शुक्रबारको भूकम्पपछि ४३ वटा पराकम्प, न्युयोर्क सिटीका झण्डै १५० घरमा क्षति


प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार

न्युयोर्क सिटीमा शुक्रबार विहान १० बजेर २३ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पबाट ठूलोक्षति नभएपनि न्युयोर्क सिटीका सबै भवनहरु जस्ताको तस्तै भने रहेनन् । न्युयोर्क सिटीका भवन विभागका अनुशार कैयन घरहरुमा दरार देखिएका छन् भने कति घरको अग्रभागमा क्षति भएको छ । भूकम्पका कारण धेरै निर्माण साइटहरू बन्द भएका थिए । न्युयोर्क सिटीभर झण्डै १५० वटा भवनमा क्षति पुगेको रिपोर्ट गरिएको छ । प्रत्येक स्थानमा भवन निरीक्षकहरूले भ्रमण गरेका थिए।

निरीक्षकहरूले सिटीभरका ३ सय निर्माण साइटहरूमा चेकजाँच थरेका थिए जसमध्ये ८ वटामा असुरक्षित अवस्थाहरू फेला पारेका थिए । क्षति भोगेका कम्तिमा तीनवटा भवनहरू या त खाली गर्न आदेश दिइएको छ या त फुटपाथ शेड वा थप निरीक्षणको वारेन्टी गरिएको छ । ईस्ट न्यूयोर्कको स्कूल जिम र स्कूल फर क्लासिक हाई स्कूललाई ​​आंशिकरुपमा खाली गर्न आदेश जारी गरिएको थियो । किनभने निरीक्षकहरूले भवन भित्र दरारहरू फेला पारेका थिए ।

ब्रोंक्समा दुई भवनहरूलाई फुटपाथ शेडहरू स्थापना गर्न आदेश दिइएको छ किनभने त्यहाँ पनि निरीक्षकहरूले भवनको अग्रभागमा दरारहरू फेला पारेका थिए । ब्रुकलिनमा एक भवनलाई निरीक्षकहरूले जीर्ण अवस्थामा फेला पारेपछि रिपोर्ट पेश गर्न एक पेशेवर इन्जिनियरलाई लिन आदेश दिइएको थियो । भवनमा क्षति पुगेको भएमा ३११ मा सम्पर्क गरेर जानकारी दिन सुझाव दिइएको छ ।

न्युजर्सीमा केन्द्रबिन्दु बनाएर शुक्रबार विहान भूकम्प गएयता झण्डै ४३ वटा पराकम्पहरु गएको युएस जिओलोजिकल सर्भेले रेकर्ड गरेको छ । तीमध्ये सबैभन्दा ठूलो पराकम्प शुक्रबार बेलुका ५ बजेर ५९ मिनेटमा गएको थियो, जुन ३ दशमलव ८ रेक्टर स्केलको थियो । अरु सबै ३ रेक्टर स्केलभन्दा कमका रहेका छन् ।

भूकम्पपछि न्युयोर्कको क्वीन्समा चर्किएको एउटा घरको भित्ता । (फोटो ह्याण्डआउट: चमेली परियार)

शुक्रबार विहानको भूकम्प न्युजर्सीलाई सबैभन्दा धेरै हल्लाउने २४१ बर्षको सबैभन्दा ठूलो भूकम्प थियो भने न्युयोर्क सिटीलाई सबैभन्दा बढी हल्लाउने १४० बर्षको सबैभन्दा ठूलो भूकम्प थियो । यद्यपी न्युयोर्क राज्यका केही भाग भने सन् २०११ को भर्जिनिया केन्द्रबिन्दु भएको भूकम्पले पनि योभन्दा धेरै हल्लाएको थियो ।

वैज्ञानिकहरूले मुख्य भूकम्पपछि परकम्पहरूको ढाँचाहरूमा एक पराकम्प लगभग १ रेक्टर स्केलभन्दा कम, १० परकम्पहरू लगभग २ रेक्टर स्केलभन्दा कम र १०० परकम्पहरू लगभग ३ रेक्टर स्केलभन्दा कम हुने गरेको देखेका छन् । तर यसपटक कतिवटा पराकम्पहरु जानेछन् भन्नेबारे अहिले नै अनुमान गर्न गाह्रो छ । पराकम्पहरु केहीदिन र हप्तासम्मपनि जारी रहनसक्ने यूएस जियोलोजिकल सर्भेका अनुसन्धान संरचनात्मक इन्जिनियर किशोर एस जैसवालले बताएका छन् । यस्तो क्रम चलिरहँदा शुक्रबारको भन्दा ठूलो वा सोसरहको भूकम्प जानेपनि सानो सम्भावना रहेको उनले बताएका छन् ।

शुक्रबार विहान १० बजेर २३ मिनेटमा गएको ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प न्युजर्सीको ह्वाइटहाउस स्टेशनबाट ७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर गएको थियो । न्युयोर्क सिटीमा यस्तो भूकम्प दुर्लभ भएकाले स्थानीयबासिहरु त्रसित भएका थिए । भूकम्पको धक्का न्युयोर्कदेखि मेरिल्याण्डसम्म अनुभव गरिएको थियो । न्यु जर्सीदेखि लङ आइल्याण्डसम्मका भवनहरू हल्लिएका थिए ।

भूकम्पपछि न्युयोर्कको क्वीन्समा चर्किएको एउटा घरको भित्ता । (फोटो ह्याण्डआउट: चमेली परियार)

भूकम्पको धक्का महसुस भएपछि न्युयोर्क सिटीले एक आपतकालिन अलर्ट जारी गर्दै न्युयोर्कका बासिन्दाहरुलाई घरभित्र बस्न सुझाव दिएको थियो भने कोही घाइते भएमा ९११ मा फोन गर्न सुझाव दिएको थियो । न्युयोर्क सिटीले भूकम्प गएको झण्डै ४० मिनेटपछि ११ बजेर २ मिनेटमा सिटीका बासिन्दाहरुको फोनमा अलर्ट पठाएको थियो । आपतकालिन अवस्थामा जवाफ दिनमा ढिलो गर्दै आएको आलोचना खेप्दै आएको न्युयोर्क सिटीले अलर्ट पठाउन गरेको ढिलाइको पनि आलोचना भएको छ ।

मुख्य भूकम्पको झण्डै १ घण्टापछि न्युजर्सीको बेडमिनिष्टर नजिक केन्द्रबिन्दु बनाएर पराकम्प गएको थियो । ११ बजेर २० मिनेटमा गएको यो पराकम्प जम्मा २ रेक्टर स्केलको भएकाले धेरैले अनुभव गरेनन् । तर न्युयोर्क सिटीले पराकम्प जानसक्ने अलर्ट पनि पराकम्प गएको झण्डै २५ मिनेटपछि पठाएको थियो । युएस जियोलोजिकल सर्भेले पनि कम्तीमा एउटा पराकम्प आउनसक्ने अनुमान गरेको थियो ।

न्युयोर्क सिटी क्षेत्रमा शुक्रबार गएको भूकम्प झण्डै १४० बर्षको  इतिहासमा सबैभन्दा ठूलो हो । सन् १८८४ को अगस्त १० मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएदेखि न्युयोर्क सिटी क्षेत्रमा त्यती ठूलो भूकम्प गएको थिएन । त्योभन्दा अगाडि  सन्  १७८३ मा न्युजर्सी केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो भने सन् १७३७ मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

न्युयोर्क सिटीमा पछिल्लो सबैभन्दा ठूलो भूकम्प सन् २००१ को अक्टोबर २७ मा न्युयोर्क सिटीको म्यानहटन केन्द्रबिन्दु बनाएर गएको थियो, जुन २ दशमलव ६ रेक्टर स्केलको थियो । सन् २००१ को जनवरी १७ मा न्युयोर्क सिटीको म्यानहटन केन्द्रबिन्दु बनाएर गएको भूकम्प २ दशमलव ४ रेक्टर स्केलको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com