नेपालीलाई निःशुल्क भिसा दिन चीन सकारात्मक


प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार

चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्ष सकारात्मक देखिएकोे छ । नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेपछि चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

चीनको सात दिने भ्रमण पूरा गरी काठमाडौं फर्किएका मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको बताउनु भयो ।

चिनियाँ विदेशमन्त्रीको औपचारिक निमन्त्रणमा मन्त्री श्रेष्ठ चैत ११ गते चीन भ्रमण गर्नुभएको थियो । मन्त्री श्रेष्ठले भ्रमणको क्रममा उच्चस्तरीय भेटघाटसमेत गर्नुभएको थियो । मन्त्री श्रेष्ठका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईलाई अन्तिम रुप दिई कार्यान्वयन गर्नेबारे पनि दुई पक्षबीच छलफल भएको थियो ।

नेपालको काठमाडौं र पोखरा तथा चीनका विभिन्न सहरबीच थप उडानहरू सञ्चालनमा ल्याउन पनि दुवै पक्ष सहमत भएका छन् । यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियाँ पर्यटक भित्राउन सहयोग पुग्ने मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनु भयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com