जुवाडे पक्राउ पर्दा झण्डै ३ करोड राजश्व उठ्यो , जुवा खेलाउने पनि उम्किन पाएनन


प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार

नेपाल प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा देशका विभिन्न स्थानमा जुवातास खेल्ने १ हजार ८ सय १७ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म देशका विभिन्न भागमा जुवातास खेल्नेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ उपत्यकाबाट ७ सय ७९, कोशी प्रदेशबाट एक सय १५, बागमती प्रदेशबाट एक सय १३, गण्डकी प्रदेशबाट दुइ सय ९९, लुम्बिनी प्रदेशबाट ९४, कर्णाली प्रदेशबाट एक सय ४ र सुदूरपश्चिम प्रदेशबाट तीन सय १३ जना रहेका छन् । उक्त अवधिमा प्रहरीले उनीहरूको साथबाट रु दुई करोड ६३ लाख ४५ हजार चार सय १७ बरामद गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उक्त अवधिमा प्रहरीले जुवातास खेल्नेबाट पाँच सय ५४ बुक तास र दुई सय ५० थान कौडा बरामद गरेको छ । “जुवा खेलेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ”, प्रवक्ता ढकालले भन्नुभयो । मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र रु १० हजारसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी प्रावधान समेत छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com