डिसेम्बरदेखि हजारौं भिसा अप्वाइन्टमेन्ट खोल्दै अमेरिकी दूतावास, बुधबारदेखि ३ दिनभित्र बुक गर्नुपर्ने


प्रकाशित मिति : आश्विन १६, २०८० मंगलबार

अमेरिकी दूतावास काठमाडौंले डिसेम्बर २०२३ देखि मे २०२४ सम्मका लागि गैर आप्रवासी भिसाका हजारौं भिसा अप्वाइन्टमेन्टहरू खोल्ने भएको छ । भिसा अप्वाइन्टमेन्टहरु डिसेम्बर २०२३ देखि मे २०२४ सम्मका मितिहरुमा लिन सकिने भएतापनि बुकिङ भने अक्टोबर ४ बुधवार स्थानीय समय दिउसो २ बजेदेखि बिहीबार र शुक्रबारसम्म तीनदिनमात्र रहेको छ ।

अप्वाइन्टमेन्ट तय गर्नका लागि वेबसाइटबाट गई आफ्नो एकाउन्ट लग इन गर्नुपर्छ । त्यसपछि अप्वाइन्टमेन्ट बुक गर्न सकिनेछ । अप्वाइन्टमेन्ट बुक गर्नका लागि भिसा शुल्क पहिले नै तिरेको हुनुपर्ने भएकाले अक्टोबर ४ को बुधबार दिउसोभन्दा अगाडि नै भिसा शुल्क तिरेकाहरुले अप्वाइन्टमेन्ट खुल्ने बित्तिकै बुक गर्न सक्नेछन् । भिसा शुल्क नतिरेकाहरुले तिरेपछि तत्काल बुक गर्न सक्नेछन् ।

पहिले नै अप्वाइन्टमेन्ट लिइसकेकाहरुले पनि नयाँ मिति तय गर्न सक्नेछन् । भिजिटर भिसा लगायतका गैर आप्रवासी भिसाका लागिमात्र ती अप्वाइन्टमेन्टहरु उपलब्ध हुने भएकाले आप्रवासी भिसाका लागि भने तय गर्न सकिनेछैन । आप्रवासी भिसाका लागि भने आवेदकहरुले भिसा करेन्ट हुनका लागि लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।

गत अगस्तमा अमेरिकी दूतावास काठमाडौंले भिजिटर भिसा लगायत गैर आप्रवासी भिसाका थप ५ हजार अप्वाइन्टमेन्ट खोल्ने घोषणा गरेको थियो । अमेरिकी दूतावास काठमाडौंले बेला बेलामा गैर आप्रवासी भिसाका थप अप्वाइन्टमेन्टहरु खुलाउदै आएको छ । नियमित भिसा अप्वाइन्टमेन्ट पाउन २ बर्षसम्म लाग्ने गरेको अवस्थामा दूतावासले नयाँ अप्वाइन्टमेन्टहरु खुलाउदै आएको छ ।

अमेरिकी दूतावास काठमाडौंमा भिसाको अप्वाइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गरेको हो । सुरुमा अप्वाइन्ट लिन चाहनेहरु र पछिको अप्वाइन्टमेन्ट अगाडि सार्न चाहनेहरुलाई पनि यो अवशर प्रदान गरिएको छ ।

बेलाबेलामा सुपर सन्डे कार्यक्रम अन्तरगत बेलाबेलामा विदाका दिन आइतबार समेत अमेरिकी दूतावास काठमाडौंले भिसाका लागि अन्तरवार्ता लिदै आएको छ । यसैबीच दशैं र तिहारपछिका बिहिबार र शुक्रबार पनि भिसा अन्तरवार्ताका लागि दूतावास खुला रहने भएको छ । उक्त दिनका लागि भिसा अप्वाइन्टहरु उपलब्ध हुनेछन् । दशैं र तिहारको हप्ताहरूमा अक्टोबर २६ र २७ तथा नोभेम्बर १६ र १७ मा अप्वाइन्टमेन्टहरु उपलब्ध हुनेछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com