क्यालिफोर्नियाका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने नियम कार्यान्वयनमा अदालतको रोक


प्रकाशित मिति : पुस २२, २०८० आईतबार

a man holding a gun in his pocket

केही सार्वजनिक स्थलहरुमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने क्यालिफोर्नियाको कानूनलाई संघीय पुनरावेदन अदालतले कार्यान्वयनमा रोक लगाएको छ । डिसेम्बरको मध्यमा एक अमेरिकी संघीय न्यायाधीशले क्यालिफोर्नियाको कानूनलाई अस्थायी रूपमा अवरुद्ध गरेका थिए । यो कानून जनवरी १ मा लागू हुने तय भएको थियो ।

त्यसपछि डिसेम्बर ३० मा संघीय पुनरावेदन अदालतले जिल्ला न्यायाधीशको निर्णयमा अस्थायी रोक लगाएको थियो, जसले कानुनी लडाइँ जारी राख्दै नयाँ वर्षको दिनमा कानून लागू हुन मार्गप्रशस्त गरेको थियो । शनिबार ९ औं सर्किट पुनरावेदन अदालतले उक्त रोक भंग गर्दै जिल्ला न्यायाधीशको आदेशलाई नै पुनर्स्थापित गरेपछि क्यालिफोर्नियाका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने कानून कार्यान्वयन नहुने भएको छ ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमका प्रवक्ता ड्यानियल विलासेनोरले अदालतको निर्णयलाई खतरनाक निर्णय भनेका छन्, जसले क्यालिफोर्नियाका बासिन्दाहरुको जीवनलाई जोखिममा राखेको छ । राज्यमा बन्दुक सुरक्षामा दशकौंको प्रगति कायम राख्दै क्यालिफोर्नियाका बासिन्दाको रक्षा गर्न काम गर्न नछोड्ने उनले बताएका छन् । ९ औं सर्किट कोर्टको प्यानलले अप्रिलमा मुद्दाबारे तर्कहरू सुन्नेछ।

woman in gold dress holding sword figurine

सेप्टेम्बरमा गभर्नरले हस्ताक्षर गरेको कानूनले सार्वजनिक पार्क र खेल मैदान, चर्च, बैंक र चिडियाखानालगायत २६ स्थानमा लुकाइएका बन्दुक समेत बोक्न निषेध गरेको थियो ।

यो प्रतिबन्ध व्यक्तिसँग लुकाइएको हतियार बोक्ने अनुमति भए नभएको दुबै अवस्थामा लागू हुने प्रावधान थियो । निजी स्वामित्वमा रहेका व्यवसायहरूका लागि भने अपवाद थियो । उनीहरुलाई आफ्नो व्यवसायको परिसरमा बन्दुक ल्याउन अनुमति दिइएको थियो ।

क्यालिफोर्निया राइफल एन्ड पिस्टल एसोसिएसनले कानून अवरुद्ध गर्न मुद्दा दायर गरेको थियो । त्यसपछि अमेरिकी जिल्ला न्यायाधीश कर्माक कार्नीले डिसेम्बर २० मा यसलाई अवरुद्ध गर्ने प्रारम्भिक निषेधाज्ञा दिएका थिए । उनले यो कानून व्यापकरुपमा संविधानको दोस्रो संशोधनसँग विरोधाभासपूर्ण रहेको तथा सर्वोच्च अदालतको खुलेआम अवहेलना गरेको उल्लेख गरेको थियो ।

कार्नीले बन्दुक अधिकार समूहहरूले यसलाई असंवैधानिक साबित गर्न सफल हुने सम्भावना रहेको र त्यसको मतलब यो स्थायी रूपमा उल्टाइने बताएका थिए । गभर्नरले भने बन्दुक नियन्त्रणका कडा उपायहरूको लागि निरन्तर प्रयास गर्ने बताएका छन् । राष्ट्रपतिको सम्भावित उम्मेदवारको रूपमा उनले बन्दुक नियन्त्रणमा आफूलाई राष्ट्रिय नेताको रूपमा प्रस्तुत गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com