अमेरिकामा आन्तरिक हवाईयात्रा गर्दा नेपाली पासपोर्टको म्याद सकियो, अरु आईडी छैन, के गर्ने?


प्रकाशित मिति : चैत्र २१, २०८० बुधबार

अमेरिकामा कतिपय नेपालीहरुको पासपोर्टको म्याद सकिंदा आन्तरिक हवाईयात्रा कसरी गर्ने भन्नेबारे समेत अलमलमा परिरहेका छन् । क्यालिफोर्नियामामात्र झण्डै १ हजार म्याद सकिएका वा सकिन लागेका नेपाली पासपोर्टवाहकहरु रहेको हालैको सर्वेक्षणले पत्ता लगाएको थियो । पासपोर्ट नविकरणका लागि नेपाली दूतावास वा महावाणिज्यदूतावासमा अप्वाइन्टमेन्ट नपाउनु र अमेरिकाको पश्चिमीक्षेत्रमा बस्नेहरुलाई न्युयोर्क र वासिंटन डिसीमा यात्रा गर्न कठिन हुने भएकाले पनि पासपोर्ट नविकरणको समस्या भोग्दै आएका छन् ।

पासपोर्टको म्याद सकिएको अवस्थामा कसरी यात्रा गर्ने ? यसबारे ट्रान्सपोर्टेशन सेक्युरिटी एड्मिनिष्ट्रेशन टीएसएले खसोखासलाई थप प्रष्ट पारेको छ । टीएसएका अनुशार यदि नेपाली पासपोर्टवाहकको पासपोर्टको म्याद सकिएको एकबर्षपूरा भएको छैन भने उनीहरुले उक्त पासपोर्टका आधारमा अमेरिकामा आन्तरिक हवाईयात्रा गर्न पाउँछन् । अमेरिका भित्रको आन्तरिक यात्राको लागि म्याद सकिएको एक वर्ष भन्दा कम समय भएको विदेशी सरकारद्वारा जारी पासपोर्टहरू सुरक्षा चेकप्वाइन्टहरुमा स्वीकार गरिने टीएसएले प्रष्ट पारेको छ ।

अमेरिकामा आन्तरिक उडानका लागि ड्राइभर लाइसेन्स, स्टेट आईडी लगायतका कुनै एक परियचपत्र स्वीकार गरिन्छ । त्यसका अतिरिक्त अमेरिकी पासपोर्ट, अमेरिकी पासपोर्ट कार्ड, ग्लोबल इन्ट्री, नेक्सस, सेन्ट्री, फास्ट लगायतका होमल्याण्ड सेक्युरिटीबाट जारी कार्डहरु, अमेरिकी रक्षामन्त्रालयबाट जारी आईडी, ग्रिनकार्ड, बोर्डर क्रसिंग कार्ड, अमेरिकी नागरिकलाई राज्यबाट जारी इन्ह्यान्स्ड ड्राइभर लाइसेन्स वा आईडी पनि परिचयपत्रका रुपमा स्वीकार गरिन्छ ।

त्यस्तै आदिवासी लगायतलाई जारी संघीय मान्यता प्राप्त फोटो आईडी, विदेशी सरकारबाट जारी पासपोर्ट, क्यानाडाली प्रान्तीय चालक लाइसेन्स वा इन्डियन एण्ड नर्दन अफेयर्स क्यानाडा कार्ड, यातायात कार्यकर्ता पहिचान प्रमाण पत्र पनि परिचयपत्रका रुपमा स्वीकार गरिन्छ । वर्क परमिट, यूएस मर्चेन्ट मेरिनर प्रमाण पत्र, भेटेरन हेल्थ आइडेन्टिफिकेशन कार्ड लगायतबाट पनि अमेरिकामा आन्तरिक उडानमार्फत यात्रा गर्न सकिन्छ । हतियार अनुमति परिचयपत्र वा अस्थायी चालक अनुमतिपत्रलाई स्वीकार गरिदैन । स्वीकार गरिने परिचयपत्रको सूची हेर्न यहाँ क्लीक गर्नुहोला ।

यदि तपाईंको ड्राइभर लाइसेन्स वा स्टेट आईडी एक्सपायर भएको छ भने र नवीकरण गर्न पाउनुभएको छैन भने त्यस्तो आईडी पनि स्वीकार हुनेछ । ड्राइभर लाइसेन्स वा स्टेट आईडीका सन्दर्भमा एक्सपायर भएको एकबर्ष नाघिसकेको भएतापनि स्वीकार गरिनेछ । तर सन् २०२५ को मे ७ पछि विमानमा यात्रा गर्दा रियल आइडी आवश्यकता हुनेभएकाले त्यसपछि भने मापदण्डहरुमा परिवर्तन हुनेछन् ।

यदि तपाइँसँग सूचीमा भएका कुनैपनि प्रकारका परिचयपत्र छैनन् वा नेपाली पासपोर्टको म्याद सकिएको पनि एकबर्ष नाघिसकेको छ भने टीएसएस अधिकारीहरूले तपाइँको बोर्डिङ पासमा देखा पर्ने तपाइँको नामसँग म्याद गर्ने कम्तिमा दुई प्रकारका कागजातहरू सोध्नेछन्। यी कागजातहरूमा सोसल सेक्युरिटी कार्ड, जन्म दर्ता प्रमाणपत्र, बैंक कार्ड, बीमा कार्डमध्ये कुनै दुई समावेश हुनसक्छन् । तपाईंलाई पहिचान प्रमाणीकरण प्रक्रियामा भाग लिन पनि सोध्न सक्नेछ । तपाईंको नाम, हालको ठेगाना, र तपाईंको पहिचान पुष्टि भयो भने तपाईंलाई स्क्रिनिङ चेकपोइन्टमा प्रवेश गर्न अनुमति दिइनेछ।

टीएसएले उडान समय भन्दा कम्तिमा २ घण्टा अगाडी आइपुग्न सुझाव दिएको छ । परिचयपत्र नभएको अवस्थामा मात्र नभई छुटेको र हराएको अवस्थामा पनि यही प्रकृया अपनाइन्छ । १८ बर्षभन्दा कमका व्यक्तिलाई अमेरिकाभित्र यात्रा गर्दा टीएसएले आईडी माग्दैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com