अमेरिकामा तीनजना प्यालेस्टिनी मूलका विद्यार्थीमाथि गोली प्रहार


प्रकाशित मिति : मंसिर ११, २०८० सोमबार

अमेरिकाको भर्मोन्ट राज्यको बर्लिङटनमा थ्याङ्क्सगिभिङ बिदाको जमघटका लागि आएका प्यालेस्टिनी मूलका तीनजना युवाहरूलाई भर्मन्ट विश्वविद्यालय नजिकै गोली हानी घाइते बनाइएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले आइतवार बताएका छन् । आक्रमण घृणा अपराध हुन सक्नेबारे अनुसन्धान भइरहेको छ ।

साँझ ६ बजेर २५ मिनेटमा भएको आक्रमणपछि प्रहरीले शंकास्पद व्यक्तिको खोजी गरिरहेको छ । घाइतेमध्ये दुईजना पुरुषको अवस्था स्थिर रहेको छ भने अर्कोलाई धेरै गम्भीर चोट लागेको जनाइएको छ । तीनै जना सबै २० वर्षको हाराहारीका रहेका छन् । उनीहरु तीनजनामध्ये एक आफन्तको घरमा घेटघाटका क्रममा गइरहेका थिए । त्यहीबेला उनीहरूलाई एक श्वेत व्यक्तिले ह्यान्डगनबाट गोली हानेको थियो ।

केही नबोली उसले पेस्तोलबाट कम्तिमा चार राउण्ड प्रहार गरेर भागेको विश्वास गरिएको छ । तीनजना पीडितहरूमध्ये दुईजनाको धडमा र एकजनाको तल्लो भागमा गोली हानिएको थियो । पीडित प्यालेस्टिनी मूलका व्यक्तिहरुमध्ये दुई जना अमेरिकी नागरिक र एकजना ग्रिनकार्डवाहक हुन् । दुई जना पुरुषले कालो र सेतो प्यालेस्टिनी केफियेह स्कार्फ लगाएका थिए ।

यदि यो घृणाले प्रेरित अपराध भएको पुष्टी भएमा संघीय अनुसन्धान र अभियोजक साझेदारहरूसँग सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । अहिले नै सर्वसाधारणहरुलाई निष्कर्षमा नपुग्न सुझाव दिइएको छ ।

अमेरिकी अरब भेदभाव विरोधी समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै पीडितहरू प्यालेस्टिनी मूलका विद्यार्थीहरू भएको र पीडितहरू अरब भएकाले गोली हानिएको विश्वास गर्ने कारण रहेको बताएको छ । गोली प्रहार व्यक्तिले अरबीमा कुराकानी गरिरहेका पीडितहरूलाई चिच्याएर गाली गरेपछि उनीहरूलाई गोली हानेको समितिको विज्ञप्तिमा भनिएको छ।

अल्बानी न्यूयोर्कमा रहेको एफबीआईले एक्समा पोस्ट गर्दै बर्लिङटनमा प्रहरी विभाग, एटीएफ र अन्य संघीय, राज्य र स्थानीय एजेन्सीहरूसँग गोलीकाण्डबारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको बताएको छ। राष्ट्रपति जो बाइडेनलाई पनि गोलीकाण्डको बारेमा जानकारी दिइएको छ ।

अमेरिकी इस्लामिक सम्बन्ध काउन्सिलले विज्ञप्तिमा गोलीकाण्डका लागि जिम्मेवार व्यक्ति वा व्यक्तिहरूलाई पक्राउ गर्न वा दोषी ठहराउने जानकारीको लागि १० हजार डलरइनाम प्रस्ताव गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com