विदेशमा एक वर्षमा १२०८ नेपाली श्रमिकको मृत्यु, ३८९ जना अङ्गभङ्ग


प्रकाशित मिति : भाद्र ३, २०८० आईतबार

स्वदेशमै रोजगारीको अवसर नपाउँदा विदेशीनुपर्ने बाध्यता नेपालीको लागि नौलो होइन् । घर, परिवार तथा गाउँ, समाज छाडेर दैनिक हजारौंको संख्यामा नेपालीहरु परदेश जान बाध्य छन् । रोजगारीका लागि परदेश गएकाहरु सबैको जीवन सोचे जस्तो कहाँ हुन्छ र ? उज्यालो भविष्यको सपना बोकेर रोजगारीका लागि विदेश गएका कतिपयको सपना पूरा गर्न नपाउँदै इहलीला समाप्त हुने गरेको छ ।

विदेश गएका नेपालीहरु जीवितै स्वदेश फर्किन्छन् या बाकसमा फर्किन्छन् अन्दाज गर्ने अवस्था समेत छैन । वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्षमा मात्रै १२ सय आठ नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । श्रम स्वीकृति लिएर विदेश गएका ४५ जना महिला र ११ सय ६३ जना पुरुषको विदेशी भूमि मै इहलीला समाप्त भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख छ ।

के कारणले ज्यान गुमाइरहेका छन् नेपालीहरु ?
वैदेशीक रोजगारीमा गएका अधिकांशको सुतेको अवस्थामै निधन हुने गरेको अस्पतालको रिपोर्टले देखाउने गरेको बोर्डको भनाई छ । ‘सर्ने रोगको तुलनामा नसर्ने रोगको प्रकृति एकदमै धेरै देखिन्छ । त्यसैले धेरैजसो श्रमीकहरु सुतेको ठाउँकै दिवगंत भएको देखिन्छ ।’– बोर्डका निर्देशक राजन पौडेल भन्छन्– ‘अधिकांशहरुको मृत्युको कारण नै प्राकृतिक मृत्यु नै हो । यसलाई चिकित्सकहरुले हृदयघात लगायतको संज्ञा पनि दिने गर्छन् ।’

श्रमिकले आफ्नो कामको प्रकृतिअनुसार स्वास्थ्यमा ध्यान पु¥याउन नसक्दा मृत्युका घटनाहरू बढेका हुन् । खानपानको असन्तुलन र आवश्यक आराम नपुग्दा श्रमीकहरुमा मुटु, मिर्गौला र फोक्सोको समस्या देखिने गरेको छ । यस्तै, मानसिक समस्याले गर्दा आत्महत्या र सडक दुर्घटनाले पनि श्रमिकहरुको मृत्यु हुने गरेको छ ।

अङ्गभङ्ग तथा गम्भीर बिरामी हुनेहरुको अवस्था के छ ?
रोजगारीका लागि विदेशीएका नेपालीहरु अङ्गभङ्ग हुने तथा गम्भीर रोगबाट पनि ग्रसित हुने गरेका छन् । बोर्डका अनुसार गत वर्ष वैदेशिक रोजगारीको शिलसिलामा तीन सय ८९ जना श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका छन् ।

बोर्डबाट कसले कति सहयोग पाए ?
बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको रोजगारीको सिलसिलामा श्रम अवधी कायमै रहँदा ज्यान गुमाउने श्रमीकको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । तर, कतिपय ज्यान गुमाउने श्रमिकहरुको श्रम अवधी सकिएको अवस्थामा उनीहरुको परिवार बोर्डको आर्थिक सहायताबाट बञ्चित हुदै आएका छन् ।

गत आर्थिक वर्ष मात्र बोर्डले मृतक १२ सय आठ श्रमिकका परिवारलाई आर्थिक सहायता स्वरूप ६५ करोड ५१ लाख ८० हजार सहयोग गरेको छ । विदेशमा ज्यान गुमाएका श्रमिकका २९ सय ५६ जना छोराछोरीलाई छात्रवृत्ति सहायता समेत प्रदान गरिएको बोर्डले जनाएको छ । यस्तै, अङ्गभङ्ग वा बिरामी भएर स्वदेश फर्किएका श्रमिकलाई ९ करोड ९७ लाख आठ हजार रुपैयाँ आर्थिक सहायता दिएको छ ।

तस्वीर : दिपेन्द्र ढुंगाना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com