जलविद्युतमा धमाधम स्वदेशी लगानी बढ्दै


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

जलविद्युत् आयोजनामा धमाधम स्वदेशी लगानी जुट्न थालेको छ । लघु तथा साना जलविद्युत् आयोजनामा मात्र लगानी गर्दै आएका बैंक तथा वित्तीय संस्था अब ८६ मेगावाटसम्मका आयोजनामा लगानी गर्न सक्ने भएका छन् । विद्युत् आयोजनामा स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट लगानी हुन थालेपछि अन्य स्वदेशी लगानीकर्ता पनि उत्साहित भएका छन् । राज्यबाट प्रवद्र्धनको काम भएमा बैंक तथा वित्तीय संस्था विद्युत् आयोजनामा लगानी गर्न थप आकर्षित हुने नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

‘राम्रा आयोजना र प्रवर्द्धकले ल्याएका आयोजनाका पछाडि बैंकहरू छन्,’ एनएमबी बैंकका सिइओसमेत रहेका पौडेलले भने, ‘जलविद्युत्को विकास अपरिहार्य भनिरहेका छौं, प्रवर्द्धक र बैंकलाई आकर्षित हुने गरी राज्यबाट काम भने हुन सकेको छैन ।’माथिल्लो तामाकोसी आयोजनाको वित्तीय व्यवस्थापन टुंगो लागेसँगै स्वदेशी लगानीमै जलविद्युत् आयोजनाको ढोका खुलेको थियो । ०६८ मा सो आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । हाल स्वदेशी लगानीमै १ मेगावाटदेखि ४५६ मेगावाटसम्मका आयोजना निर्माणाधीन छन् । अधिकांश निर्माणाधीन आयोजना चार वर्षभित्र सकिनेछन् ।

स्वदेशी बैंक तथा वित्तीय संस्थाले ८६ मेगावाटसम्मका आयोजनामा लगानी प्रतिबद्धता जनाएका छन् । हाइड्रो भेन्चर प्रालिले निर्माण गर्न लागेको ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा ११ बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरणमा आठ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानीको प्रतिबद्धता गरेका हुन् । यो आयोजना निजी क्षेत्रद्वारा प्रवर्द्धित र स्वदेशी बैंक तथा वित्तीय संस्थाको लगानीमा निर्माण हुन लागेको हालसम्मकै ठूलो हो । ११ अर्ब ८६ करोड रुपैयाँ अनुमानित लागत रहेको सो आयोजनामा तीन अर्ब २१ करोड रुपैयाँ भने सेयरधनी (इक्विटी)बाट लगानी हुनेछ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी र चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन २ सय ७० मेगावाटका चार आयोजनाका लागि स्वदेशी लगानी जुटेपछि आत्मविश्वास बढेको लगानीकर्ताहरू बताउँछन् । बैंकरहरूले पनि स्थानीय अवरोधबाट उत्पन्न जोखिमको अन्त्य तथा प्रसारण लाइन समस्या हटेमा जलविद्युतमा थप लगानी गर्न सकिने बताउादै आएका छन् ।

यसकारण बढ्यो लगानी

नेपाल राष्ट्र बैंकले कृषि तथा ऊर्जा क्षेत्रमा कुल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । यससँगै पर्याप्त लगानी योग्य (तरलता) रकमलगायतका कारण बैंक तथा वित्तीय संस्थाले ठूला जलविद्युत् आयोजनामा लगानी गर्न थालेका नयाँ पत्रिकामा खबर  छ । विद्युत् आयोजनामा दीर्घकालीन प्रतिफल प्राप्त हुने भएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन् । लगानी बोर्डले गरेको अध्ययनअनुसार सन् २०३० सम्ममा १० हजार मेगावाट बिजुली आवश्यक पर्छ । त्यसैले पनि लगानीकर्ता आकर्षित भएको विज्ञहरू बताउँछन् ।

प्रसारण लाइनको समस्या

प्रसारण लाइनमा समस्या रहेकाले जलविद्युत् क्षेत्रमा लगानी कम आकर्षित छ । प्रसारण लाइनकै समस्याले निर्माण सम्पन्न भइसकेका आयोजना पनि राष्ट्रिय प्रसारण लाइनमा नजोडिादा विद्युत् खेर जाने अवस्था छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com