न्युयोर्कमा दिउसो १ बजेर २३ मिनेटमा सूर्यग्रहण सुरु हुने


प्रकाशित मिति : भाद्र ५, २०७४ सोमबार

आज उत्तर अमेरिकाबाटमात्र हेर्न सकिने खग्रास सूर्यग्रहण न्युयोर्कमा भने खण्डग्रास सूर्यग्रहणका रुपमा मात्र हेर्न सकिनेछ । अमेरिकाका विभिन्न स्थानमा सूर्य पूर्णरुपमा छोपिएको देखिने भएपनि न्युयोर्कमा भने सूर्य पूर्णरुपमा छोपिनेछैन ।

न्युयोर्कमा स्थानीय समय अनुशार १ बजेर २३ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ । दिउसो २ बजेर ४४ मिनेटमा सूर्य सबैभन्दा धेरै छोपिनेछ भने ४ बजे सूर्य छोपिने क्रम समाप्त हुनेछ । यसरी न्युयोर्कबाट भने खण्डग्रास सूर्यग्रहण मात्र हेर्न सकिनेछ । तर नांगो आँखाले सूर्य र सूर्यग्रहण हेर्न भने बर्जित गरिएको छ ।

अमेरिकाको केन्टकी हप्किन्सभिलबाट पूर्णरुपमा सूर्यग्रहण हेर्नसकिने छ । त्यहाँको स्थानीय समय अनुशार दिउसो १ बजेर २० मिनेटजाँदा चन्द्रमाको छायाले सूर्य पूर्णरुपमा छेकिने छ । सूर्य पूर्णरुपमा छोपिने क्रम २ मिनेट ४० सेकेण्डसम्म जारी रहनेछ । त्यो अवधिभर सूर्य छेकिने भएकाले अन्धकार हुने जनाइएको छ । सबैभन्दा लामो समय सूर्य छोपिएको दृश्य पनि केन्टकी हप्किन्सभिलबाट नै देखिनेछ । सूर्य छोपिने क्रम भने सेन्ट्रल डेलाइट टाइम अनुशार विहान ११ बजेर ५६ मिनेटमा सुरु हुनेछ ।

न्युयोर्क समय अनुशार आज विहान ११ बजेर ४६ मिनेट ५० सेकेण्ड जाँदा सूर्यग्रहण सुरु हुनेछ भने दिउसो ५ बजेर ४ मिनेट २१ सेकेण्डजाँदा समाप्त हुनेछ । ग्रहण एउटा स्थानबाट लाग्ने र अर्को स्थानमा सकिने भएकाले सबैस्थानबाट एकैपटक नभई फरक फरक समयमा देख्न सकिनेछ । तर विश्वब्यापी रुपमा भने सूर्यग्रहण देखिने पहिलो स्थानमा न्युयोर्क सयम अनुशार १२ बजेर ४८ मिनेट ३४ सेकेण्ड जाँदा पूर्णरुपमा सूर्य छोपिने क्रम सुरु हुनेछ । त्यसपछि पूर्णरुपमा ग्रहण भने न्युयोर्क समय अनुशार २ बजेर २५ मिनेट ३५ सेकेण्डमा लाग्नेछ । न्युयोर्क समय अनुशार ४ बजेर २ मिनेट ३३ सेकेण्डसम्म अन्तिम स्थानबाट खग्रास सूर्यग्रहण देखिनेछ ।

ओरेगनको सालेममा प्यासेफिक समय अनुशार विहान ९ बजेर ५ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ भने १० बजेर १८ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ । त्यस्तै आइदाहोको आइदाहो फल्समा माउन्टेन डेलाइट टाइम अनुशार १० बजेर १५ मिनेटमा सुरु भई ११ बजेर ३३ मिनेटमा सूर्य पूर्णरुपमा छोपिने छ । वायोमिंग कास्परमा माउन्टेन डेलाइट टाइम अनुशार १० बजेर २२ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ भने ११ बजेर ४३ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ ।

नेब्रास्कामा सेन्ट्रल टाइम अनुशार ११ बजेर ३७ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ भने १ बजेर ३ मिनेट जाँदा सूर्य पूर्णरुपमा छोपिनेछ । कन्सासमा सेन्ट्रल टाइम अनुशार ११ बजेर ३८ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ भने १ बजेर ५ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ । त्यस्तै मिजौरीमा सेन्ट्रल टाइम अनुशार बजेर ४६ मिनेटमा सुरु हुनेछ भने १ बजेर १४ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ । इलिनोयमा सेन्ट्रल टाइम अनुशार ११ बजेर ५२ मिनेटमा सुरु हुनेछ भने १ बजेर २१ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ । टेनिसीको नासभिलमा सेन्ट्रल समय अनुशार ११ बजेर ५८ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ भने १ बजेर २८ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ ।

पूर्वीय समय अनुशार जर्जियामा १ बजेर ७ मिनेटमा साउथ क्यारोलिनाको कोलम्बियामा १ बजेर १३ मिनेटमा र साउन क्यारोलिनाको चाल्र्सटनमा १ बजेर १६ मिनेटमा सुरु भई क्रमश २ बजेर ३७ मिनेट, २ बजेर ४३ मिनेट र २ बजेर ४७ मिनेटमा सूर्य पूर्णरुपमा छोपिनेछ ।

खग्रास सूर्यग्रहण उत्तर अमेरिकाबाटमात्र हेर्न सकिने भएपनि विश्वका केही भागमा खण्डग्रास सूर्यग्रहण देख्न सकिनेछ । अमेरिकामा ९९ बर्षपछि यस्तो सूर्यग्रहण लाग्ने भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com