मेरो अमेरिकन छोरा


प्रकाशित मिति : भाद्र ४, २०७४ आईतबार

– नगेन्द्र थापा

भाद्र ३, २०७४- अमेरिकामा मेरो छोराको

चिटिक्क परेको आफ्नै घर छ
छोराको काँधमा ब्याजको हलो अड्काएर
बैंकले किनिदिएको,

अमेरिकामा मेरो छोराको
लेटेस्ट चिल्लो गाडी छ
जिन्दगी छिचोल्ने
उधारोको तक्मा छातीमा भिराएर
त्यो पनि
बैंकले नै किनिदिएको,
आफ्नो सपना र उमेर
बैंकमा धितो राखेर
आफ्नो खेत–बारी
थारो गाईझैं बाँझो पार्दै
पराई माटोमा पसिना रोप्दै
पुर्पुरोभरि ऋण लेखेर
ङिच्च हाँस्छ
खुइय… गर्छ आफैंलाई देखेर,
मूल जरा, हो ! गाँठी जरा
आफ्नै घरको बलेसीमा
सुकेको मकैझैं तुन्द्रङ्ग झुन्डाएर
आफ्नै आँगनको
तुलसी मठनजिकै
बेवारिसे लमतन्न तेर्साएर
हाँगा मात्र बोकेर आएको
अमेरिकन मेरो छोरा,
गर्व गर्छ तैपनि बिचरा
अपरिचित बेनामी बटुवाजस्तै
आकृतिहीन, पहिचान हराएको
अमेरिकन मेरो छोरा ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com