न्युयोर्क जेलमा ज्यान गुमाएका नेपाली युवाको अन्त्येष्टिको टुंगो झण्डै १ महिनापछि ह्यारी भण्डारीको सहयोगमा


प्रकाशित मिति : कार्तिक १५, २०८० बुधबार

गत अक्टोबर ५ मा न्युयोर्कको जेलमा ज्यान गुमाएका नेपाली युवा २७ बर्षीय नेपाली युवा मनिष कुँवरको अन्त्येष्टिको टुंगो झण्डै १ महिनापछि लागेको छ । मेरिल्याण्डको संसदमा प्रतिनिधित्व गर्ने नेपाली मूलका सांसद ह्यारी भण्डारीको कार्यालयले कुँवरको अन्त्येष्टिका लागि सहयोग गरेको हो । कुँवरको अमेरिकामा नजिकको परिवार नभएको र उनकी बहिनी जागिरका कारण मध्यपूर्वमा रहेको परिस्थितिलाई ध्यानमा राख्दै भण्डारीको कार्यालयले उनको अन्त्येष्टिको व्यवस्था गर्न पहल गरेको हो ।

अमेरिकामा रहेका कुँवरका एक जना टाढाका नातेदार सहयोगको लागि भण्डारीको कार्यालयमा पुगेका थिए । परिस्थितिको गम्भीरता र परिवारले भोगिरहेको भावनात्मक अशान्तिलाई बुझ्दै प्रतिनिधि भण्डारीको कार्यालयले मुद्दामा तोकिएको वकिलसँग नजिकबाट काम गरिरहेको जनाएको छ। भण्डारीको कार्यालयले कुँवरको शवलाई अन्त्येष्टि गृहमा स्थानान्तरण गर्न र अन्त्येष्टि प्रक्रियाका लागि आवश्यक सबै कागजी कार्यहरू संकलन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

ह्यारी भण्डारीले यो हृदयविदारक अवस्था भएको र आफ्नो प्राथमिक चिन्ता कुँवरको उचित अन्तिम संस्कार होस् भन्ने सुनिश्चित गर्नु रहेको बताएका छन् । यस्ता चुनौतीपूर्ण समयमा परिवार र समुदायलाई सहयोग गर्न आफूहरु तत्पर रहेको उनले बताए । आफ्नो कार्यालयले मध्यपूर्वमा रहेकी मनीषकी बहिनी र स्थानीय अधिकारीहरूबीच सम्पर्क सुनिश्चित गर्न सक्रिय रूपमा समन्वय गरिरहेको उनले बताएका छन् ।

अक्टोबर ५ मा न्युयोर्क सिटीको कुख्यात राइकर्स आइल्याण्ड जेलमा नेपाली युवा मनिष कुँवरको मृत्यु भएको थियो । रहस्यमय मृत्यु भएका २७ बर्षीय नेपाली युवा मनिष कुँवर मानसिक बिरामी र घरबारविहीन थिए । उनी अक्टोबर ५ बिहिबार विहान जेलमा मृत अवस्थामा भेटिएका थिए भने उनको मृत्यु भएको कैयन घण्टापछि शव फेला परेको थियो । उनको शव विहान ६ बजेर २० मिनेटमा जेलको परिसरमा भेटिएको थियो ।

अन्तिम पटक सुरक्षा अधिकारीहरूले कुँवरलाई उनको शव फेला पार्नु भन्दा १० घण्टा अघि सुरक्षा भिडियोमा जीवित देखेका थिए । कुँवर बुधबार राति ८ बजेर २६ मिनेटमा आफ्नो सेलमा हिड्दै गरेको अवस्थामा देखिएको जनाइएको छ । सेप्टेम्बर २७ मा जेल पर्नुअघि उनी लागूऔषध दुर्व्यसन, मानसिक रोग र घरबारविहीनतासँग संघर्ष गरिरहेका थिए । घरबारविहीन भएर सडकमा संघर्ष गर्दा ज्यान नगुमाएका कुँवरको सरकारी जेलभित्र मृत्यु भएपछि एकजना करेक्सन क्याप्टेन र एकजना अधिकारीलाई निलम्बन गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । क्याप्टेनको निलम्बन र भिडियोले जेलका कर्मचारीहरूले रातभर कुँवरको युनिटमा चेकजाँच नगरेको देखिएको छ । डिपार्टमेन्ट अफ करेन्सनको नीति अन्तर्गत कर्मचारीहरूले कम्तिमा प्रत्येक आधा घण्टा एकाइहरू भ्रमण गर्न आवश्यक छ।

कुँवर सन् २०१६ मा डिभी परेर नेपालबाट अमेरिका आएका थिए । उनी त्यसलगत्तै होमलेस भएको जनाइएको छ । सात बर्ष अगाडि न्युयोर्क सिटीमा भेटिंदा उनी होमलेस भएका थिए । उनी न्युजर्सीमा रहेको एउटा होमलेस सेल्टरमा समेत बसेका थिए । उनी न्यु जर्सीको अरु ठाउँमा पनि बसोबास गरेको तथा रेस्टुरेन्ट र कन्स्ट्रक्सन कम्पनीमा समेत काम गरेको जनाइएको छ । पछि उनको काँधमा चोटपटक लागेपछि उनी थप समस्यामा परेका थिए । उनी लामो समयदेखि मानसिक रोग, लागुऔषध र रक्सीसँग जुधिरहेका थिए ।

कुँवरलाई जुन २०२२ मा क्वीन्समा डकैती गरेको आरोप थियो । उनले चक्कु देखाएर एक व्यक्तिबाट १२०० डलर लिएको अभियोग यिो । जुन २०, २०२२ मा कोरोनाको क्विन्सको ३७ औं एभिन्यु र ९३ औं स्ट्रीटमा उनले एक व्यक्तिलाई चक्कु देखाएर रकम लुटेको कागजातमा उल्लेख छ । यो अभियोगमा उनी अदालतमा उपस्थित भएनन् भने उनलाई पक्राउ गर्न वारेन्ट जारी गरिएको थियो। त्यसैबीच उनीविरुद्ध अन्य घरबारविहीन व्यक्तिले क्रेडिट कार्ड दिएको र अरुको कार्ड प्रयोग गरेर पसलबाट खाना किन्न खोजेको अभियोग पनि थियो । उनले प्रयोग गरेको कार्ड चोरीको कार्ड भएको खुलेको थियो ।

विगतमा कुँवर बाल्टिमोर पुगेर त्यहाँको मनोचिकित्सक केन्द्रमा पाँच महिना बिताएको जनाइएको छ । उनलाई डेलावेयरबाट पक्राउ गरिएको थियो। डेलावरबाट उनी आफैले ९११ मा फोन गरेका थिए । उनले आफूमा आत्महत्याको सोंच आएको भन्दै प्रहरीलाई फोन गरेको थिए । त्यसपछि उनी पक्राउ परेका थिए । त्यसको केही दिनपछि उनको क्वीन्समा पनि वारेन्ट रहेको पत्ता लगाइएको थियो । त्यसपछि उनलाई डकैतीको आरोपको सामना गर्न न्युयोर्क सिटी पठाइएको थियो र जेलमा राखिएको थियो ।

न्युयोर्क सिटी डिपार्टमेन्ट अफ करेक्सनको रेकर्ड अनुशार उनी सेप्टेम्बर २७ मा पक्राउ परेका थिए । उनलाई मृत्यु भएको केही घण्टापछि अदालतमा पेश गर्ने तयारी गरिएको थियो भने उनको अदालतको अर्को सुुनुवाईको मिति अक्टोबर २७ का लागि तय गरिएको थियो । तर जेलमा राखेको झण्डै एकसातामा नै उनको मृत्यु भएको रेकर्डमा खुलेको छ ।

सन् १९९६ मा जन्मिएका उनी ५ फिट ६ इन्च अग्ला र १५० पाउण्ड तौल भएका रेकर्डमा उल्लेख छ । उनको कालो कपाल र खैरा आँखा थिए । उनको मुद्दाको प्रतिनिधित्व गर्दै आएको न्युयोर्कको लिगल एड सोसाइटीले पनि यसको पुष्टी गरेको छ । सोसाइटीले कुँवरको निधनमा शोक व्यक्त गरेको छ । राइकर्स आइल्याण्डमा उनको निधन भएको खबरले आफूहरु स्तब्ध र आक्रोशित भएको एक विज्ञप्तीमा उल्लेख छ । कुँवरको परिवार, साथीहरू र समुदायप्रति सोसाइटीले गहिरो समवेदना प्रकट गरेको छ ।

उनलाई उपचारको सट्टा जेल राखेका कारण यो हानी भएको सोसाइटीको भनाई छ । आफूलाई चाहिने सेवा र स्थिर आवासमा पहुँच गरेको भए आजको त्रासदीबाट बच्न सकिने वित्रप्तीमा उल्लेख छ । हिरासतमा रहेका न्युयोर्कवासीहरूको भलाइ सुनिश्चित गर्न करेक्सन विभाग निरन्तर असफल भएको र आधारभूत जेलका कार्यहरू व्यवस्थापन गर्न असमर्थ भएको कुरा अस्वीकार्य भएको विज्ञप्तीमा जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com