अमेरिकामा पहिलोपटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो, कसरी काम गर्छ यो विधिले?


प्रकाशित मिति : माघ ११, २०८० बिहीबार

केनेथ यूजीन स्मिथ नामका कैदीलाई अमेरिकामा पहिलोपटक नाइट्रोजन ग्यासको प्रयोग गरेर मृत्युदण्ड दिइएको छ । योसँगै अमेरिकामा मृत्युदण्डको पूर्णरुपमा नयाँ विधिको उदय भएको छ । यो नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइएको विश्वमै पहिलो भएको समेत जनाइएको छ । अत्यधिक पीडा वा यातना हुनसक्ने भन्दै यो विधिको विरोध पनि भएको थियो ।

अन्तिम मिनेटको अपीलमा हारेपछि उनलाई नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिइएको हो । केनेथ यूजीन स्मिथका वकिलहरूले क्रूर र असामान्य सजाय भन्दै अमेरिकी सर्वोच्च अदालत र पुनरावेदन अदालतमा अपिल गरेपनि अदालतले ती अपिलहरु अस्वीकार गरेको थियो । ५८ वर्षीय स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

अलाबामाले दुई वर्ष पहिले नै स्मिथलाई घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिने प्रयास गरेको थियो तर उक्त प्रयास असफल भएको थियो । स्मिथ सन्१९८८ मा ४५ वर्षीय सेनेट को १ हजार डलर रकम लिएर हत्या गरेको अभियोगमा दोषी ठहरिएका दुई व्यक्ति मध्ये एक थिए। ती महिलाको फायरप्लेसको उपकरणले कुटपिटका साथै छाती र घाँटीमा छुरा प्रहार गरी हत्या गरिएको थियो ।

अलाबामा र दुई अन्य अमेरिकी राज्यहरू ओक्लाहामा र मिसिसिपीले मृत्युदण्ड कार्यान्वयनको वैकल्पिक विधिको रूपमा नाइट्रोजनको प्रयोगलाई अनुमोदन गरेका छन् किनभने घातक इंजेक्शनहरूमा प्रयोग हुने औषधिहरू फेला पार्न गाह्रो भएको छ । जसले राष्ट्रिय रूपमा मृत्युदण्डको संख्यामा गिरावट आएको छ ।

अक्सिजन बिना शुद्ध नाइट्रोजनबाट सास फेर्दा कोशिकाहरू भाँचिन्छ र मृत्यु हुन्छ। व्यक्तिले केही सेकेन्डमा होश गुमाउने र केही मिनेटमै मृत्यु हुने बताइन्छ । तर यसको प्रयोगलाई केही चिकित्सा पेशेवरहरूले निन्दा गरेका छन् । यसले विनाशकारी दुर्घटनाहरूको दायरा निम्त्याउन सक्ने उनीहरुको चेतावनी छ ।

बिहीबार स्मिथले मृत्युदण्ड अगाडि अन्तिम खानाका रुपमा स्टेक, ह्यासब्राउन र अण्डा खाएका थिए । नाइट्रोजनबाट मृत्युदण्ड कुन विधिबाट कार्यान्वयन हुन्छ भन्ने बारे कममात्र सार्वजनिक गरिएको छ । तर राज्यले भने नाइट्रोजन ग्यासबाट मृत्युलाई सम्भवतः कार्यान्वयनको सबैभन्दा मानवीय विधि भनेर विश्वास गर्छ ।

अलाबामाका अधिकारीहरूले स्मिथलाई मृत्युदण्ढ दिन नाइट्रोजनबाट स्वासप्रस्वास गराउने मास्क प्रयोग गरेको जनाइएको छ । यो प्रक्रियाले अनिवार्य रूपमा श्वासप्रश्वास प्रणालीलाई असक्षम पार्छ। व्यक्तिले यो प्रक्रियामा छिट्टै चेतना गुमाउने र यसलाई अन्य कार्यान्वयन विधिहरू भन्दा बढी मानवीय बनाउने बताइएपनि केही डाक्टरहरूले भने नाइट्रोजन ग्यासबाट व्यक्तिले कहिले होश गुमाउने हो भनेर यकिन गर्न नसकिने बताउँछन्।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com