नेपालका परराष्ट्र मन्त्री र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता, अमेरिकाबाट थप सहयोगको आव्हान


प्रकाशित मिति : कार्तिक १३, २०८० सोमबार

नेपालका परराष्ट्र मन्त्री माननीय एनपी साउदले आज वाशिङटन डीसीको विदेश मन्त्रालयमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटमा द्विपक्षीय सम्बन्धमा साझा हितका विषयमा छलफल हुनुका साथै साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूका विषयमा पनि कुराकानी भएको छ ।

भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा संलग्नतालाई विस्तार र गहिरो बनाउने प्रतिबद्धता जनाएका थिए ।

परराष्ट्रमन्त्रीले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएको सन्दर्भमा विकासका प्राथमिकताहरू प्रकाश पार्दै व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोग गर्न आह्वान गरे । उनले नेपालका लागि नयाँ निर्यातयोग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम र जीएसपी सुविधाको पुन प्रमाणीकरण तथा विस्तार गर्न अमेरिकालाई अनुरोध गरे।

मन्त्री साउदले युएसएआईडी र मिलेनियम च्यालेन्ज कम्प्याक्ट मार्फत हालै अमेरिकी सहयोग लगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिए । दुबै पक्षले एमसीसी अन्तर्गतका आयोजनाहरुको समयमै कार्यान्वयनको महत्वमा जोड दिए ।

लोकतान्त्रिक शासनको सुदृढीकरणमा नेपालको प्रगतिको प्रशंसा गर्दै विदेशमन्त्री ब्लिन्केनले अमेरिकी सरकार नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न चाहेको बताए । सचिव ब्लिन्केनले परराष्ट्रमन्त्रीलाई नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिए ।

दुवै पक्षले बहुपक्षीय मञ्चमा नेपाल–अमेरिका सहयोग, मध्यपूर्वको वर्तमान अवस्थालगायत क्षेत्रीय तथा विश्वव्यापी मामिलाहरूमा साझा चासोका अन्य विषयमा पनि विचार आदानप्रदान गरेका थिए । भेट हुनुअघि परराष्ट्रमन्त्रीले विदेश मन्त्रालयमा गेस्ट बुकमा हस्ताक्षर गरेका थिए ।

द्विपक्षीय भेटमा मन्त्री साउदका साथमा राजदूत श्रीधर खत्रीलगायत मन्त्रालय र दूतावासका उच्च अधिकारीहरु सहभागी थिए । विदेशमन्त्री ब्लिन्केनका साथमा नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसन र विदेश मन्त्रालयका वरिष्ठ अधिकारी पनि सहभागी थिए ।

साँझ राजदूत श्रीधर खत्रीले परराष्ट्रमन्त्रीको सम्मानमा निवासमा ह्वाइट हाउस, डिपार्टमेन्ट अफ स्टेट, युएसएआइडी, एमसीसीलगायतका अमेरिकी निकायका वरिष्ठ अधिकारी तथा कूटनीतिक सदस्य, कूटनीतिक कोर र नेपाली अमेरिकी समुदायका प्रतिनिधिहरूको उपस्थितिमा स्वागत समारोह आयोजना गर्नेछन् । परराष्ट्रमन्त्री द्विपक्षीय भ्रमणका लागि आज बिहान वासिङ्टन डिसी पुगेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com