डर पनि पीडित महिलाहरु सामु उत्तिकै बाधक बनेको छ । पीडितका माग समेटिएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन बन्दा पीडितहरु झनै पीडित बन्नुपरेको छ ।

देवी खड्का उनै महिला हुन्, जसले द्वन्द्वमा बलात्कारमा परेका महिलालाई न्याय पाउनुपर्छ भन्दै पीडितका पक्षमा पैरवी गरिरहेकी छन् । राज्य र विद्रोहीबाट बलात्कृत र यौनहिंसा पीडित ३ हजार महिलालाई न्यायको अगुवाई गरिरहेकी देवीको जीवनकथामा आधारित देवी डकुमेन्ट्री क्यानडामा हुन लागेको ‛हटडक्स’ फिल्म फेस्टिभलमा पहिलो पटक प्रर्दशन हुन लागको छ । यसैसन्दर्भमा, देवी डकुमेन्ट्रीकी निर्देशक तथा निर्माता सुविना श्रेष्ठसँग उक्त डकुमेन्ट्रीसँग सम्बन्धित रहेर खसोखासले कुराकानी गरेको छ । प्रस्तुत छ, डकुमेन्ट्रीकी निर्देशक तथा निर्माता श्रेष्ठसँग खसोखासले गरेको कुराकानीको सम्पादित अशं :

हटडक्स क्यानडियन इन्टरनेशनल डकुमेन्ट्री फेस्टिभलमा प्रर्दशन गर्न लागिरहेको देवी डकुमेन्ट्रीले के कुरा देखाउन खोजेको छ ?

देवी डकुमेन्ट्रीलाई ‘इमर्सिभ भर्चुअल वास्तविकता’ भनेर भनिन्छ । जो धेरै वर्षसम्म क्यारेक्टरलाई फ्लो गरेर बनाइएको फिल्म हो । यो डकुमेन्ट्री क्यारेक्टरलाई नजिकबाट हेरिएर बनाइएको फिल्म हो । त्यही भएर क्यारेक्टरलाई राम्रोसँग बुझेर, उहाँले गर्नुभएको सानोसानो कुराको एक्सप्रेशनलाई क्यामेरामा कैद गरिएको छ । त्यही भएर यसलाई ‘इमर्सिभ भर्चुअल वास्तविकता’ भनेर भनिन्छ । यो डकुमेन्ट्री चाँही नेपालको सशस्त्र युद्धमा भएको एउटा घटनाबाट सुरु भएको तर अहिलेसम्म समाधान नहुँदा कस्तो खालको समस्या उत्पन्न हुन्छ ? यसले दोस्रो पुस्तालाई कस्तो असर गरिरहेको छ भन्ने कुरा पनि प्रष्ट रुपमा देखाइएको छ ।

देवी डकुमेन्ट्रीकी निर्देशक तथा निर्माता सुविना श्रेष्ठ

– देवी डकुमेन्ट्रीमा के-के समिटिएको छ ?
सन् २००६ मा नेपालमा भएको सशस्त्र जनयुद्ध सकियो । तर, देवी खड्काको लागि यो कुरा अन्त्य भएन । सशस्त्र युद्ध सकिएपनि सो समयमा उहाँले भोगेको कहाली लाग्दो घटनालाई राज्यले बोल्नै चाहेन । युद्धकालिन समयमा भएका बलात्कार तथा यौंनहिंसाका पासविक घटनाहरुलाई नेपालको इतिहासबाटै हटाउन खोजियो, जसको कारण पनि देबीले आफु भित्रका समस्याहरु, आफु भित्र भएको चोटहरुलाई जितेर आफूजस्तै महिलाको न्यायको लागि आवाज बनेर अगाडी आउनु भएको छ । यो मुभमेन्ट तयार हुँदाको हरेक पाइला पाइला समेटिएको छ । पीडितको न्यायका लागि अभियानको उठान बिन्दु हो, ‛देबी डकुमेन्ट्री’ । यसले उहाँको घरमा हुने समस्या मात्रै होइन्, खुशीका क्षणहरुलाई पनि समेटेको छ ।

– यो डकुमेन्ट्री कसरी हेर्ने ? फिल्म फेस्टिभलमा के हुन्छ ?
यो डकुमेन्ट्री अहिले हटडक्स भन्ने क्यानडाको फिल्म फेस्टिभलमा देखाउन खोजिएको छ । हटडक्स क्यानडा इन्टरनेशनल फिल्म फेस्टिभल भनेर चेक गर्न पनि सकिन्छ । मुख्यतयाः यो अन्तराष्ट्रिय प्रतिस्पर्धामा छ । अन्तराष्ट्रिय प्रतिस्पर्धामा १० वटा फिल्म छ । यसबाट प्रतिस्पर्धामा जितेको फिल्म चाँही स्वतः एकेडेमिक्स र ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) को लागि क्वालिफायर हुन्छ । हामी चाँही उक्त प्रतिस्पर्धामा परेका छौं । यो हाम्रो लागि एकदमै ठूलो कुरा हो । यसले एउटा अर्को मुभमेन्ट तयार गर्ने छ । जो पीडितको पक्षमा हुनेछ ।

पीडितका पक्षमा पैरवी गरिरहेकी देवी खड्का

– देवी डकुमेन्ट्री हेरेसकेपछि के बुझ्न सकिन्छ ?
यो डकुमेन्ट्री नेपालको महिलाहरुको विषयमा बुझ्नको लागि मात्र होइन्, पूरा नेपाल बुझ्नको लागि पनि डकुमेन्ट्री अत्यन्त महत्वपूर्ण हुन्छ । नेपालमा अहिले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक पारित हुने प्रक्रियामा पनि छ । जसमा बलात्कार तथा यौनहिंसाका बारेमा पहिलाभन्दा प्रष्ट रुपमा लेखिएको छ । यस्तो हुन कसरी सम्भव भयो ? यो कहाँबाट उठ्यो ? किन उठ्यो ? कसरी उठ्यो ? भन्ने कुराहरु यो फिल्म हेरिसकेपछि सबै जनाले बुझ्नुहुन्छ । यसको लागि कति पीडा भयो ? नेपालमा महिलाहरुले कस्ता कस्ता किसिमका पीडाहरु भोगे र उनीहरुका व्यथाहरु कसरी दबार्ईको छ ? भन्ने कुराहरु बुझ्न अति आवश्यक छ । जसले महिलाहरुको कुराहरु बुझ्दैँन, देवी भनेर बुझ्न पनि बेकारको कुरा हुन जान्छ । तसर्थ, हामीले हामीलाई नै बुझ्नको लागि यो डकुमेन्ट्री हेर्नु आवश्यक हुन्छ ।

– देवी खड्काको डकुमेन्ट्री बनाउने विचार कसरी आयो ? यो डकुमेन्ट्री बनाउन कसरी सम्भव भयो ?
मैले धेरै वर्षदेखि देवी जीको बारेमा सुनेको हुँ । म पत्रकारिता गर्थे । पत्रकारिता गर्दा महिलाहरुको बारेमा, सशस्त्र युद्धका कथाहरु खोज्ने लेख्ने गर्दा खेरी देवी जीको बारेमा पनि सुनेको थिए । तर, उहाँलाई सानो उमेरमा उहाँमाथि बलात्कार भयो, त्यसपछि उहाँलाई प्रेस कन्फोरेन्स गराईयो । त्यसपछि धेरै नराम्रा आर्टिकलहरु लेखिए । कतिपय कुराहरु जुन भन्नै नमिल्ने कुराहरु बाहिर आएका थिए । जसले देवीमाथि विभिन्न लान्छना, आरोप पनि लगाईए । उहाँमाथि धेरैले नराम्रो नजरले हेर्न पनि थाले । सत्यताको गहिराई नबुझिँ समाचारहरु लेखिँदा उहाँ झनै मानसिक रुपमा कमजोर हुनुभयो । त्यसले गर्दा पनि उहाँले म सँग पनि कुरा गर्न चाहानु भएन । पत्रकारहरुलाई पनि के विश्वास गर्नु भनेर सायद । धेरैपछि सन् २०१८ को अन्तिमतिर एउटा समाचार लेख्नको लागि देवी जीलाई भन्दा उहाँले हुन्छ भनेर भन्नुभयो । त्यतिञ्जेल मैले पत्रकार अस्मिता खड्कासँग पनि कुरा गरेको थिए । अस्मिता जीले पनि देवीलाई धेरैपटक भनिसक्नुभएको थियो ।

झण्डै एकदशकपछि देवी जीले मलाई उहाँको डायरी दिनुभयो । त्यहीबाट यो कथा बनाउने कुरा सुरु भएको हो । सुरुमा त उहाँको लामो फिचर डकुमेन्ट्री बनाउने कुरा थिएन्, जब देवीले कुरा गर्दा गर्दै सयजना महिलाहरुले सिंहदरबार घेराऊ गरे भने सरकारमा के होला ? भन्ने प्रश्न गर्नुभयो । त्यसपछि महिलाहरुलाई भेट्ने हो त ? केही गर्ने हो त ? भन्ने प्रश्न गर्यौ । त्यसको लागि यस्ता पासविक घटना युद्धकालिन समयमा कहाँबाट भएको थियो ? को बाट भएको थियो ? त्यो त सबैलाई थाहा भएकै कुरा हो । दुबै पक्षबाट भएको थियो भनेर भन्नासाथ हामीले त अवश्यः यो काम गर्नुपर्ने भयो । यसको लागि पैसा कहाँबाट उठाउने भन्ने कुरा पनि आयो । पहिला आफूसँग भएको केही पैसाले काम सुरु गर्यौँ, खर्च हुँदै गयो, त्यसपछि मैले आफ्नो जग्गा पनि बेचेँ । त्यसले पनि पुगेन अनि मेरो एउटा पुरानो साथीले पनि व्यक्तिगत रुपम सहयोग गर्नु भयो । त्यसरी सुरु गरेको प्रोजेक्ट हो यो । जब पछि देवीले प्रधानमन्त्रीलाई भेट्नुभयो उहाँहरुको कथा पब्लिकमा आईसकेपछि अरु फन्डहरुलाई अप्लाई सुरु गर्यौ र अन्तर्राष्ट्रिय फन्डहरुमा अप्लाई गर्यौं । त्यसरी नै बनाएका हौँ यो फिल्म चाँही ।

– डकुमेन्ट्री बनाउदैँ गर्दा के-कस्ता समस्याहरु खेप्नुपर्यो ? कस्ता-कस्ता चुनौतीहरु आए ?
यो विषयमा डकुमेन्ट्री बनाउनु हाम्रो हाम्रो लागि सहज पक्कै थिएन् । हामीले यो डकुमेन्ट्रीको दौरानमा धेरै समस्याहरु खेप्नुपर्यो, धेरै समस्याहरु भोग्नु पर्यो । धेरै कुराहरु सिक्न पनि सिकियो । हिंसामा परेका महिलाहरुसँग काम गर्दा कति गाह्रो हुन जान्छ । हामीले कस्तो किसिमको कामहरु गर्नुपर्ने हुन्छ । आफ्नो सुरक्षा साथै मानसिक स्वास्थ्यको विषयमा पनि काम गर्नुपर्ने हुन्छ । अन्य महिलाहरु पनि कस्तो किसिमको प्रभाव हुन जान्छ ? उहाँहरुको लागि गाह्रो पर्ने भएकाले पनि चिकित्सक तथा मनोविद्हरु नै बोकेर हिड्नुपर्यो । डकुमेन्ट्री बनाउने समयमा हामीले धेरै पीडितहरुलाई भेट्यौ, उहाँहरुका व्यथा, पीडाहरु पनि सुन्यौं । यत्ति सम्म कि, उहाँहरुका पीडाहरु सुन्दै गर्दा हाम्रो टिमका साथीहरुको मानसिक स्वास्थ्यमा पनि असर गर्यो । उहाँहरुका कथाको प्रभावले हाम्रो टिमका साथीहरु नै मनोचिकित्सकको धाउनुपर्ने स्थिति आयो । अन्ततः धेरै मिहिनेत गरेर, धेरै कुराहरु सिकेर नै डकुमेन्ट्री बनायौं ।

पीडितका पक्षमा पैरवी गरिरहेकी देवी खड्का

– हटडक्स इन्टरनेशनल डकुमेन्ट्री फेस्टिभलमा कहिले प्रर्दशन हुदैँ डकुमेन्ट्री ? क्यानडाबासी नेपालीसहित अन्यहरुमा यहाँको सन्देश के छ ?
यो फिल्म हटडक्स इन्टरनेशनल डकुमेन्ट्री फेस्टिभल टोरन्टो क्यानडामा यहीँ अप्रिल २८ तारिख आइतबार र मे १ तारिखमा देखाइदैँ छ । क्यानडामा भएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरु आइदिनुभयो भने हामीलाई थप हौसला मिल्ने छ । हामीले त्योे आशा गरेका छौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com