महावाणिज्यदूतावास न्युयोर्कबाट पासपोर्ट आवेदनका लागि अप्वाइन्टमेन्ट कसरी लिने?


प्रकाशित मिति : फाल्गुन २८, २०८० सोमबार

नेपाली दूतावासहरु र महावाणिज्यदूतावासहरुमा पासपोर्टका लागि आवेदन दिने क्रममा लाइभ इन्रोलमेन्टका लागि अप्वाइन्टमेन्ट पाउन मुस्किल हुने गुनासो सेवाग्राहीहरुको छ । उपलब्ध अप्वाइन्टमेन्टका स्लटहरुको तुलनामा पासपोर्टका लागि आवेदन दिन चाहनेहरुको संख्या अत्याधिक भएकाले अप्वाइन्टमेन्ट लिनमा समस्या हुने गरेको छ । त्यसैले अप्वाइन्टमेन्टका लागि स्लटहरु खुल्नेबित्तिकै आफ्नो अनलाइनबाट अप्वाइन्टमेन्ट सुरक्षित गरिहाल्न महावाणिज्यदूतावास न्युयोर्कका अधिकारीहरुले सुझाव दिएका छन् ।

महावाणिज्यदूतावास न्युयोर्कका अनुशार सामान्यतया हरेक महिनाको अन्तिमसाता अर्को महिनाका लागि अप्वाइन्टमेन्टका स्लटहरु उपलब्ध गराउने गरिएको छ । अँग्रेजी महिना समाप्त हुनु झण्डै एकसाता अगाडि नै यस्ता अप्वाइन्टमेन्टका स्लटहरु उपलब्ध गराइने भएकाले हरेक महिनाको अन्तिमसाता जतिसक्दो छिटो आफ्नालागि अप्वाइन्टमेन्ट सुरक्षित गर्न सुझाव दिइएको छ । उदाहरणका लागि अप्रिलका लागि मार्चको अन्तिमसाता एकैपटक अप्वाइन्टमेन्ट खोलिने भएकाले र केही दिनमा नै स्लटहरु पूर्ति हुने भएकाले मार्चभरमा नै अप्वाइन्टमेन्ट लिइसक्नुपर्ने हुन्छ ।

हरेक महिनाको अन्तिम साता झण्डै ४ सय अप्वाइन्टमेन्टहरु खुलाइने र ती स्लटहरु एकसाता वा त्योभन्दा पनि छिटो बुक भइसक्ने महावाणिज्यदूतावासका अधिकारीहरु बताउँछन् । कतिपय अवस्थामा अप्वाइन्टमेन्टहरु खुलाएको तीनचारदिनमा नै बुक भइसक्ने र कतिपय अवस्थामा भने केहीदिनसम्म पनि बाँकी रहने गरेको अनुभव रहेको छ । सिमित साधन श्रोतका कारण हरेक दिन पन्ध्रदेखि २० जनासम्मलाईमात्र पासपोर्ट आवेदनमा सेवा दिनसक्ने अवस्था भएको महावाणिज्यदूतावासको भनाई छ ।

नेपाली पासपोर्ट

आपतकालिन अवस्थामा रहेका आवेदकहरुलाई स्थीति हेरेर आपतकालिन अप्वाइन्टमेन्टहरु पनि उपलब्ध गराइदै आएको महावाणिज्यदूतावासको भनाई छ । कुनै आपतकालिन परिस्थीतिका कारण यात्रा गर्नुपर्ने भएमा वा पासपोर्ट चाहिएमा आपतकालिन अप्वाइन्टमेन्टहरु पनि उपलब्ध गराइदै आएतापनि पासपोर्ट बनेर आउन झण्डै २ महिनासम्म लाग्ने भएकाले आपतकालिन यात्रा गर्नुपर्ने र पासपोर्टको म्याद सकिन लागेका वा सकिएकाहरुले ट्राभल डकुमेन्ट बनाएर पनि यात्रा गर्न सक्छन् ।

कनेक्टिकट, न्यूजर्सी, न्यूयोर्क, न्यू हेमशायर, पेन्सिल्भेनिया, भर्मन, मासाच्युसेट्स, मेन वा रोड आइल्याण्ड मध्येका राज्यमा बसोबास गर्नेहरुलाईमात्र न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासले सेवा प्रदान गर्ने भएकाले ती क्षेत्रमा बस्नेहरुलाईमात्र अप्वाइन्टमेन्ट लिन अनुरोध गरिएको छ । अन्य राज्यमा बस्नेहरुलाई वासिंटन डिसीमा रहेको दूतावासमा अप्वाइन्टमेन्ट लिन सुझाव दिइएको छ ।

न्युयोर्क महावाणिज्यदूतावासका लागि तोकिएको कार्यक्षेत्रानुसार जनशक्ति सानो र कार्यचाप उच्च रहेकोले सबै राज्यबाट प्राप्तहुने आवेदन प्रशोधन गर्न कठिनाई हुने महावाणिज्यदूतावासको भनाई छ । हाल न्युयोर्क महावाणिज्यदूतावास नेपाल सरकारको परराष्ट्रमन्त्रालयबाट खटिएका २ जनामात्र कर्मचारीहरु रहेका छन् । कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम सहसचिवमा बढुवा भएर नेपाल फर्किसकेकाले अहिले दूतावासमा वाणिज्यदूत विष्णुकुमारी अधिकारी र उपवाणिज्यदूत संगिता न्यौपानेमात्र रहेका छन् । केहीदिनमा कार्यवाहक महावाणिज्यदूतका रुपमा चक्र सुवेदी आउने तय भएपनि अहिलेसम्म आइसकेका छैनन् ।

पासपोर्टका लागि आवेदन दिंदा राहदानी विभागको वेवसाइटमा गएर लिनुपर्छ । यसरी लिंदा आफ्नो फोन, ल्यापटप वा अन्य डिभाइसमा टाइमजोन काठमाडौंको राख्नुपर्छ । आवेदन दिंदा सबै कागजातहरु तयारी अवस्थामा राख्नुपर्छ । किनभने आवेदन १५ मिनेटभित्र दिनुपर्ने भएकाले र उक्त समयभित्र नदिएमा सेसन सकिने तथा पुन आवेदन सुरु गर्नुपर्ने हुन्छ ।

आवेदन दिंदा अमेरिकाभित्र हुनेहरुलाई राष्ट्रिय परिचयपत्र नम्बर हाल्नु अनिवार्य छैन । आवेदन दिने क्रममा नेपाली नागरिकता र पहिलेको पासपोर्टको पृष्ठ २ र ३ तथा ३० र ३१ को स्क्यान कपी अनलाइनबाटै पेश गर्नुपर्छ । थर परिवर्तन भएको भएमा विवाह दर्ता प्रमाणपत्रको कपी पनि पेश गर्नुपर्छ । नागरिकतामा भएको ठेगाना परिवर्तन भएको भएमा बसाईसराईको प्रमाणपत्र पनि पेश गर्नुपर्छ । न्युयोर्कको महावािणज्यदूतावासमा अप्वाइन्टमेन्ट लिइसकेपछि अनलाइनबाट फर्म पेश गरेर डाउनलोड गर्नुपर्छ । त्यसपछि प्री इन्रोलमेन्ट फर्मको कपी क्युआर कोडसहित प्रिन्ट गरेर तोकिएको दिन र समयमा महावाणिज्यदूतावासमा जानुपर्छ ।

प्रिन्ट गरिएको आवेदनका साथमा ओरिजिनल पासपोर्ट र फोटोकपी, ओरिजिनल नागरिक र फोटोकपी, थर परिवर्तन भएको भएमा विवाह दर्ताको फोटोकपी, बसाई सराई गरेको भएमा त्यसको फोटोकपीसहित महावाणिज्यदूतावासमा भौतिक रुपमा उपस्थीत हुनुपर्छ । नियमित नविकरणका लागि १५० डलर र हराएको तथा चोरी भएको अवस्थामा ३ सय डलरको मनी अर्डर वा क्यासियर चेक लैजानुपर्छ । नगद, डेबिट कार्ड, क्रेडिट कार्ड, व्यक्तिगत चेक स्वीकार नगरिने महावाणिज्यदूतावासले जनाएको छ । मनी अर्डर वा चेकमा अँग्रेजीमा कन्सुलेट जनरल अफ नेपाल न्युयोर्क लेख्नुपर्छ । त्यसपछि महावाणिज्यदूतावासमा आवेदकको बायोमेट्रिक्स लिइन्छ ।

महावाणिज्य दूतावासले राहदानी विभागबाट नयाँ राहदानी प्राप्त गरेपछि आवदेकको ठेगानामा पठाइनेछ । तर त्यसका लागि आवेदकले ट्र्याकिङ नम्बरसहितको आफ्नो ठेगाना लेखिएको प्रिपेड रिटर्न खामको व्यवस्था गरेको हुनुपर्छ । आफै पिकअप गर्न चाहनेले महावाणिज्यदूतावासको फ्रन्ट डेस्कबाट लिन सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com