डोनाल्ड ट्रम्पले मानहानीवापत ई जीन क्यारोललाई ८३ मिलियन डलर तिर्नुपर्ने अदालतको फैसला


प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार

७७ बर्षीय पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मानहानीको मुद्दामा लेखिका ८० बर्षीया ई जीन क्यारोललाई ८३ दशमलव ३ मिलियन डलर तिर्नुपर्ने म्यानहटन जुरीले फैसला सुनाएको छ । एक दशक पुरानो बलात्कारको आरोप लगाएपछि ट्रम्पले सामाजिक सञ्जाल, पत्रकार सम्मेलनहरु र मुद्दा चलिरहेकै बीचमा समेत लेखिका क्यारोलको मानहानी गरेको अभियोगमा अदालतबाट यो आदेश सुनाइएको हो ।

जसमध्ये दण्डनीय क्षतिका लागि ट्रम्पले ६५ मिलियन डलर तिनुपर्ने नौ सदस्यीय जूरीले ठहर गरेको छ । ह्वाइट हाउसमा रहँदा र कार्यालय छोडेपछि ट्रम्पको लगातार क्यारोलमाथिको आक्रमणलाई निरन्तरता दिएको उनका वकिलले दावी गरेका थिए । हालैको एक दिनमा ट्रम्पले सामाजिक सञ्जालमा क्यारोलकाबारेमा ४० भन्दा बढी व्यंग्यात्मक पोस्टहरू गरेका थिए । क्यारोलले आफूलाई जताततैबाट आक्रमण भएको र आफू नयाँ ब्रम्हाण्डमा बाँचेको बयान दिएकी थिइन् ।

ई. जीन क्यारोलले म्यानहट्टनको संघीय अदालतबाट पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको सिभिल मानहानि मुद्दाको सुनुवाइको क्रममा । (तस्बिर माइकल नागले/सिन्ह्वा)

ट्रम्पलाई एक वर्षभन्दा कम अवधिमा क्यारोललाई क्षतिपूर्ति तिर्न अदालतले आदेश दिइएको यो दोस्रो पटक हो। गतबर्षको मेमा न्यूयोर्कको एक अदालतले ट्रम्पलाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गर्दै क्यारोललाई ५ मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको र झुटो भनेर बदनाम गरेको आरोप लगाएपछि छ जना पुरुष र तीन महिलाको निर्णायक मण्डलले क्यारोललाई क्षतिपूर्ति दिलाउने निर्णय गरेको थियो ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्यूयोर्कमा आफ्नो अपार्टमेन्ट भवन छोड्ने क्रममा मुट्ठी उठाउँदै। (एपी फोटो/युकी इवामुरा)

अदालतले क्यारोललाई ५ मिलियन तिर्न आदेश दिएकोमा ट्रम्पले गरेको मानहानिको लागि ३ मिलियन डलर र सन् १९९० को दशकमा गरेको यौन दुर्व्यवहार सहित दुर्व्यवहारको लागि २ मिलियन डलर तोकिएको थियो । यद्यपि अदालतले डिपार्टमेन्ट स्टोरमा क्यारोललाई बलात्कार गरेको आरोपमा भने ट्रम्पलाई जिम्मेवार पाएन किनभने मुद्दा फौजदारी अदालतमा नभई सिभिल कोर्टमा चलिरहेको थियो।

 पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि वकिल अलिना हब्बा न्यूयोर्कको म्यानहट्टन संघीय अदालत परिसरमा । (माइकल एम. स्यान्टियागो  / एएफपी मार्फत गेटी )

अदालतले फैसला गरेपनि क्यारोलले रकम भने तत्कालै पाउने छैनिन् । गत वर्ष पहिलो मानहानि मुद्दामा जुरीले क्यारोललाई कूल ५ मिलियन डलर क्षतिपूर्ति दिलाएपनि उनले त्यो रकम समेत अझै पाएकी छैनिन् । किनभने त्यो फैसला अझै पनि पुनरावेदन भइरहेको छ । ट्रम्पले शुक्रबारको ८३ मिलियन डलर क्षतिपूर्तिको फैसलाको पनि पुनरावेदन गर्ने घोषणा गरिसकेका छन् । सर्वोच्च अदालतका मुद्दासहित सबै अपीलहरू टुंगो नलागेसम्म क्यारोलले रकममा पहुँच पाउने छैनन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com