अप्रिल ८ को खग्रास सूर्यग्रहणका दिन न्युयोर्कमा फोनको नेटवर्कमा समस्या हुनसक्ने चेतावनी


प्रकाशित मिति : चैत्र १७, २०८० शनिबार

solar eclipse 3D wallpaper

अप्रिल ८ मा अमेरिकामा खग्रास सूर्यग्रहण देखिनेछ । सन् २०२४ को सबैभन्दा रोचक खगोलीय घटना आउन लाग्दा राज्यहरू सम्भावित अवरोधहरूको लागि तयारी गरिरहेका छन् । अप्रिल ८ मा मेक्सिको, अमेरिका र क्यानडाहुँदै ग्रहण लाग्ने नासाले जनाएको छ । चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा खग्रास सूर्यग्रहणको घटना हुन्छ । त्यतीबेला सूर्यलाई चन्द्रमाले पूर्णरुपमा छेकेपछि खग्रास सूर्यग्रहण लाग्छ ।

यस समयमा, आकाश अँध्यारो हुनेछ, बिहान वा साँझ जस्तै । दशकौंमा पहिलो पटक न्यूयोर्क राज्य यस्तो ग्रहणको साक्षी बन्दैछ । यसको मतलब यो घटना हेर्न लाखौं मानिसहरु आउने अपेक्षा गरिएको छ। नायग्रा फल्स, बफेलो र रोचेस्टर लगायतमा ग्रहण हेर्नेहरुको भींड लाग्ने अपेक्षा गरिएको छ । न्यूयोर्कका अधिकारीहरूले ग्रहणको दिनमा सेलुलर नेटवर्कहरू नकारात्मक असर पर्नसक्ने चेतावनी दिइरहेका छन् । ग्रहणको दिनमा र केहीदिन पहिलेदेखि नकारात्मक असर पर्नसक्ने जनाइएको छ ।

न्यूयोर्क राज्य प्रहरीका अनुशार धेरै मान्छेको भींडका कारण केही क्षेत्रमा नेटवर्कमा समस्या हुनसक्ने चिन्ता व्यक्त गरिएको हो । ती क्षेत्रमा यातायात अवरुद्ध हुनसक्ने, आपतकालीन सेवाहरूमा ढिलाइ हुनसक्ने, गाडीहरु जाममा पर्नसक्ने, इन्धन, खाना र पानीको मागमा वृद्धि हुनसक्ने, ट्राफिक जाम हुनसक्ने र ९११ फोनकल बृद्धि हुनसक्ने जनाइएको छ । प्रहरीले राज्यमा आउनेहरु रर बासिन्दाहरुलाई सेलफोनहरू चार्ज गर्न र चार्जरहरू ल्याउन सुझाव दिएको छ ।

अधिकारीहरूले ग्रहणको अघिल्लो दिन इन्धन हाल्ने र चार्ज गर्ने, खाना र पानीको लागि किनमेल गर्ने र गाडीमा अतिरिक्त सामानहरु राख्ने लगायतका सुझाव दिएका छन् । राज्य प्रहरीले गाडीको चाप कम गर्न सम्भव भएमा ग्रहणको रात उक्त क्षेत्रमा बस्न सुझाव दिएका छन् । सडकमा निस्कन परेमा १० घण्टाभन्दा बढी चल्नसक्ने गरी गाडीमा इन्धन वा चार्ज भएको सुनिश्चित गर्न सुझाव दिइएको छ । बाटोमा चार्ज सकिएर अड्केका गाडीहरु उठाएर लगिने चेतावनी समेत दिइएको छ ।

गभर्नर क्याथी होकुलले न्युयोर्कबाट यो खगोलीय घटना हेर्न आशा गर्ने लाखौं आगन्तुकहरूका लागि एक अद्वितीय, सुरक्षित र प्रेरणादायी अनुभव सुनिश्चित गर्न राज्यको योजना सार्वजनिक गरिसकेकी छिन् । न्युयोर्ककै बासिन्दा भएपनि वा यो पुस्ताको दृष्यको साक्षी हुन न्युयोर्क आउँदै गरेपनि यो वर्षको ग्रहणलाई सबैले सुरक्षित रूपमा हेर्न सक्ने सुनिश्चित गर्नु आफूहरुको उच्च प्राथमिकता भएको होकुलको भनाई छ ।

उनले सबैलाई सुरक्षालाई ध्यानमा राख्न प्रोत्साहित गरेकी छिन् । सबैले यो अनुभवको मजा लिन सकून् र जीवनभरका लागि सम्झनाहरू बनाउन सकून् भन्ने उद्दे्श्यले ग्रहणको लागि आउन र न्युयोर्कमा बसेर राज्यले प्रस्ताव गरेको सबै सुविधाको फाइदा उठाउन उनले आव्हान गरेकी छिन् ।

८ अप्रिल २०२४ को दिउँसो खग्रास सूर्यग्रहणले न्युयोर्क राज्यको पश्चिमी र उत्तरी भागहरूलाई समेट्नेछ। दिउसो ३ बजेर १५ मिनेटदेखि ३ बजेर ३० मिनेटसम्म १५ मिनेट भन्दा कम अवधिमा पृथ्वी र सूर्यको बीचबाट चन्द्रमा जानेछ । जसले गर्दा साढे १ मिनेटदेखि साढे ३ मिनेटसम्म दिउसोको समय रातीमा जस्तै पूर्णरुपमा अन्धकार हुनेछ ।

राज्यको दक्षिणपश्चिमी भागमा खग्रास सूर्यग्रहण सबा ३ बजे पछि प्रवेश गर्नेछ भने उत्तरी न्युयोर्कबाट साढे ३ बजे मात्र प्रस्थान गर्नेछ। यस मार्ग भित्रका शहरहरूमा जेम्सटाउन, बफेलो, रोचेस्टर, सिराक्यूज, वाटरटाउन, ओल्ड फोर्ज, लेक प्लासिड र प्लैट्सबर्ग लगायत छन् । सूर्यमा चन्द्रमाको छाया परेको पहिलोदेखि अन्तिम क्षणहरूसम्म गणना गर्दा सम्पूर्ण घटना साढे घण्टासम्म चल्नेछ।

woman in black T-shirt standing beside woman in gray top
सूर्य ग्रहण हेर्नका लागि सुरक्षित चस्माहरुको प्रयोग गर्नुपर्छ ।

मार्गबाहिर रहेका राज्यका अन्य क्षेत्रहरू पनि आकाशीय तमाशा हेर्न भने सकिनेछ । राज्यमा सबैभन्दा कम कभरेज लङ आइल्याण्डमा हुनेछ, त्यहाँ ८८ प्रतिशत सूर्य छेकिनेछ भने न्युयोर्क शहरमा ८९ प्रतिशत सूर्य छेकिनेछ । न्युयोर्क राज्यको राजधानी क्षेत्रमा ९६ प्रतिशत सूर्य छेकिनेछ ।

पछिल्लो १५ महिनादेखि लगभग दुई दर्जन राज्य एजेन्सीहरू र अधिकारीहरू मिलेर बनेको अन्तर एजेन्सी टास्क फोर्सले न्युयोर्क राज्यका बासिन्दाहरू र आगन्तुकहरूका लागि सुरक्षित र अविस्मरणीय दृश्य अनुभव सुनिश्चित गर्न योजनाहरूमा सहकार्य गरिरहेको छ। यो महत्त्वपूर्ण सुरक्षा र पूर्वतयारी जानकारी सङ्कलन, क्षेत्र विशिष्ट अवलोकन गतिविधिहरू विस्तार र समर्थन गर्दै स्थानीय सरकारहरू र नगरपालिकाहरूसँग नियमित सञ्चार कायम गरी ग्रहण अनुभव गर्न मुख्य स्थानको रूपमा राज्यको जागरूकता निर्माणमा केन्द्रित छ ।

यस्तो घटनाका लागि सार्वजनिक सुरक्षा चुनौतीहरूमा ट्राफिक व्यवस्थापन, सञ्चार क्षमता र सार्वजनिक स्वास्थ्य समावेश छन्। राज्य, काउन्टी र स्थानीय सार्वजनिक सुरक्षा र आपतकालीन व्यवस्थापन प्रयासहरू राज्य भित्र र बाहिर दुवैबाट ग्रहण हेर्न आउनेहरूको आगमनको लागि अपेक्षित आवश्यकताहरू अनुरूप बनाइएको छ । राज्यको लक्ष्य ग्रहणको वरिपरि सुरुदेखि अन्त्यसम्म सुरक्षित र रमाइलो अनुभव प्रदान गर्नु रहेको छ ।

सार्वजनिक सुरक्षामा केन्द्रीत हुनुका साथसाथै राज्यले न्युयोर्कलाई ग्रहण छुट्टी गन्तव्यको रूपमा प्रवर्द्धन गरिरहेको छ । न्यूयोर्क राज्य र आइ लभ न्युयोर्कले दर्शकहरूलाई ग्रहण हेर्ने यात्रालाई पूर्ण बिदामा विस्तार गर्न प्रोत्साहन गरिरहेका छन्। आइ लभ न्युयोर्कले यस घटनाको साक्षी हुने ठाउँको रूपमा न्युयोर्कलाई प्रस्तुत गर्न कम फर द इक्लिप्स, स्टे फर न्यूयोर्क अभियान सुरु गरेको छ। पाँच क्षेत्रहरूमा ग्रहण हेर्ने स्थान जानकारी दिइएको छ ।

एलेगनी स्टेट पार्क, फेयर हेवन बीच स्टेट पार्क, लेचवर्थ स्टेट पार्क, इवांगोला स्टेट पार्क, फोर माइल क्रीक स्टेट पार्क, गोल्डन हिल स्टेट पार्क, वेलेस्ले आइलैंड स्टेट पार्क ग्रहण हेर्नका लागि उत्कृष्ट स्थानका रुपमा लिइएको छ । वेबसाइटमा शिक्षकहरू, परिवारहरू र बच्चाहरूको लागि स्रोतहरूका साथै विभिन्न फोटोहरू र सूर्यग्रहणको बारेमा बारम्बार सोधिने प्रश्नहरू पनि समावेश छन्।

ती पार्कहरुमा आफ्नो स्थान सुरक्षित गर्न रिभर्जका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com