अमेरिकामा ट्याक्स फाइल गर्ने अन्तिम दिन आज, अप्रिल १५  भित्र ट्याक्स फाइल गर्न नसके के गर्ने ?


प्रकाशित मिति : बैशाख ३, २०८१ सोमबार

आइआरएसमा ट्याक्स फाइल गर्ने डेडलाइन अप्रिल १५  सोमबारसम्ममात्र रहेको छ । समयमै ट्याक्स फाइल नगरेको खण्डमा जरिवाना समेत हुनसक्छ । ट्याक्स तिर्नुपर्ने व्यक्तिले समयमा नै ट्याक्स फाइल नगरेको खण्डमा वा ट्याक्स फाइल गरेर तिर्नुपर्ने रकम नतिरेमा भने ब्याज र जरिवाना तिर्नुपर्ने हुन्छ । ट्याक्स फाइल नगरेको खण्डमा जरिवाना रकम जति महिना ढिलो हुन्छ, त्यती महिना हरेक महिना तिर्नुपर्ने ट्याक्स रकमको ५ प्रतिशत र अधिकतम २५ प्रतिशतसम्म हुन्छ ।

त्यस्तै ट्याक्स नतिरेको खण्डमा जरिवाना रकम ट्याक्स तिर्नुपर्ने रकमको शुन्य दशमलव ५ प्रतिशत हुन्छ । यो रकम पनि अधिकतम २५ प्रतिशतसम्म हुन्छ । यदि ट्याक्स फाइल नगरेको र ट्याक्स रकम नतिरेको दुबै अवस्था भएमा समयमा ट्याक्स फाइल नगरेको जरिवाना रकम समयमै ट्याक्स नतिरेको रकमबाट घटाइन्छ । ब्याजदर पनि संघीय अल्पकालिन दरमा ३ प्रतिशत जोडेर दैनिक रुपमा बढ्दै जान्छ ।

करदाताहरुलाई समय थपका लागि अनुरोध फाइल गर्न पाउने नियम रहेको छ । यदि समय थपका लागि अनुरोध गरेमा उनीहरुले अक्टोबर १५ सम्मको अवधि पाउँछन् । तर अप्रिल १५  सम्म अनुमानित ट्याक्स नतिरेको खण्डमा हरेक महिना तिर्नुपर्ने रकमको शुन्य दशमलव ५ प्रतिशत जरिवाना तिर्नुपर्छ ।

white printed paper

यदि करदाताले ट्याक्स फाइल गरेर रिफण्डको अपेक्षा गरेका छन् र उनीहरुले सरकारलाई ट्याक्स रकम तिर्नुपर्ने अवस्था छैन भने उनीहरुलाई संघीय ट्याक्स फाइल नगरेका कारण कुनै सजायको व्यवस्था छैन । तर उनीहरुले नागरिकता आवेदन दिंदा वा अन्य सुविधाका लागि आवेदन दिंदा ट्याक्स फाइल नगरेका कारण समस्या भने पर्नसक्छ । साथै उनीहरुले संघीय सरकारबाट पाउने रिफण्ड रकमबाट समेत बञ्चित हुनेछन् ।

ट्याक्स रिटर्न फाइल नगरेमा वा ट्याक्स फाइल गर्दा विवरण ढाँटेमा  कर छलीका कारण वा जालसाजीका कारण आपराधिक अभियोग लाग्नसक्छ । त्यसैले तिर्ने रकम छैन भने पनि समयमै ट्याक्स फाइल गर्न र रकम तिर्नका लागि योजना बनाउन सुझाव दिइएको छ । 

ट्याक्स फाइल नगर्दा तपाईको अध्यागमन स्थीतिमा पनि समस्या हुनसक्छ भने कसैलाई भविश्यमा स्पोन्सर गर्नुपर्ने भएमा पनि समस्या हुनसक्छ । भविश्यमा अमेरिकी नागरिकता लिने योजनामा हुनुहुन्छ भने पनि तपाईलाई समस्या हुनसक्छ । रिफण्ड पाउने करदाताहरुले उक्त रिफण्ड प्राप्त गर्नकालागि ३ बर्षको अवधि हुन्छ । अर्थात् तीनबर्षभित्र दावी नगरे उनीहरुले उक्त रिफण्ड रकम प्राप्त गर्न सक्दैनन् ।

अमेरिकामा अप्रिल १५  भित्र ट्याक्स फाइल गर्न नसकेमा के गर्ने ?

अमेरिकामा यो बर्ष ट्याक्स फाइल गर्ने अन्तिम दिनका रुपमा अप्रिल १५  लाई तोकिएको छ । अप्रिल १५  भित्र ट्याक्स फाइल गर्न नसक्ने करदाताहरुले अक्टोबर १५  सम्म फाइल गर्नेगरी अवधि थपका लागि अनुरोध समेत गर्न सक्छन् । ट्याक्स फाइलका लागि अवधि थप्दा ट्याक्स तिर्नुपर्नेहरुका लागि कर तिर्ने अवधि भने थप हुँदैन । त्यसैले ट्याक्स तिर्नुपर्नेहरुले अनुमानित ट्याक्स डेडलाइनभन्दा अगाडि नै तिर्नुपर्छ ।

फर्म ४८६८ को कागजी भर्सन हुलाकमार्फत पठाएर ट्याक्स फाइलको अवधि थप गर्न सकिन्छ । यदि तपाईले ट्याक्स तिर्नुपर्ने छ भने उक्त रकमको चेक वा मनी अर्डर पनि पठाउनुपर्छ । तर हुलाकबाट पठाउँदा अप्रिल १५ वा सो भन्दा अगाडि नै पोष्टमार्क हुन जरुरी छ ।

त्यस्तै कागजी फर्म नभरिकनै पनि फाइल गर्ने अवधि लम्बाउन सकिन्छ । तर त्यसका लागि तपाईले तिर्नुपर्ने ट्याक्सको हिस्सा तीनवटा मध्ये एउटा अनलाइन प्रणालीबाट तिर्नुपर्छ । तपाई डाइरेक्ट पे, विद्युतीय संघीय कर तिर्ने प्रणाली वा क्रेडिट तथा डेबिट कार्डबाट तिर्न सक्नुहुनेछ । यसरी तिरेपछि तपाईको ट्याक्स फाइल गर्ने अवधि स्वत लम्बिन्छ ।

त्यस्तै निशुल्क ट्याक्स फाइल गर्ने प्रणालीबाट पनि फर्म ४८६८ पठाउन सकिन्छ । तर आफूले तिर्नुपर्ने रकम भने हुलाकबाट मनी अर्डर वा चेकमार्फत पठाउनुपर्छ । त्यसरी रकम पठाउँदा भरिएको ४८६८ लाई भौचरका रुपमा प्रिन्ट गरेर चेकसँगै राखेर पठाउनुपर्छ ।

यदि तपाईले अहिले तिर्नुपर्ने ट्याक्सको रकम तिर्न सक्नुहुन्न भने पनि फर्म ४८६८ फाइल गर्नुपर्छ । त्यसपछि कसरी ट्याक्स रकम तिर्ने भन्नेबारे विकल्प छनौट गर्न सक्नुहुनेछ ।

विदेशमा काम गर्ने र बस्ने अमेरिकन करदाताहरुका लागि भने ट्याक्स फाइल गर्ने समय अझै पनि बाँकी छ । उनीहरुले जुन १७ भित्र ट्याक्स फाइल गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com