‘नेपाली डाक्टरले परीक्षामा दिएका गलत जवाफ समेत अस्वभाविक रुपमा मेल खाए’: युएसएमएलई


प्रकाशित मिति : फाल्गुन ८, २०८० मंगलबार

person sitting while using laptop computer and green stethoscope near

नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले अदालतमा पेश गरेको जवाफमा युएसएमएलई परीक्षामा नेपाली डाक्टरहरुले दिएको गलत जवाफ समेत एकअर्कासँग उल्लेख्य रुपमा मिलेको दावी गरिएको छ । २०२२ को स्टेप १ परीक्षा तथा सन् २०२१ र २०२२ को स्टेप २ परीक्षामा अस्वभाविक रुपमा उच्च स्कोर ल्याएको एवं नेपाली डाक्टरहरुले दिएको गलत जवाफ समेत एकअर्कासँग उल्लेख्य रुपमा मिलेको अदालतमा पेश गरिएको  कागजातमा उल्लेख गरिएको छ ।

युएसएमएलई परीक्षा दिने नेपाली डाक्टरहरुको संख्या नाटकीय रुपमा बढेको देखाइएको छ । सन् २०२० मा स्टेप १ को परीक्षा दिने नेपाली डाक्टरहरुको संख्या ३६३ रहेकोमा २०२२ मा ६४९ र २०२३ मा ९८१ पुगेको छ । स्टेप २ को परीक्षा दिने नेपालीहरु सन् २०२१ मा २३० जना रहेकोमा २०२२ मा ४४८ र २०२३ मा ६४१ पुगेको देखाइएको छ । त्यस्तै स्टेप ३ को परीक्षा दिने नेपालीहरु २०२१ मा ९० जना रहेकोमा २०२२ मा ३८४ र २०२३ मा ७३२ पुगेका थिए । परीक्षा दिने डाक्टरको संख्यामात्र होइन, उनीहरुले ल्याएको स्कोर पनि अस्वभाविक रहेको अदालतमा पेश गरिएको जवाफमा उल्लेख छ । परीक्षामा अनियमिता भएको आशंका सहित अनुसन्धान नेपालमा मात्र नभई भारतका दुईवटा सेन्टर, जोर्डन, नेपाल र पाकिस्तानमा समेत गरिएको अदालतमा पेश गरिएको कागजातमा उल्लेख छ ।

नेपाली डाक्टरहरुले टेलिग्राममा परीक्षाबारे गरेको समुहगत छलफलको स्क्रीनशटहरु समेत नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले अदालतमा पेश गरेको छ । युएसएमएलईका तर्फबाट काम गर्ने एकजनाले टेलिग्रामको मेसेज ग्रुपमा पहुच प्राप्त गर्न सफल भएको र उक्त समुहमा झण्डै १३ सय सदस्य रहेको समेत उल्लेख छ । उक्त समुहमा समावेश हुनका लागि नेपालसँगको सञ्जाल पुष्टी गर्नुपर्ने र युएसएमएलई टेस्ट परमिट भएको देखाउनुपर्ने प्रावधान समेत राखिएको अदालतमा पेश गरिएको कागजातमा जनाइएको छ । उक्त समुहमा गरिएको एउटा च्याटमा परीक्षार्थीहरु स्टेप १ को परीक्षाका लागि तोकिएको समयभन्दा दुईतीन घण्टा अगाडि नै परीक्षा सकेर बाहिरिएको र यस्तो गर्दा आशंका हुने भएकाले पूरै समय परीक्षामा बस्न समेत सुझाव दिइएको छ ।

औषतमा हरेक प्रश्नको जवाफ दिन ९० सेकेण्ड लाग्ने भएतापनि नेपाली डाक्टरले ३० सेकेण्ड भन्दा कममा जवाफ दिएको र ३० सेकेण्डभित्र स्टेप १ मा ९५ प्रतिशत, स्टेप २ मा ९१ प्रतिशत, स्टेप ३ मा ९१ प्रतिशत जवाफ सही दिएको अदालतको कागजातमा उल्लेख छ । साथै २० सेकेण्डभन्दा कम समयमा जवाफ दिएका प्रश्नहरुको पनि स्टेप १ मा शतप्रतिशत, स्टेप २ मा ९३ प्रतिशत र स्टेप ३ मा ८५ प्रतिशत सही जवाफ दिएको नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले पेश गरेको कागजातमा दावी गरिएको छ ।

युएसएमएलई कार्यक्रमले सन् २०२३ को जनवरीमा नै अनियमितताबारेको पहिलो टिप्स प्राप्त गरेको जनाएको छ । उक्त टिप्समा युएसएमएलईका लागि प्रश्नबैंक नै तयार गरिएको र अत्यन्तै धेरै स्कोर प्राप्त गर्न त्यस्तो प्रश्नबैक भारत र नेपालमा व्यापक रहेको उल्लेख थियो । अर्को सन् २०२३ कै जनवरीमा प्राप्त टिप्समा नेपाल र भारतमा परीक्षार्थीहरुले विगत ६ महिनाका युएसएमएलईका प्रश्नहरु खरिद गर्ने गरेृको सुचना प्राप्त भएको नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले जनाएको छ ।

त्यस्तै परीक्षाका गोप्य सामाग्रीहरु ठूलो मात्रामा नेपालमा सामाजिक सञ्जाल र सामाजिक सञ्जालका च्याटरुमहरुमा शेयर गरेको पाइएको पनि कागजातमा दावी गरिएको छ । नेपाली भएकै कारणले उनीहरुको स्कोर रद्द नगरिएको नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले दावी गरेको छ ।

परीक्षा सामाग्रीहरूमा अनाधिकृत पहुँच प्राप्त गर्ने, प्राप्त गर्न खोज्ने वा प्रदान गर्ने जस्ता गतिविधिहरु युएसएमएलई परीक्षाका सन्दर्भमा अनियमित गतिविधि मानिन्छन् । परीक्षाका प्रश्नपत्रबारे सम्झेर एकअर्कासँग छलफल गर्न वा बताउन पनि निषेध गरिएको छ भने विगतका प्रश्नहरुबारे छलफल गर्न पनि निषेध गरिएको हुन्छ । अनलाइनमामात्र होइन, व्यक्तिगत रुपमा भेटेर पनि विगतका प्रश्नहरु सम्झेर बताउनु र त्यस्ता प्रश्नमा पहुच प्राप्त गर्न खोज्नु पनि अनियमित गतिविधि हो । त्यस्तै कुनै पनि माध्यमबाट परीक्षा सामाग्रीको अनधिकृत पुनरुत्पादन, स्मरण र वा इन्टरनेट मार्फत प्रसार पनि गर्न पाइदैन ।

अनलाइन र सामाजिक सञ्जाल लगायतका सञ्चारमार्फत अर्को परीक्षार्थी, सम्भावित परीक्षार्थी, वा औपचारिक वा अनौपचारिक परीक्षण तयारी समूहसँग कुनै पनि समय परीक्षा अघि, समयमा वा पछि परीक्षाका सामाग्रीहरु, केसहरू र वा जवाफहरूको बारेमा सञ्चार गर्ने प्रयास पनि निषेध गरिएको छ । तर युएसएमएलईले नेपाली परीक्षार्थीहरुले ठूलो समुह बनाएर नै विगतका प्रश्नहरुबारे छलफल गर्ने गरेको दावी गरेको छ ।

brown wooden tool on white surface

मुद्दामा प्रतिवादी नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले स्कोर रद्द गर्नुपर्नाको कारण दावी गर्दै आइतबार ५७ पेजको तर्क अदालतमा पेश गरेको हो । फेडेरेशन अफ स्टेट मेडिकल बोर्डका मुख्य मूल्याङ्कन अधिकारी डेभिड जोन्सन, नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरका बरिष्ठ अधिकारी क्रिस फेडक, युएसएमएलईका उपाध्यक्ष एलेक्स जे मेचाबर, एसोसिएट उपाध्यक्ष डेनियल जुरिच, युएसएमएलईका सेवाग्राही अनुभव निर्देशक कोलिन वार्डले आफ्ना घोषणाहरु बुझाएका छन् भने साथमा बर्गीय मुद्दाका विरुद्धमा १४ पेज लामो र प्रारम्भिक आदेशको मागविरुद्धमा ४३ पेज लामो जवाफ समेत बुझाएका छन् । नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरका तर्फबाट मुद्दाको प्रतिनिधित्व मिउ क्यारोलिनले गरेकी छिन् ।

युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयन रोक्नका लागि प्रारम्भिक आदेशको माग गर्दै दायर मुद्दाका सन्दर्भमा प्रतिवादी द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले फेब्रुअरी १८ को बेलुका ५ बजेसम्म आफ्ना तर्कहरु पेश गर्न अदालतले समयसिमा दिएकोमा उक्त समयसिमा सकिनु केही मिनेट अगाडि ती कागजातहरु पेश गरिएको अदालतको रेकर्डमा देखिएको छ । प्रभावित नेपाली डाक्टरले पसन सोमबार दिउसो साढे ३ बजे त्यसको २८ पृष्ठ लामो जवाफ दिइसकेका छन् । त्यसको समयसिमा सोमबार बेलुका ५ बजेसम्म रहेकोमा समयसिमा सकिनु डेढ घण्टा अगाडि विद्युतीय प्रणालीबाट अदालतमा जवाफ पेश गरिएको हो । अदालतले वादीको मुद्दाको सन्दर्भमा फेब्रुअरी २१ को बेलुका ५ बजे वा त्योभन्दा अगाडि आदेश जारी जनाएको छ ।

त्यसका लागि  नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्दबारे अमेरिकाको वासिंटन डिसीमा चलिरहेको मुद्दामा पहिलो सुनुवाई बुधबार विहान ११ बजे हुने भएको छ । दुबै पक्षलाई विहान अदालतमा न्यायाधिस क्रिस्टोफर कुपरको सामुन्ने भौतिक रुपमा उपस्थीत हुन अदालतले सुचित गरेको छ । कोर्टरुम २७ एमा उपस्थीतिका लागि न्यायाधिस कुपरले आदेश दिएका हुन् । स्कोर रद्दको निर्णय रोक्न प्रारम्भिक आदेशको माग गर्दै युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमा प्रभावित नेपाली डाक्टरले मुद्दा हालेका थिए ।

युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई कार्यक्रमले नेपालका कैयन परीक्षार्थीहरूले प्राप्त गरेको अङ्कलाई रद्दगरेपछि प्रभावित डाक्टरले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध फेब्रुअरी १२ मा अमेरिकी अदालतमा दायर गरेको मुद्दाबारे वासिंटन डिसीको डिस्ट्रिक्ट कोर्टले सोही दिन नै आदेश जारी थियो । युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस रुडोल्फ कोन्त्रेरसले एक आदेश जारी गर्दै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावित डाक्टरहरुलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद स्थगित गर्नुपर्ने निर्णय गरेका थिए । अब यो मुद्दा न्यायाधिस क्रिस्टोफर कुपरको बेन्चमा पुगेको छ ।

a book on a desk

प्रभावित  डाक्टरका तर्फबाट दायर गरेको मुद्दामा निर्णय गर्दै न्यायाधिस कोन्त्रेरसले वादीहरूले युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयन रोक्न प्रारम्भिक निषेधाज्ञा अनुरोधको सम्बन्धमा चलिरहेको अदालतको मुद्दाको सन्दर्भमा द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले ३१ जनवरी २०२४ वा आसपासमा स्कोर रद्दको सूचनाहरू प्राप्त गर्ने व्यक्तिहरूबाट कुनै पनि आवश्यक जवाफको लागि अन्तिम म्याद स्थगित गर्ने निर्णय गरेको थियो । नयाँ समयसीमा अदालतले आफ्नो निर्णय जारी गरेपछि निर्धारण हुनेछ ।

अदालतको आदेश अनुशार द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले आफ्नो हालैको सूचनाको जवाफ दिनको लागि अन्तिम म्याद वादीको प्रारम्भिक आदेशको लागि अनुरोधमा अदालतको निर्णय नआउँदासम्मका लागि पछाडि सानुपर्नेछ । यो सम्बन्धित वर्गमा पर्ने अर्थात् प्रभावित सबै डाक्टरहरुका सन्दर्भमा लागू हुनेछ । द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले एजुकेशनल कमिसन फर फरेन मेडिकल ग्रयाजुएट, फेडेरेशन अफ स्टेट मेडिकल बोर्ड र म्याचलाई पनि यो विस्तारको बारेमा जानकारी दिनुपर्नेछ ।

कुनै पनि पक्षले अन्य सम्भावित चासो राख्ने तेस्रो पक्षहरूलाई जवाफ दिने समयसिमा विस्तारबारे सूचित गर्न सक्ने अदालतको आदेशमा उल्लेख छ । साथै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावितहरुलाई निर्णय पठाउन वा जवाफ दिनका लागि तय भएका कुनै पनि डेडलाइनहरु अदालतले प्रारम्भिक आदेश जारी नगर्दासम्म स्थगित हुनेछन् । योसँगै मुद्दाका प्रभावित डाक्टरहरुले युएसएमएलईको स्कोर रद्द गर्ने निर्णयमा संलग्न अन्य पक्षलाई सूचित नगरी एकतर्फी रुपमा अस्थाई रोक लगाउने आदेशका लगि गरेको माग भने अस्वीकार गरिएको थियो ।

द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले वादी वा कुनै पनि प्रभावितहरुको कारणले कुनै राहत वा सबैलाई समेट्ने राहतको प्रतिज्ञा स्वीकार नगर्ने अदालतलाई थाहा भएको र प्रारम्भिक निषेधात्मक राहतको लागि अनुरोधसहितको वादीको उजुरी र उसलाई भएका सबै अधिकार र प्रतिरक्षाहरू द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरमा सुरक्षित रहने अदालतको आदेशमा जनाइएको थियो ।

युएसएमएलई कार्यक्रमले  अनुसन्धान पछि नेपालका परीक्षार्थीहरुले परीक्षामा प्रश्नहरुको जवाफ दिंदा असामान्य प्रकारको ढाँचा प्रयोग गरेको पत्ता लागेको भन्दै उनीहरुको नतिजालाई रद्द गरेपछि अमेरिका आइसकेका नेपाली डाक्टरहरु समेत समस्यामा परेका छन् । युएसएमएलई परीक्षा उत्तिर्ण गरेर अमेरिका आइसकेकाहरुको समेत पहिलो, दोश्रो र तेश्रो चरणको नतिजासमेत रद्द गरेपछि अमेरिकामा रेसिडेन्सी गरिरहेका नेपाली डाक्टरहरु समस्यामा परेका हुन् । उनीहरुमध्ये कतिपयलाई अस्पताल र युनिभर्सिटीहरुले नआउनका लागि सुचित गरिसकेको  छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com