दूषित पानी प्रयोगले हेपाटाइटिस ‘ए’ र ‘ई’ को जोखिम बढाउने चिकित्सकको भनाई


प्रकाशित मिति : चैत्र १०, २०८० शनिबार

दूषित पानी प्रयोगकै कारण पखाला, बान्ता, आउँ, हैजा, कमलपित्त, टाइफाइडलगायत रोगको सङ्क्रमण देखा पर्नाका साथै हेपाटाइटिस ‘ए’ र ‘ई’ को जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन । जनचेतनाको अभावका कारण पानी ‘फिल्टर’ नगर्ने, शुद्धीकरण नगरी पिउनेलगायत कारणले जनस्वास्थ्यमा गम्भीर असर पुगेको चिकित्सकहरुले बताउँदै आएका छन् ।

सरुवा रोगविद् डा शेरबहादुर पुनले दूषित पानीका कारण जनस्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्ने भन्दै यसबारे सबै सचेत भई पानी शुद्धीकरण गरेर वा उमालेर मात्र पिउनुपर्ने बताउनु भयो । दूषित पानीका कारण दीर्घकालीन रोग लाग्ने भन्दै डा पुनले समयमा नै सम्बन्धित पक्ष सचेत हुनुपर्ने उहाँको भनाईछ ।
स्थानीयस्तरमा दूषित पानीबाट हुने स्वास्थ्य समस्याका बारेमा जनचेतना जगाउने, पानी शुद्धिकरणका बारेमा जानकारी दिनेलगायत कार्यक्रम सरोकारवाला निकायले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

जनस्वास्थ्यविद् डा समीर अधिकारीले स्वास्थ रहन सफा पानी पिउनुपर्ने भन्दै पानीको मुहान सफा राख्नुपर्ने, पानी उमालेर प्रयोग गर्नुपर्ने, फलफूल तथा तरकारी पखाल्दा पनि सफा पानी मात्रै प्रयोग गर्नुपर्ने बताउनु हुन्छ ।

खानेपानी मन्त्रालयका उप–सचिव मधु तिमल्सेनाले गुणस्तरीय खानेपानीको पहुँच वृद्धि गर्न मन्त्रालय लागिरहेको बताउनु भयो । मन्त्रालयका उप–सचिव तिमल्सेनाले जमिनमुनिको पानीमा आइरन बढी हुने भएकाले परीक्षण गरेर मात्रै पिउनुपर्ने सुझाव दिनुभयो । गुणस्तरका हिसाबले नयाँ खानेपानी आयोजनामा भन्दा पुराना आयोजनामा आइरन बढी हुने गरेको उहाँको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कूल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये खानेपानीको मुख्य स्रोतका रुपमा धारा, पाइप घरपरिसरभित्र प्रयोग गर्ने ३४ दशमलव ६ प्रतिशत र धारा, पाइप घरपरिसरबाहिर २२ दशमलव ४ प्रतिशत, ट्युबवेल, हातेपम्प २९ दशमलव ८ प्रतिशत, ढाकिएको इनार, कुवा एक दशमलव ५ प्रतिशत रहेका छन् ।

यसैगरी, मूल धारा ३ दशमलव ९ प्रतिशत र जार÷बोतलको पानी प्रयोग गर्ने ४ दशमलव ६ प्रतिशत परिवार छन् । खानेपानीको मुख्य स्रोतका रुपमा खुला इनाररकुवा प्रयोग गर्ने परिवार २ दशमलव १ नदीरखोलाको पानी प्रयोग गर्ने परिवार शून्य दशमलव ४ प्रतिशत रहेका तथ्याङ्कले देखाएको छ । २०७८ को जनगणनामा खानेपानीको मुख्य स्रोतका रुपमा धारारपाइप घरपरिसरभित्र र बाहिरसमेत प्रयोग गर्ने परिवार ५७ प्रतिशत रहेका छन् ।

राष्ट्रिय जनगणना २०६८ मा कूल ५४ लाख २३ हजार २ सय ९७ परिवारमध्ये खानेपानीको मुख्य स्रोतका रुपमा धारा, पाइप घरपरिसरभित्र र बाहिरसमेत प्रयोग गर्ने परिवार ४७ दशमलव ८ प्रतिशत र ट्युबवेल, हातेपम्प प्रयोग गर्ने परिवार ३५ दशमलव १ प्रतिशत थिए । दिगो विकासको लक्ष्यले सन् २०३० सम्ममा प्रदूषण कम गर्ने, गराउने, जताततै फोहोर फ्याँक्ने प्रवृत्ति हटाउने, खतरनाक रसायन एवं रसायनयुक्त सामग्रीको प्रयोग न्यूनीकरण गरेर पानीको गुणस्तर सुधार गर्ने, विश्वव्यापीरुपमा प्रशोधन नगरिएको फोहोर पानीको मात्रालाई आधा गर्ने, पिउने पानीलाई उल्लेख्य मात्रामा प्रशोधन गर्ने र सुरक्षित रुपमा पुनः प्रयोग गर्नेलगायत लक्ष्य लिएको छ ।

सन् २०३० सम्ममा पानीको अभावलाई सम्बोधन गर्न तथा पानीको अभाव झेलिरहन नागरिकको सङ्ख्या घटाउन सबै क्षेत्रमा पानी उपयोग कुशलता वृद्धि गर्ने, स्वच्छ पानीको दीर्घकालीन निष्कासन र आपूर्ति गर्नेलगायत लक्ष्य दिगो विकास लक्ष्य लिइएको छ । १ सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी हुँदा अझै पनि ७३ प्रतिशत जनसङ्ख्याले शुद्ध खानेपानीको सुविधा पाएका छैनन् ।

पानीको स्रोत बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिमा खानेपानीका स्रोत बढी प्रदूषित हुने भएकाले जनस्वास्थ्यमा असर पुगेको छ । नेपालको कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच देखिएको खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कले देखाउछ । संविधानको धारा, ३५ को उपधारा ४ मा ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको पहुँचको हक हुनेछ’ भनी व्यवस्था गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com