मेन राज्यमा पनि ट्रम्पलाई लगाइयो चुनाव उठ्न प्रतिबन्ध, उग्र बामपन्थी निर्णय भन्दै ट्रम्प पक्षको विरोध


प्रकाशित मिति : पुस १२, २०८० बिहीबार

मेन राज्यका शीर्ष निर्वाचन अधिकारीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राज्यको २०२४ को प्राइमरी चुनावको मतपत्रबाट हटाएका छन् । संविधानको १४ औं संशोधनको विद्रोह सम्बन्धि प्रतिबन्धमा आधारित रहेर ट्रम्पलाई चुनावी मतपत्रबाट हटाइएको हो ।

कोलोराडोको सर्वोच्च अदालतले यस महिनाको सुरुमा ट्रम्पलाई मतपत्रबाट हटाउने आश्चर्यजनक निर्णय दिएको थियो । अहिलेको निर्णयले ट्रम्पलाई चुनाव लड्न अयोग्य ठहराउने मेन दोस्रो राज्य भएको छ । यो समाचार ट्रम्पका आलोचकहरूका लागि महत्त्वपूर्ण विजय हो । ट्रम्पका आलोचकहरुले देशलाई लोकतान्त्र विरोधी विद्रोहीहरुबाट जोगाउने संवैधानिक प्रावधान लागू गर्न खोजिरहेको बताउदै आएका छन् ।

मेनकी सेक्रेटरी अफ स्टेट शेन्ना बेलोजले यस महिनाको सुरुमा उम्मेदवार बन्नका लागि ट्रम्पको योग्यताको बारेमा प्रशासनिक सुनुवाइको अध्यक्षता गरेपपछि बिहीबार निर्णय जारी गरिएको हो । राज्यका पूर्व सांसदहरूको द्विदलीय समूहले ट्रम्पविरुद्ध चुनौती दायर गरेको थियो।

अमेरिकी सर्वोच्च अदालतले सम्पूर्ण देशको लागि ट्रम्पबारेको मुद्दाको समाधान गर्ने कानुनविदहरुको विश्वास छ । मेन राज्यको निर्णयले कोलोराडोको निर्णयपछि ट्रम्पको विपक्षमा एउटा परिदृश्य निर्माण गरेको छ । कोलोराडो भन्दा पहिले मिशिगन र मिनेसोटा जस्ता धेरै अन्य राज्यहरूले यस्तै प्रयासहरू अस्वीकार गरेका थिए ।

गृहयुद्ध पछि अनुमोदित सैंविधानको १४ औं संशोधनले विद्रोहमा संलग्न अमेरिकी अधिकारीहरूले भविष्यमा सरकारी पद धारण गर्न नसक्ने उल्लेख गरेको छ । तर यो प्रावधान अस्पष्ट छ । यस्तो प्रतिबन्ध कसरी लागू गर्ने भन्नेबारे थप प्रष्ट छैन ।

बिहीबार एक विज्ञप्तिमा ट्रम्प अभियानका प्रवक्ता स्टीवन चेउङले मेनका सेक्रेटरी अफ स्टेट बेलोजलाई उग्र वामपन्थी भएको आरोप लगाएका छन् । बेलोजले राष्ट्रपतिको चुनावमा हस्तक्षेप गर्ने निर्णय गरेको ट्रम्प अभियानका प्रवक्ताको आरोप छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com